विद्यालयमै वडा कार्यालय !, भवन निर्माण अलपत्र

विद्यालयमै वडा कार्यालय !,  भवन निर्माण अलपत्र

प्युठान : साविकको माझकोट गाविस (हाल प्युठान नगरपालिका ६)को कार्यालय भाडामा सञ्चालन भएको २३ वर्ष पुगेको छ। सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षले कार्यालय भत्काइदिए। यसबीचमा थुप्रै सरकार परिवर्तन भए। तर, यहाँको कार्यालय भवन पुनर्निर्माण अझै हुन सकेको छैन। सशस्त्र द्वन्द्वकै क्रममा भत्काइएका जिल्लाका अन्य कार्यालयको पुनर्निर्माण गरिए पनि उक्त भवन निर्माण हुन नसक्दा स्थानीय चिन्तित बनेका छन्।

तीन वर्षसम्म स्वास्थ्यचौकी भवनबाट कार्यालय सञ्चालन गरिएको वडाध्यक्ष कमानसिंह पुनमगरले जानकारी दिए। ‘अहिले धर्मावती माविको दुईवटा कोठा भाडामा लिई कार्यालय सञ्चालन गरेका छौँ', उनले भने, ‘मासिक एक हजार पाँच सय कोठाभाडा बुझाउँछौँ। काम गर्न धेरै गाह्रो भएको छ।'

भवन अभावमा कार्यालयको दैनिक कार्यसम्पादनमा कठिनाइ भएको वडा कार्यालयका कर्मचारी भक्तबहादुर पुनले गुनासो गरे। ‘कार्यालयमा छुट्टै शाखा सञ्चालन गर्नुपर्छ', उनले भने, ‘सबै शाखा एकै ठाउँमा राखेर काम गरिरहेका छौँ।' उनका अनुसार राजस्व, प्रशासन, दर्ता, चलानी र कार्यालय प्रमुख बस्ने कोठा छुट्टै हुनुपर्छ। ‘सेवाग्राहीको गुनासो सुनेर काम गरिरहेका हुन्छौँ', पुनले भने, ‘निर्माणाधीन भवन पनि अलपत्र प¥यो।' स्थानीय सरकार आएपछि काममा थप भार परेको उनले जानकारी गराए। ०५३ सालदेखि विद्यालयको कक्षाकोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएको उनको भनाइ छ।

दुई वर्षअघि शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत साविकको माझकोट गाविस भवन पुनर्निर्माण गर्नेगरी काम सुरु भए पनि यसले पूर्णता पाउन सकेको छैन। सम्बन्धित निकायको ढिलासुस्ती र ठेकेदारको लापरबाहीले गर्दा निर्माणाधीन भवन अलपत्र परेको स्थानीयले आरोप लगाएका छन्। ‘ठेक्का प्रक्रिया भएर भवन निर्माणको काम अघि बढ्यो', माझकोट लम्छ्याङनेटाका स्थानीय एवं वडासदस्य ईश्वरबहादुर पुनले भने, ‘दुई वर्षदेखि भवन अलपत्र अवस्थामा छ।' भवनको निर्माणाधीन स्थलमा निर्माण सामग्री यत्रतत्र फालिएको छ। इँटा, बालुवा, गिट्टी, ढुंगा, छड अस्तव्यस्त तरिकाले फालिएको छ। हलसहित चारवटा कोठा निर्माण गर्ने योजनाअनुसार हाल १४ वटा पिलर उठाइसकिएको छ। निर्माणमा संलग्न मजदुरहरूले समेत ज्याला नपाएको गुनासो गरेका छन्।

दुई वर्षअघि निर्माणको काम सम्पन्न गर्नेगरी सम्झौता भएको आइडी निर्माण सेवाका प्रोप्राइटर विनोद ओलीले जानकारी गराए। ‘प्राविधिक कार्यालयले थप बजेट आउँदैन भनेपछि निर्माण रोकेका हौँ', उनले भने। कुल २९ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको उनको भनाइ छ। ‘१२ लाख रुपैयाँ भुक्तानी लिइसकेका छौं', ओलीले भने, ‘थप बजेट आए काम अघि बढाउन सकिन्छ।'

जिल्लाका अन्य साविकका गाविस भवनको निर्माण कार्य निर्धारित समयमै पूरा भएको जिल्ला प्राविधिक कार्यालय प्युठानका जिल्ला इन्जिनियर चन्द्र शाहले जानकारी गराए। ‘अघिल्लो आवमा साविकका सात वटा गाविस भवनको निर्माण सकियो', उनले भने, ‘मन्त्रालयले एकैपटक बजेट निकासा नदिँदा माझकोटको भवन पूर्ण हुन सकेन।' गत आर्थिक वर्षमा साविकका रम्दी, पकला, गोठीवाङ, मर्कावाङ, सारी, दाखाक्वाडी र बांगेशाल गाविस भवन निर्माण सम्पन्न भएको उनले जानकारी गराए। बजेट अभावमा केही भवनको भुक्तानी प्रक्रिया रोकिएको उनले बताए। यस शीर्षकमा हाल कार्यालयमा कुनै अख्तियारी नआएको समेत उनले बताए। अबदेखि ४० लाखसम्मका निर्माणका योजना स्थानीय तहबाटै सञ्चालन हुने उनको भनाइ छ।

निर्माणाधीन वडा कार्यालय भवनलाई पूर्णता दिन पहल थालिने प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए। ‘भवन निर्माण पूरा गर्न प्राविधिक कार्यालयलाई बारम्बार ध्यानाकर्षण गराएका छौँ', उनले भने, ‘तीन÷चारपटक छलफलसमेत गरिसक्यौँ। प्राविधिक कार्यालयले निर्माण व्यवसायीको लापरबाहीले काम रोकियो भनेको छ।' नगरपालिकाको तर्फबाट विशेष पहल गरेर अलपत्र भवनको निर्माण पूरा गर्ने उनले आश्वासन दिए।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.