जिम जाँदै हुनुहुन्छ, यी कुरामा ध्यान दिनुहोस्
काठमाडौं : स्वस्थ र तन्दुरुस्त शरीरका लागि आजभोलि धेरै मानिस जिम जाने गर्छन्। जिम जाँदा यी कुरामा ध्यान दिनुपर्छ:
–बाहिरबाट हेर्दा राम्रो देखिने जिमखानाबाट आकर्षित नभई त्यहाँ प्रयोग हुने जिम मेसिन, सिकाउने प्रशिक्षक राम्रो भए/नभएको ठहर गर्नुपर्छ। जिम भएको ठाउँलाई पनि प्राथमिकतामा राख्नुपर्छ। भीडभाड र प्रदूषण हुने ठाउँमा भएको जिम रोज्नु हुँदैन।
–अभ्यास गर्दा मोबाइललाई आफूबाट टाढै राख्नुपर्छ। मोबाइल स्विच अफ नगरे पनि साइलेन्ट मोडमा राख्नुपर्छ। व्यायाम गर्दा सकभर कुनै पनि ग्याजेट प्रयोग गर्नु हुँदैन।
–व्यायाम गरेपछि अत्यधिक पसिना आउँछ। पसिना पुछ्न सफा रुमाल प्रयोग गर्नुपर्छ। व्यायामपछि शरीरको तापमान सामान्य हुन दिनुपर्छ। त्यसपछि मात्र नुहाउनुपर्छ।
–ट्रेडमिल अथवा अन्य मेसिन प्रयोग गर्दा त्यसमै कब्जा जमाउनु हुन्न। अरूलाई पनि मौका दिनुपर्छ।
–व्यायाम गर्दा सहज हुने लुगा लगाउनुपर्छ। लुगा धेरै फिटिङ अथवा धेरै खुकुलो नहोस्। स्पोट्र्स जुत्ताका साथै टिसर्ट र लोअर व्यायाम गर्दा लगाउनुपर्छ। जिम जाँदा आफूसँगै एक बोतल पानी पनि लग्नुहोस्।
–चोटपटकबाट बच्न अभ्यास गर्नुअघि वार्मअप गर्नुपर्छ। यसका लागि पहिला ट्रेडमिलमा जगिङ, एरोबिक्स र स्ट्रेचिङ गर्नुपर्छ।
–पुरानो चोट या घाउ भए, ढाड दुख्ने वा कुनै रोग भएमा जिम सञ्चालक र प्रशिक्षकलाई यसबारे जानकारी गराउनुपर्छ। उनीहरूले त्यही हिसाबले तपाईंका लागि व्यायाम तय गर्छन्।