'नमूना प्रदेश बनाउँछौं'

'नमूना प्रदेश बनाउँछौं'

बुटवल : निर्वाचित भएको झन्डै डेढ महिनापछि प्रदेश ५ का सांसदहरूले शपथग्रहण गरेका छन्। अस्थायी मुकाम बुटवलमा एक सामारोहबीच सांसदलाई शपथ गराइएको हो। शपथग्रहणसँगै प्रदेश नम्बर ५ मा प्रादेशिक संसदीय प्रक्रिया सुरु भएको छ। प्रदेश नम्बर ५ का ८५ जना सांसदले आइतबार शपथग्रहण गरेका हुन्। समानुपातिक र प्रत्यक्षतर्फ गरी ८७ सांसद रहे पनि दुई जना सांसद अनुपस्थित भए।

बुटवल उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश प्रमुख उमाकान्त झाले ज्येष्ठ प्रदेशसभा सदस्य कांग्रेसका बलदेव शर्मा पोखरेललाई शपथग्रहण खुवाएका थिए। आफूले शपथ लिएपछि पोखरेलले बाँकी ८४ जना सांसदलाई एकै साथ शपथ गराएका हुन्। शपथ समारोहमा अर्घाखाँचीका एमालेकी समानुपातिक सांसद जल्पा भुसाल र रुपन्देहीकी राजपा समानुपातिक सांसद बीना पन्त अनुपस्थित बने।

सांसदहरूको पहिलो बैठक पनि पोखरेलकै अध्यक्षतामा बस्नेछ। शपथग्रहणपछि संसद् अधिवेशन बोलाउने बाटो खुलेको छ। प्रदेश प्रमुख उमाकान्त झाले तत्कालै प्रदेशको पहिलो बैठक आह्वान गरिने बताए। ‘दलसँगको छलफलपछि दुई÷चार दिनभित्रै बैठक आह्वान गर्छौं', उनले भने।

भद्रगोल शपथ

दुई दिनको तयारीमा गरिएको शपथ समारोह निकै भद्रगोल देखिएको थियो। प्रदेशका सांसदहरू दौरा, सुरुवाल, कोट र साडीमा सजिएका थिए। दुई जना महिला सांसद मात्रै जनजातिको भेषमा थिए। प्रदेश सांसदका अलावा शपथ समारोहमा रुपन्देहीका प्रतिनिधिसभाका पाँचै जना सांसद उपस्थित थिए। उच्च अदालतका न्यायाधीश, सुरक्षा निकायका प्रदेश प्रमुख, स्थानीय तहका प्रमुख तथा संघसंस्थाका अध्यक्षहरूलाई आमन्त्रण गरिएको थियो।

वाम गठबन्धनका सांसदहरूले देश र जनताको नाममा र प्रजातान्त्रिक दलका सांसदहरूले ईश्वरका नाममा शपथ लिएका थिए। प्रदेश नम्बर ५ मा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राजपाका १, जनमोर्चाका १ जना सांसद छन्। शपथ समारोहमा सांसदहरू फोटो खिच्नमा बढी व्यस्त बने। उत्साहित मुद्रामा देखिने सांसदहरूले प्रदेश नम्बर ५ को विकासका लागि आफूहरूको पहिलो एजेन्डा हुने बताए।

शपथग्रहणपछि एमालेका सांसद शंकर पोखरेलले प्रदेश ५ लाई समृद्ध प्रदेशका रूपमा विकास गर्ने आफ्नो पहिलो एजेन्डा भएको बताए। ‘अब प्रदेशको बैठकबाटै कामको थालनी हुन्छ, यसले नै महत‍्वपूर्ण निर्णय लिनेछ,' उनले भने।

कांग्रेसकी समानुपातिक सांसद निर्मला क्षत्रीले महिला अधिकारको रक्षा गर्दै समृद्ध प्रदेश निर्माणका लागि ५ वर्षसम्म आफ्नो भूमिका निर्वाह गर्ने बताइन्।

एमाले सांसद थानकुमारी थापाले पर्यटन औद्योगीकरणको प्रचुर सम्भावना रहेको प्रदेश नम्बर ५ नेपालकै एक नम्बर प्रदेशका रूपमा चिनिने बताइन्। अर्की सांसद विमला पन्थीले जनताले दिएको मतलाई कदर गर्दै समुन्नत प्रदेश निर्माणको अभियानमा खटेर काम गर्ने बताइन्।

एमाले संसदीय दलमा पोखरेल

प्रदेश ५ को एमाले संसदीय दलको नेतामा शंकर पोखरेल चयन भएका छन्। शपथग्रहणलगत्तै एमाले प्रदेश ५ को कार्यालय सुक्खानगरमा बसेको संसदीय दलको बैठकले पोखरेललाई सर्वसम्मत नेता चुनेको हो।

पोखरेललाई नेता बनाउन नवलपरासीका सांसद बैजनाथ चौधरीको प्रस्ताव र रुपन्देहीका सांसद लीला गिरीले समर्थन गरेका थिए। सोही प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो। संसदीय दलको नेता भएसँगै पोखरेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

दाङबाट प्रदेशसभामा निर्वाचित भएका पोखरेलले प्रदेश ५ मा वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्री हुँदै सरकारको नेतृत्व गर्नेछन्। नेता चुनिएपछि उनले प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने बताए। ‘प्रदेशको आर्थिक विकासका लागि पर्यटन, औद्योगिक, कृषि क्षेत्रमा जोड दिन्छु', उनले भने, ‘नेपालभित्रकै नयाँ नेपालका रूपमा प्रदेश ५ बन्नेछ।'

शपथपछि माओवादी संसदीय दलको बैठकसमेत बसेको छ। बैठकले नेता भने चुनेको छैन। माओवादीका सांसद दधिराम न्यौपानेले वाम गठबन्धनकै सरकार बनाउने कुरामा एकमत रहेको बताए।

कांग्रेस संसदीय दलको बैठक बसे पनि नेता भने चुनेको छैन। कांग्रेसका सांसदहरूको बुटवलको एक होटलमा चियापान कार्यक्रम भएको थियो। राजपा र फोरमको पनि बैठक बसेको छ। प्रदेश ५ मा सरकार निर्माणका लागि वाम शक्ति एकातर्फ र प्रजातान्त्रिक एकातर्फ हुने संकेत देखिएको छ। शपथलगत्तै भएको कांग्रेसको चियापानमा राजपा र फोरमका सांसदसमेत सहभागी थिए।

झाले गरे पदभार

प्रदेश प्रमुख उमाकान्त झाले रुपन्देही व्यापार संघको भवनमा बनाइएको सचिवालयमा पदभार ग्रहण गरेका छन्। उनलाई प्रदेश सचिव सनत दुवाडीले पदभार गराएका थिए।

पदभार ग्रहण गर्दै झाले संघीय नेपालमा नयाँ अभ्यास सुरु भएको बताए। उनले भने, ‘यसलाई संविधानको अधिकारअनुसार पालना गराउनेछु, यो नेपालको नौलो अभ्यास हो। म संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर कार्यसम्पादन गर्नेछु।'

झा शनिबार साँझ सडकमार्ग हुँदै बुटवल आएका थिए। प्रमुखको सचिवालय बने पनि निवासको अझै टुंगो लागेको छैन। शपथ ग्रहण सकिएपछि मन्त्रालयहरूको भवन व्यवस्थापनका लागि काम सुरु हुने बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.