राष्ट्रियसभा निर्वाचन : साना दल आन्तरिक छलफलमा

राष्ट्रियसभा निर्वाचन : साना दल आन्तरिक छलफलमा

 

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा कसलाई सघाउने साना दलहरू आन्तरिक छलफलमा जुटेका छन्। माघ २४ गते हुने निर्वाचनमा ठूला दलले गठबन्धन बनाउने तयारी गरिरहँदा साना दलहरू पनि छलफलमा व्यस्त छन्। निर्वाचनमा मत उल्लेख्य नभए पनि दलीय अस्तित्वका लागि साना दलहरू गृहकार्यमा जुटेका छन्। उनीहरूले उम्मेदवारी नदिने बताए पनि कुन दललाई समर्थन गर्ने अझै निर्णय गरिसकेका छैनन्।

प्रदेश ३ मा समानुपातितर्फ ३ सिट पाएको विवेकशील साझाले अन्य पार्टीका उम्मेदवार हेरेर समर्थन गर्ने जनाएको छ। विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यले आफ्नो पार्टीले राष्ट्रियसभामा उम्मेदवारी नदिने जानकारी दिए। उनले भने, ‘हाम्रो पार्टीले उम्मेदवार उठाउँदैन तर अरु पार्टीका उम्मेदवारको व्यक्तित्व हेरेर मत दिन्छौं।' उनले अन्य साना दलसँग मिलेर जानेबारे छलफल गरिरहेको बताए। राष्ट्रियसभा सदस्यका उम्मेदवार दलका नेता नभएर प्रबुद्ध व्यक्ति हुनुपर्नेमा उसले जोड दिएको छ।

राप्रपा पनि आन्तरिक छलफलमा छ। राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार निर्वाचनबारे छलफल सुरु भए पनि कुनै निर्णय भइसकेको छैन। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनमा समावेश राप्रपा अहिले अलमलमा छ। पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले भने कांग्रेसलाई समर्थन गर्ने अनौपचारिक निर्णय गरिसकेको छ।

प्रदेश ५ र ६ मा स्थानीय तह र प्रदेशसभामा केही सिट जितेको जनमोर्चा भने राष्ट्रियसभामा उम्मेदवारी दिने तयारीमा छ। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनसँग चुनावी तालमेल गरेको जनमोर्चा राष्ट्रियसभा निर्वाचनमा पनि वाम गठबन्धनसँग नजिक देखिएको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीबाट उम्मेदवारी दिने उल्लेख गर्दै वाम गठबन्धनसँग मिलेर जाने निर्णय भइनसकेको जानकारी दिए। उनले भने, ‘हाम्रो पार्टीले उम्मेदवारी दिन्छ। अहिले गठबन्धनका साथीहरूसँग कुरा भए पनि निर्णयमा पुगिसकेका छैनौं।'

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। आयोगले माघ १० गते मनोनयन दर्ता र माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.