सामान्य बन्दै भाइरल प्रकोप, स्वास्थ्यकर्मी फर्किन थाले

सामान्य बन्दै भाइरल प्रकोप, स्वास्थ्यकर्मी फर्किन थाले

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाँउपालिकामा पुस पहिलो साता प्रकोपका रूपमा फैलिएको रुघाखोकी र भाइरल ज्वरो सामान्य हुँदै गएको छ । उपचारका लागि सञ्चालित स्वास्थ्य शिविरमा बिरामी आउने क्रम रोकिएपछि भाइरल सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

भाइरल नियन्त्रण उन्मुख भएपछि विभिन्न ठाँउबाट प्रभावित क्षेत्रमा उपचार गर्न आएका स्वास्थ्यकर्मी आ-आफ्नै कार्यक्षेत्र फर्कन थालेका छन् । शिविरमा बिरामी आउन छाडेपछि ४ टोली बनाएर घरदैलोमा उपचार गर्न जाँदा जम्मा ६४ जना अन्य विभिन्न रोगका बिरामी फेला परेको र तीमध्ये १० जनामा ज्वरो तथा रुघाखोकीका बिरामी रहेको उपचारमा संलग्न डा. भूपेन्द्रप्रकाश मल्लले बताए । उनले भने, ‘शिविरमा बिरामी आउन छाडेपछि जिल्ला स्वास्थ्यको आग्रहमा प्रभावित भैरवटोल, पराले, मौगान, आली, डाँडाकोटलगायत गाँउमा बिरामी खोज्दै डोर टु डोर गयौं तर फेला पारेनौं । भाइरलका १० जना बिरामी भेटिए तर ती सामान्य खालका थिए ।’

केही दिनअघि नै बिरामीको चाप घट्न थालेको थियो । रोग प्रभावित क्षेत्रमा निरन्तर खटिएका गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.पवन शाक्य शनिबार नै फर्किसकेका छन् । नेपाल रेडक्रसका ३ जना स्वास्थ्यकर्मी सोमबार जिल्ला सदरमुकाम फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रभावित क्षेत्रमा खटिएका बालरोग विशेषज्ञ डा.नम्रता सिन्दान र मेडिकल अधिकृत डा.सुवेस चौधरी, जाजरकोट अस्पतालका मेडिकल अधिकृत डा.भूपेन्द्रप्रकाश मल्ल तथा स्वास्थ्य सेवा विभागका मेडिकल अधिकृत डा.अमित अज्र्याल मंगलबार फर्किने तयारीमा रहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामबहादुर नेपालीले बताए ।


केही स्थानीय र अन्य स्वास्थ्यकर्मी केही दिन थप फलो अपका लागि फिल्डमै बस्न निर्देशन दिएको छु । अवस्था सामान्य भइसकेको छ ।’ रामबहादुर नेपाली, प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट

सोमबारै फर्किने तयारी गरेको चिकित्सक टोलीले स्थानीय जनप्रतिनिधिको आग्रहमा प्रभावित क्षेत्रको स्यानाखोलामा अन्य रोगका बिरामीको पनि उपचार गर्ने गरी शिविर सञ्चालन गरेको छ । त्यहाँ विभिन्न रोगग्रस्त २ सयभन्दा धेरै बिरामीको उपचार गरिएको नेपालीले बताए । ५ चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रमा खटिएर काम गरेका थिए । हालसम्म भाइरल ज्वरो तथा रुघाखोकीका मात्र १ हजार ८ सय ४५ जना बिरामीको उपचार गरिएको छ । पहिले गएको टोली फर्कन थालेपछि सोमबार थप फलो अपका लागि २ जना स्वास्थ्यकर्मी पठाइएको र विभागबाट आएका डा.अमित अज्र्याललाई केही दिन प्रभावित क्षेत्रमै बस्न आग्रह गरिएको कार्यालय प्रमुख नेपालीले बताए ।

‘केही स्थानीय र अन्य स्वास्थ्यकर्मी केही दिन थप फलो अपका लागि फिल्डमै बस्न निर्देशन दिएको छु । अवस्था सामान्य भइसकेको छ’, नेपालीले भने । पुस १२ गते देखि जुनीचाँदेका १, २, ३, ४ र ११ नम्बर वडामा फैलिएको भाइरलबाट १३ जनाको मृत्यु भएको थियो । तर जिल्ला स्वास्थ्यले प्रकोप फैलिएको ८ दिनपछि जानकारी पाएको थियो भने २२ गतेदेखि उपचारको व्यवस्था मिलाइएको थियो । जुनीचाँदेमा फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप एएचथ्रीएनटू अर्थात सिजनल फ्लु भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंले पुस ३० मा पुष्टि गरेको थियो ।

भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको नेतृत्वमा जिल्लाका सांसदसहितको टोलीले गत शनिबार स्थलगत निरीक्षण गरेको थियो । भाइरल नियन्त्रण र उपचारका साथै सचेतनामूलक कार्यक्रम थालिएको थियो । अत्यधिक चिसो, दुषित पानीको प्रयोग, खानपिनमा ध्यान नदिने र रोग लाग्नासाथ उपचारको साटो झारफुक गराउन थालेपछि उपचारका साथै चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । रेडक्रसले प्रभावित क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका सय घरपरिवारलाई कम्बल वितरण गरेको छ ।

चिकित्सकले जुनीचाँदे गाउँपालिकाका वड्कुले, मौगान, डाँडाकोट, आली, वेसीपाटा, रावलगाँउ, कोर्ताङ, पराले, मजकोट, भैरवटोल, स्यालालगायत गाउँमा भाइरलको प्रकोपबाट जोगिन न्यानो कपडा लगाउन र झोलिलो खानेकुरा खान, पानी उमालेर पिउन, खोक्दा र हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, मास्क वितरण गर्ने, खाना खानुअघि साबुन पानीले हात धुन र सरसफाइमा ध्यान दिन सल्लाह दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.