बुटवल राजधानी तोकेकोमा कांग्रेस खुसी
परासी : प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकेको निर्णयप्रति नेपाली कांग्रेस नवलपरासीले स्वागत गरेको छ। सरकारको उक्त निर्णयप्रति दाङ र कपिलवस्तुमा विरोध भइरहेका बेला कांग्रेस जिल्ला समितिले त्यसको स्वागत गर्दै दिपावली मनाउने निर्णय गरेको हो।
जिल्ला समितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यवहाक जिल्ला अध्यक्ष अर्जुनकुमार पोखरेलले छिमेकी जिल्ला रुपन्देहीस्थित बुटवल सहर प्रादेशीक अस्थायी राजधानी भएपछि त्यसले समग्र पश्चिम नवलपरासीको विकासमा टेवा मिल्ने बताए।
पछिल्लो पटक परासी क्षेत्र औद्योगिक करिडोरका रुपमा विकास हुँदै गएकोले अस्थायी राजधानीले यस क्षेत्रका जनतामा आर्थिक विकासको क्षेत्रमा टेवा पुग्ने आशा पलाएको भन्दै स्थायी राजधानीका लागि पहल गर्न कार्यवहाक अध्यक्ष पोखरेलले जनप्रतिनिधिहरुसँग आग्रह गरे। प्रादेशीक राजधानी तोकेको निर्णयप्रति खुसियाली मनाउन सबै गाउँ, नगर र क्षेत्रीय तहमा दिपावली गर्नसमेत कार्यकर्तालाई आव्हान गरिएको छ।