सिँगार्न थालियो प्रदेश प्रमुखको कार्यालय

सिँगार्न थालियो प्रदेश प्रमुखको कार्यालय

सुर्खेत : सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेसँगै सुर्खेतमा प्रदेश प्रमुखको कार्यालयमा सिँगार तथा सजावटको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुखको कार्यालय, निवास र बैठक कक्षका लागि छनोट भएको मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय र वन तालिम केन्द्रको भवनमा आवश्यक मर्मत तथा सजावटको काम सुरु भएको हो।

प्रदेश सरकारका संरचना राख्न भवन व्यवस्थापनको जिम्मा पाएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले शुक्रबारबाटै प्रदेश प्रमुखको कार्यालयमा सजावटको काम सुरु हुने जानकारी दिएको छ। सरकारले मर्मत र सजावटका लागि औपचारिक परिपत्र र बजेट उपलब्ध नगराए पनि प्रदेश प्रमुख नियुक्त भइसकेकाले शृंगार तथा रङरोगनको काम थालिएको क्षेत्रीय प्रशासनको भनाइ छ। प्रदेश प्रमुखको कार्यालय, निवास र प्रदेश सचिवको कार्यालयमा मर्मत, सुधार, रङरोगन र आवश्यक सामग्री व्यवस्थापनमा तीन करोड रकम लाग्ने अनुमान छ।

‘सरकारले बजेट निकासा गरेको छैन, अब बजेट कुरेर बस्नु पनि भएन', मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका अधिकृत केशवप्रसाद उपाध्यायले भने, ‘हामीले प्रदेश प्रमुखलाई राख्न आवश्यक तयारी सुरु गरिसक्यौं, कार्यालय, बैठक कक्ष र निवासमा मर्मत र शृंगारको काम सुरु भएको छ। अहिले आन्तरिक स्रोतबाट खर्च गर्नेछौं, पछि सरकारले बजेट निकासा गरेपछि यसको हिसाब मिलान हुनेछ।'

प्रदेश प्रमुख काठमाडौंबाट शपथ लिएर चाँडै आउने भएकाले पनि आफूहरू तयारी अवस्थामा रहेको उनले जानकारी दिए। प्रदेश प्रमुखको कार्यालयमा फर्निचर मर्मत र रङरोगन, अतिथि सत्कार र भेटघाटका लागि आवश्यक संरचना निर्माण र सुरक्षाका लागि ब्यारेक व्यवस्थापनको काम गर्नुपर्नेछ। यो काम केही दिनभित्रमा सम्पन्न गर्ने गरी काम थालिएको क्षेत्रीय प्रशासन कार्यालयले बताएको छ।


प्रदेश प्रमुखले प्रदेशसभाका सदस्यलाई शपथ दिलाउने दिन पनि नजिकिएकाले पहिलो चरणमा प्रदेश प्रमुखको कार्यालय शृंगारमा प्रशासन कार्यालय जुटेको हो। प्रदेश संसद् र सरकारका लागि आवश्यक भवनको मर्मत तथा रङरोगन, सामग्री खरिद तथा मन्त्रालय र संसद्सम्म पुग्ने सडकको स्तरोन्नतिका लागि ३३ करोड बजेट माग गरिएको छ।

पहिलो चरणमा प्रदेश प्रमुखको कार्यालय सिँगारिने र बजेट आएपछि अन्य भवन सिँगार्ने काम हुने उपाध्यायले बताए। प्रदेश प्रमुखको नियुक्तिसँगै सुरुवातमा प्रदेश प्रमुखको कार्यालय, बैठक कक्ष र आवास मर्मत तथा सजावटको काम सुरु भएको हो। प्रदेश ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश संसद र मन्त्रालयका लागि यसअघि नै भवन छनोट भइसकेका छन्।

प्रदेश संसदका लागि क्षेत्रीय शैक्षिक तालिम केन्द्र, मुख्यमन्त्रीका लागि क्षेत्रीय प्रशासन कार्यालय, गृह मन्त्रालयका लागि जिल्ला कृषि विकास कार्यालय, अर्थ मन्त्रालयका लागि क्षेत्रीय शिक्षा निर्देशनालय, भौतिक पूर्वाधार मन्त्रालयका लागि क्षेत्रीय सडक र सिँचाइ तथा कृषि मन्त्रालयका लागि क्षेत्रीय कृषि निर्देशनालयका भवन छनोट गरिएको हो।

प्रदेशसभाको भवनमा रङरोगन, सभामुख कक्ष, साउन्ड सिस्टम जडान, ब्यारेक स्थापना, फर्निचर व्यवस्थापन र पर्खाल निर्माणका लागि आठ करोड बजेट माग गरिएको छ। यसका लागि पनि तत्काल बजेट निकासा गर्न सरकारसँग क्षेत्रीय प्रशासनले आग्रह गरेको छ। मन्त्रिपरिषद् र मुख्यमन्त्रीको कार्यालय सजावटका लागि तीन करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। मुख्यमन्त्रीको आवास सजावट गर्न डेढ करोड खर्च लाग्ने प्रशासनको भनाइ छ।

संसद र मन्त्रालयसम्म पुग्ने सडक मर्मत र सुधारका लागि पनि बजेट माग गरिएको छ। बजेट प्राप्त हुनेबित्तिकै तीव्र गतिमा काम अगाडि बढाइने प्रशासनले उल्लेख गरेको छ।

यसैबीच प्रदेश ६ का नवनियुक्त प्रमुख दुर्गाकेशर खनालले केही दिनभित्रमा प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताएका छन्। प्रदेश ६ को समृद्धिका लागि आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ। यो प्रदेशमा तराइका बाँके र बर्दियालाई पनि समावेश गर्न पहल गर्ने उनले बताए। यसले यो प्रदेशलाई दक्षिणको नाकासम्म जोड्न सहज हुनेछ। अस्थायी राजधानी तोकिएसँगै सुर्खेतवासीले खुसियाली मनाएका छन्।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.