सडकमा उत्रिए नर्स

सडकमा उत्रिए नर्स

काठमाडौं : जिन्दगीलाई धरौटीमा राखेर काम गर्ने हामी नर्स

रहरले होइन बाध्यताले सडक जाम गर्ने हामी नर्स

अहँ, कहिल्यै हट्ने छैनौं हामी लड्नेछौं भएर एकढिक्का

अस्पताल अनि नर्सलाई बनाउनु छ दुई पाटोको एक सिक्का।

आन्दोलनमा उत्रनुको कारणलाई काव्यात्मक रूप दिने महाराजगन्ज नर्सिङ क्याम्पसकी छात्रा सुशीला पोखरेल मात्र होइन, सेतो पोसाकमा बिरामीको हेरचाह गर्ने नर्स बिहानैदेखि राजधानीका सडकमा ओर्लिए। सधैंजसो बिरामीको सोधपुछ गर्ने नर्सहरूले बुधबार मुखमा कालोपट्टी बाँधे। पेसागत हिंसा र विभेद अन्त्य गर्न माग गर्दै आफूहरूको विदेश पलायन बाध्यता भएको बताए।

मशोषण अन्त्य गर, विदेश पलायन बाध्यता हो, बिरामी नर्स अनुपात लागू गर, भोेलेन्टियर प्रथा बन्द गर, श्रम ऐन लागू गरलगायत प्ले कार्ड बोकेर मध्याह्न १२ बजे माइतीघर मण्डलमा भेला भए। एक सातादेखि अस्पताल परिसरमा आन्दोलन गरिरहेका नर्सहरू बुधबार भने सडकमा उत्रेर विरोध र्‍याली र सभा गरे। तीन घण्टा काम बन्द गरेका नर्सहरूले आफ्ना माग सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए।

नेपाल नर्सिङ संघको अगुवाइमा सरकारी एवं निजी अस्पताल, नर्सिङ होममा कार्यरत नर्सहरू, नर्सिङ छात्राले माइतीघर मण्डलदेखि बानेश्वरसम्म विरोध गर्दै र्‍याली प्रदर्शन गरे।

बानेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाल नर्सिङ संघकी उपाध्यक्ष अप्सरा पाण्डेले पेसागत सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवा दिन नर्सहरू प्रतिबद्ध भएको उल्लेख गर्दै उनले आन्दोलनलाई सरकारले नजरअन्दाज गरे विस्फोटको रूप लिने चेतावनी दिइन्।

अस्पताल एवं नर्सिङ होममा नर्समाथि श्रमशोषण भइरहेको जानकारी दिँदै उनले भनिन्, ‘नर्समाथि विभेद र अन्याय भएको छ। सेक्सुअल ह्यारेसमेन्ट पनि हुने गरेको छ।'

महाराजगन्ज नर्सिङ क्याम्पसकी स्वतन्त्र विद्यार्थी युनियनकी सभापति विमला धमलाले माग पूरा गराउन सरकारलाई घुँडा टेकाउने चेतावनी दिइन्। उनले भनिन्, ‘स्वदेशमा समान पदमा सरकारी र निजी अस्पतालमा तलब तथा सेवा-सुविधामा विभेद छ। निजी अस्पतालमा श्रम शोषण हुँदा विदेश पलायन हुने अवस्था सिर्जना भएको छ।'

विरोध कार्यक्रमकी संयोजक दुर्गा सापकोटाले नर्सिङ पेसालाई मर्यादित र व्यवस्थित बनाउने बेला आएको बताइन्। उनले भनिन्, ‘भोलेन्टियरका नाममा श्रमशोषण भइरहेको छ।' मिर्गौला प्रत्यारोपण केन्द्रकी नर्स रुबिता श्रेष्ठले केन्द्रबाट निष्कासित नर्सलाई पुनर्बहाली गर्न माग गरिन्। नर्सहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै डा.मिलन गैरेले गुणस्तरीय सेवा दिन तल्लीन नर्सहरूको माग यथाशीघ्र सम्बोधन गर्न अपिल गरे। योङ डक्टर्स एलायन्सका डा.घनश्याम पाण्डेले श्रमशोषण गर्नेलाई कारबाहीको माग गरे।

पहिलो वार्ता निष्कर्षविहीन

काठमाडौं : मिर्गौला प्रत्यारोपण केन्द्रबाट निष्कासित नर्सलाई पुनर्बहालीलगायत अन्य पेसागत सुरक्षाका मागहरू राखेर आन्दोलनरत नर्सहरू र सरकारी वार्ताटोली बीचको पहिलो वार्ता निष्कर्षविहीन भएर टुंगिएको छ।

नर्सहरूको आन्दोलन आठौं दिन पनि जारी रहँदा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा सरकारी वार्ता समिति बनाइएको छ।

समितिका सदस्यमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ र नर्सिङ प्रशासक कल्पलता श्रेष्ठ छन्। आन्दोलनको अगुवाइ गरेको नेपाल नर्सिङ संघका पदाधिकारीसँग बुधबार प्रारम्भिक छलफल गरिएको उल्लेख गर्दै संयोजक डा. श्रेष्ठले बिहीबार सहमति हुने सम्भावना रहेको बताए। उनले भने, ‘पहिलेदेखि नै सकारात्मक छौं। धेरैजसो माग जायज छन्। बिरामीलाई दुःख दिनु हुँदैन।'

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासित नर्सलाई पुनर्बहाली गर्ने मुख्य मागप्रति सहमति हुन नसकेपछि बुधबारको प्रारम्भिक वार्ता बिनानिष्कर्ष टुंगिएको नर्सिङ संघकी एक पदाधिकारीले बताइन्। वार्तामा नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापा, सचिव लक्ष्मी केसीलगायत सहभागी थिए। अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना, नर्स बिरामीको अनुपात सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, सरकारी अस्पतालमा उपलब्ध तलब-भत्तासरह निजी अस्पतालमा कार्यरतलाई पनि तहगत किसिमले उपलब्ध गराउनुपर्ने, भोलेन्टियरका नाममा भइरहेको श्रमशोषण अन्त्य गर्ने, नर्सहरुलाई तलबी अध्ययन बिदा दिनुपर्ने, श्रम ऐन, २०७४ लागू गर्नुपर्नेलगायत मागप्रति सरकारी टोली सकारात्मक देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.