आयल निगमले फेरि पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढायो
काठमाडौं : नेपाल आयल निगमले बुधबार मध्य रातिदेखि लागु हुने गरी फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य वृद्धि भएपछि निगमले तीन प्रकारको इन्धनको मुल्य समायोजन गरेको हो।
निगमले बुधबार समायोजन गरेको मुल्य अनुसार पेट्रोलमा प्रति लिटर एक, डिजेल र मट्टितेलमा दुई रुपैयाँ गरेको छ। जसअनुसार अब पेट्रोलको प्रति लिटर एक सय तीन, डिजेल र मट्टितेलको ८१ रुपैयाँ पुगेको हो । यसअघि पेट्रोलको प्रति लिटर एक सय दुई, डिजेल र मट्टितेलको ७९ रुपैयाँ मूल्य कायम गरिएको थियो। मूल्य समायोजन पश्चात पनि निगमले अहिले १५ दिनमा १९ करोड मूल्यबराबरको घाटा व्यहोर्न बाध्य छ।
अन्तर्राष्ट्रिय मूल्यको आधारमा इण्डियन आयल कर्पोरेशन(आईओसी) ले १६ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार तीन प्रकारको इन्धनको मूल्य समायोजन भएको आयल निगमले जनाएको छ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य समायोजन गरिएको छैन। आईओसीले भारतको नयाँ दिल्लीलगायतका सहरमा पेट्रोलको मूल्य प्रति लिटर ७१ रुपैयाँ ३९ पैसा र डिजेलको मूल्य ६२ रुपैयाँ ६ पैसा भारतीय रुपैयाँ कायम गरेको छ। भारतभन्दा नेपालमा इन्धनको मूल्य सस्तो छ।