अध्यक्ष ओली बिहीबार फर्कने
काठमाडौं : नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएका छन्।
गत पुस २६ मा त्यसतर्फ गएका ओली मंगलबार (आज) आउने कार्यक्रम रहेकामा दुई दिन थप भई माघ ४ गते फर्कने ओलीका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए।
पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ।
ओली स्वास्थ्य परीक्षणका लागि गत बुधबार थाइल्यान्ड गएका थिए। ओली पत्नी राधिका शाक्य, ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, डा. विद्या सिंह र डा. यादव भट्ट ओलीसँगै थाइल्यान्डमा छन्।
गत भदौ दोस्रो साता नियमित उपचार गरी फर्केका ओली पछिल्लोसमय चुनावी व्यस्तताका कारण नियमित उपचारमा जान पाएका थिएनन्। ओलीको २०६४ साल असारमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।