बाघका तस्बिर खिच्ने क्यामेरा जोखिममा

बाघका तस्बिर खिच्ने क्यामेरा जोखिममा

 

बर्दिया : नेपालमा बाघ अनुगमन भइरहेको छ। एक महिनाअघि सुरु भएको बाघ अनुगमनले सफलतासँगै धेरै चुनौती सामना गरेको छ। तराईकै ठूलो बर्दिया राष्ट्रिय निकुञ्जलगायत पर्सा, चितवन, बाँके राष्ट्रिय निकुञ्जमा रहेका विश्वकै लोपोन्मुख पाटेबाघको अनुगमनका लागि जडान गरिएका ‘ट्र्यापिङएवल क्यामेरा’ जोखिममा छन्।

निकुञ्जमा बाघको संख्या, घनत्व, आहाराजन्य प्रजातिलगायत बाघले ओगटेको क्षेत्र पत्ता लगाउन नेपालका निकुञ्ज तथा आसपास क्षेत्रमा बाघ अनुगमन भइरहेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटै ब्लकमा अनुगमन हुने भएकाले माघ महिनापछि अनुगमन सुरु हुने बताइएको छ। ‘बाघ अनुगमनका लागि जडान गरिएका क्यामेरा जोखिममा छन्’, बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले भने, ‘जंगलमा जडान गरेका क्यामेरा वन्यजन्तुबाट असुरक्षित छन्। एकातिर वन्यजन्तुले क्यामेरा नष्ट गर्न सक्ने र अर्कोतर्फ चोरी हुन सक्ने सम्भावना पनि त्यत्तिकै छ।’

बाघ अनुगमनका लागि जडान गरिएकामध्ये बर्दियामा अहिलेसम्म ७ वटा क्यामेरा ड्यामेज भइसकेको छ। जसमा एउटा बाघले, एउटा हात्तीले नोक्सानी गरेको छ भने बाँकी अन्य कारणले बिग्रिएका छन्। राष्ट्रिय निकुञ्जका कर्मचारी, प्राविधिक, निकुञ्ज सुरक्षार्थ नेपाली सेनालगायत चोरी-सिकार नियन्त्रण युवा परिचालन अभियानका दस्ताले दैनिक बाघ र क्यामेरा अनुगमन गरिरहेका छन्। १० समूहमा १ सय १२ जना जनशक्ति ५ वटा हात्तीका साथ दैनिक अनुगमनमा निस्कने गरेका छन्। ‘बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई ३ वटा ब्लक गरी ४ सय ८६ वटा ग्रिड कायम गरिएको छ। जडान गरिएका क्यामेरा जनावर र मानिसबाट फोडिने तथा चोरी हुने भएकाले त्यसतर्फ सतर्कता अपनाएका छौं’, भण्डारीले भने।

बाघ अनुगमन गर्न ६ सय वटा स्वचालित क्यामेरा छन्। जसमध्ये २ सय ४० देखि २ सय ६० जोडी क्यामेरा प्रयोगमा छन्। बाँकी क्यामेरा फुटे वा बिग्रिए प्रयोगका लागि जगेडामा छन्। सन् २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य सरकारको छ। नेपालको बागमतीदेखि पश्चिम कञ्चनपुरसम्मको तराई भूपरिधिमा एकैसाथ बाघ अनुगमन गर्न सुरु गरिएको हो। नेपालका निकुञ्जसँग जोडिएका भारतका निकुञ्ज तथा बाघ ओहोर दोहोर गर्ने क्षेत्रमा पनि एकसाथ बाघको अनुगमन थालिएको हो।

सन २०१३ को बाघ सर्वेक्षणअनुसार चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा गरी नेपालमा १ सय ९८ वटा पाटेबाघ रहेको तथ्यांक छ। सन २०१६ मा गरिएको बाघ अनुगमनमा बर्दियामा ५६ वटा वयस्क र २९ वटा बच्चा गरी ८५ वटा पाटेबाघ भेटिएका थिए। सन २०१७ को बाघ अनुगमनबाट बर्दियामा ६२ वटा वयस्क पाटेबाघ भेटिएका छन्। यस पटकको अनुगमनबाट बाघ बढ्ने अनुमान गरिएको अधिकृत भण्डारीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.