ओली-दाहाल समझदारी : एकीकृत पार्टीको कार्यदिशामा सहमति

 ओली-दाहाल समझदारी : एकीकृत पार्टीको कार्यदिशामा सहमति

 

काठमाडौं : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली-दाहाल सहमत भएका हुन्। तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ।

सोही समझदारीका आधारमा आइतबार दिउँसो बस्ने एकता संयोजन समितिको बैठकले वैचारिक-राजनीतिक पक्षको ‘डकुमेन्टेसन' का लागि कार्यदल बनाउनेछ। एमाले अध्यक्ष ओली उपचारका लागि बैंकक जानुअघि नै वैचारिक र संगठनात्मक मोडालिटी तयार पार्न कार्यदल गठन गर्ने तयारी थियो। तर, एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने र त्यसलाई दस्ताबेजीकरण गर्नका लागि मात्र कार्यदललाई जिम्मा दिने समझदारीका आधारमा शुक्रबार र शनिबार ओली-दाहाल छलफलमा जुटेका हुन्।

कार्यदिशामा सहमति जुटेको खुलासा माओवादी अध्यक्ष दाहालले शनिबार नै पार्टीनिकट जनसांस्कृतिक महासंघको कार्यक्रममा गरेका थिए। ‘हामीले माओवाद छाडेका छैनौं, उहाँहरू (एमाले) ले पनि जनताको बहुदलीय जनवाद छाड्नुभएको छैन, नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरू पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौं। अबको वैचारिक राजनीतिक संश्लेषण कसरी गर्ने ? भन्नेमा हामी छलफलमा छौं,' दाहालले भने, ‘जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र हामीबीच कुनै विवाद छैन। एकले-अर्काको पूर्ण सम्मान गरेर र परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अगाडि बढ्दै छौं।'

दाहालका अनुसार एकीकृत पार्टीको राजनीतिक कार्यदिशा अब यही मूल स्पिरिटका आधारमा संश्लेषण हुनेछ। दाहालले भने, ‘अहिले एमाले र माओवादी अलग पार्टी हुनुपर्ने कारण नै म देख्दिनँ। हामीले पनि ८-१० वर्ष शान्तिपूर्ण रूपमै समाजवादको तयारी गर्ने भनेका छौं, उहाँहरू (एमाले) ले पनि त्यही भन्नुभएको छ। समान राजनीतिक कार्यदिशा भएपछि अलग-अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन।'

- नेपालको राजनीतिक क्रान्तिमा माओवाद र बहुदलीय जनवाद दुवैको भूमिका स्विकार्ने।

- शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति गर्ने।

- सामाजिक न्याय, समानतासहित समाजवादको कार्यदिशा तय गर्ने।

माओवादी केन्द्रले अहिलेसम्म माओवाद र एक्काइसौं शताब्दीको जनवाद तथा एमालेले बहुदलीय जनवाद मान्दै आएको थियो। एकताका सन्दर्भमा अब यी विषय तगारो नबन्ने नेताहरूले बताएका छन्। इतिहासको मूल्यांकनका सन्दर्भमा ओली-दाहालबीचको भेटमा संसदीय संघर्षमा एमाले हुँदैनथ्यो भने माओवादीलाई र माओवादीको सशस्त्र संघर्ष नभएको भए एमालेलाई संसदीय मोर्चामा भूमिका निर्वाह गर्न गाह्रो हुने निष्कर्षका साथ दुवैको भूमिका एकअर्कामा परिपूरकका रूपमा रहेको स्विकारेर जाने समझदारीमा दुई अध्यक्ष पुगेका हुन्।

आइतबार बस्ने संयोजन समिति बैठकले अब त्यही वैचारिक पक्षलाई ध्यान दिँदै एकीकृत कार्यदिशाको दस्ताबेज तयार पार्न कार्यदल गठन गर्नेछ। त्यसको एजेन्डामा ओली-दाहालबीच समझदारी भइसकेको छ। शनिबार ओलीसँगको भेटपछि दाहालले पार्टी एकताको कार्यसूचीसहितको एजेन्डा र तयारीका विषयमा छलफल भएको सञ्चारकर्मीलाई बताए।

‘ओलीजीसँगको छलफलमा पार्टी एकताको एजेन्डाबारे छलफल भएको छ, अब एकताका लागि ठोस एजेन्डा नै तयार पारेर अगाडि बढ्छौं, आइतबारको एकता संयोजन समितिले नै यसबारे निर्णय लिन्छ,' उनले भने। पार्टी एकतापछि पार्टीको मूल नेतृत्व, सरकारको नेतृत्व, संगठनात्मक विधि र वैचारिक राजनीतिक कार्यदिशाको दस्ताबेजीकरणका विषयमा अब नेताहरूले काम गर्नु पर्नेछ।

पार्टी नेतृत्वको सवालमा दुई अध्यक्षले निर्णय लिने भए पनि अन्य नेताको व्यवस्थापन र अन्तरिम कालका लागि पार्टीको अन्तरिम विधान तयार पार्ने विषयमा पनि आइतबार संयोजन समितिले निर्णय लिने स्रोतले जनाएको छ।

शनिबारको ओली-दाहाल छलफलमा राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताका साझा दस्ताबेजका विषयमा कुराकानी भएको ओलीको निजी सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.