पूर्वराजा ज्ञानेन्द्रको नेपालगन्ज बसाईको अन्तरकथा

पूर्वराजा ज्ञानेन्द्रको नेपालगन्ज बसाईको अन्तरकथा

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले यो हिउँदमा करिब एक महिना औद्योगिक सहर नेपालगन्जमा विताए । आफ्नो लगानीमा सञ्चालित होटल सोल्टीको उद्घाटन गर्न परिवारसहित पूर्वराजा नेपालगन्ज पुगेका थिए । उनले अंग्रेजी नयाँ वर्षमा चारतारे होटल सोल्टीको उद्घाटन गरे । होटल उद्घाटनको बहानामा पुगेका उनी करिब एक महिनासम्म नेपालगन्जमा बस्नुलाई भने धेरै अर्थपूर्णरुपमा लिएका छन् ।

नेपालगन्जसँग चिसो सम्बन्ध

नेपालगन्ज र राजापरिवारको सम्बन्ध विगतमा कहिल्यै सकारात्मक छैन । मध्य तथा सुदुरपश्चिमको केन्द्र नेपालगन्जलाई बेवास्ता गरी तत्कालिन राजा वीरेन्द्रले क्षेत्रीय सदरमुकाम सुर्खेत राखेपछि नेपालगन्ज र राजापरिवारबीच चिसोपन बढेको हो । इतिहासका हरेक घटना क्रममा राजपरिवारबाट नेपालगन्जबासी ठगिँदै आएका छन् ।

पढ्नुस्: होटल उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र बाँकेमा

त्यति मात्र होइन ज्ञानेन्द्रले समेत आफु राजा हुँदा नेपालगन्जप्रति पूर्वाग्रही भावना राखेका थिए । नेपालगन्जमा रहेका अधिकांश मध्यपश्चिमाञ्चल विकास क्षेत्रका कार्यालय उनले कार्यकारी अधिकार लिएका बेला बलजफ्ती सुर्खेत सारे । त्यसबेला उनको यो कदमको चर्को विरोध भयो । नेपालगन्जबासी शाही शासनकालमा समेत राजाको कदमविरुद्ध सडकमा उत्रिएका थिए । त्यो बेला उनले नेपालगन्जबासीबाट कडा आलोचना खेप्नुपर्‍यो ।

नागरिक अभिनन्दन कोहलपुरमा

तत्कालिन राजा ज्ञानेन्द्रले शाही शासनका कालमा सहानुभूति बटुल्न देशभर नागरिक अभिनन्दन गर्न लगाए । त्यही क्रममा नेपालगन्जमा समेत नागरिक अभिनन्दन कार्यक्रम राखियो । नागरिकबाटै राजाको विरोध भइरहेकाबेला नागरिक अभिनन्दन कार्यक्रम नै १६ किलोमिटर टाढा कोहलपुरमा सारियो । उनले यो बेला 'सनकको भरमा' नेपालगन्जका क्षेत्रीय कार्यालय सुर्खेत सार्न दिएको निर्देशनको चौतर्फी विरोध भएको थियो ।

पढ्नुस्: पूर्वराजा र कमल थापाबीच के कुरा भयो ?

 

त्यहीकारण सुरक्षा सयन्त्रले नेपालगन्जमा नागरिक अभिनन्दन गर्दा सुरक्षामा समस्या हुने सुझाव दिएपछि कोहलपुरमा गरिएको थियो । नेपालगन्जका सबै क्षेत्रीय कार्यालय सुर्खेत सार्ने कदमको विरोध भइरहेका कारण नागरिक अभिनन्दन थाप्न ज्ञानेन्द्र हच्किएका थिए । त्यस समयमा ज्ञानेन्द्रले नेपालगन्जमा रहेको पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरको समेत हेलिकप्टरबाटै दर्शन गरेका थिए । आफु राजा हुँदा उनले नेपालगन्जमा पाइला समेत राखेनन् ।

अहिले किन नेपालगन्ज मोह ?

पूर्वराजा ज्ञानेन्द्रले यस पटक तीनसाता भन्दा बढी समय नेपालगन्जमा बिताए । के उनी आफ्नो व्यापार व्यवसाय बढाउन मात्रै नेपालगन्ज बसेका हुन् त ? या अन्य पनि कारण छन् ? राजनीतिमा असफल राजा ज्ञानेन्द्र व्यापार व्यवसायमा भने सफल मानिँदै आएका छन् । उनी नेपालका धनाढ्य व्यापारीमध्ये एकमा पर्छन् ।

आफू राजा हुँदा पाइलासमेत हाल्न तयार नभएका ज्ञानेन्द्र अहिले किन त्यति लामो समय नेपालगन्जमा बसे ? नेपालगन्जप्रति सधैँ नकारात्मक दृष्टिकोण राख्ने राजपरिवारको नेपालगन्ज मोह अहिले किन बढ्यो त ?

पूर्वराजाको नेपालगन्ज बसाई

पूर्वराजा ज्ञानेन्द्र पुसको दोस्रो साता आफ्नो लगानी रहेको होटल सोल्टीको उद्घाटन गर्न नेपालगन्ज गएका हुन् । अंग्रेजी नयाँ वर्षको दिन सोल्टी होटलको उनले उद्घाटन गरे । त्यसपछि नेपालगन्जका राजनीतिक दलका नेता, व्यवसायी र जनप्रतिनिधि लगायतसँग भेटघाट र परामर्श गरे ।

आफु राजा हुँदा हेलिकोप्टरबाट दर्शन गरेको बागेश्वरी मन्दिरको उनले पैदल नै गएर दर्शन गरे । बर्दिया, दाङ, सुर्खेत र कैलाली लगायतका जिल्लामा पनि पुगे । त्यहाँ समेत मठमन्दिरको दर्शन गर्नुका साथै स्थानीय नेता र व्यवसायीसँग भेटघाट तथा परामर्श गरे । यतिमात्र होइन, भारतकै ठूलो उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटघाट गर्न पुगे । उनी तीन दिनअघि मात्रै काठमाडौं फिर्ता भएका छन् ।

आदित्यनाथलाई किन भेटे ?

उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ अन्तराष्ट्रिय हिन्दु महासंघका उपाध्यक्ष हुन् । उनी नेपालमा राजासंस्थाको पुनर्वाहाली र हिन्दुराष्ट्रको वकालत गर्दै आएका भारतीय हिन्दुवादी नेता हुन् । आदित्यनाथसँगको भेटले पूर्वराजाको नेपालगन्ज बसाई नितान्त व्यवसायिक मात्र नभई राजनीति समेत रहेको पुष्टि गरेको छ ।

पढ्नुस्: ‘पूर्वराजा ज्ञानेन्द्र भन्छन् : 'भन्नुपर्ने केही छैन'

 

उनले नेपालमा पुनः हिन्दुराष्ट्र फर्काउन पहल गरिदिन आदित्यनाथसँग आग्रह गरेको कुरा समेत सार्वजनिक भइसकेको छ। राजसंस्था पुनर्वाहालीबारे समेत योगी आदित्यनाथसँग कुराकानी भएको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् । राजनीतिक शास्त्रका प्रा.डा. जर्नादन आचार्य भारतले राजकीय सम्मानका साथ पठाउनुलाई महत्वरुपमा हेरिएको बताउँछन् । ‘घुम्न भनेर गएका पूर्व राजालाई भारतले राजकीय सम्मानका साथ पठाएर जुन सहानुभुति र सदभाव देखायो, त्यसभित्र धेरै अर्थ लुकेको हुनु पर्छ’, उनले बताए ।

ज्ञानेन्द्रदेखि शेरबहादुरबाट अन्याय

पछिल्लो समय हरेक हिसाबले नेपालगन्ज ठगिँदै आएको छ । साविकका मध्य तथा सुदूरपश्चिमका २४ जिल्लाको केन्द्रबिन्दु नेपालगन्ज अहिले साँघुरिदै गएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले क्षेत्रीय कार्यालय सुर्खेत सारेदेखि नेपालगन्जको ओरालो यात्रा सुरु भयो। नेपालगन्जमा स्थापना हुने भनिएको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्थापना भयो । भारत सरकारको सहयोगमा स्थापना गर्न तयार पारिएको प्राविधिक शिक्षालय प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिमतिर लगे ।

अचानक किन मोह पलायो ?

प्रदेश नम्बर ५ को पल्लो छेउमा रहेको नेपालगन्जप्रति पूर्वराजा ज्ञानेन्द्रको मोह किन पलायो ? नेपालगन्जबासीसमेत चकित छन् । कसैले नितान्त व्यक्तिगत बसाई भनेका छन् भने धेरैले राजनीति उद्देश्य रहेको बताउँछन् ।

पढ्नुस्: पूर्व राजा र योगी आदित्यनाथबीच भेटवार्ता

 

गणतन्त्र आएपछि धेरै 'ठुटे राजा' देखिएका कारण एउटै राजा ठीक भन्नेको जनमत समेत देखिन थालेका बेला उनले राजनीतिमा सक्रिय हुन नेपालगन्जलाई केन्द्र बनाएका त होइनन् ? प्रा.डा. आचार्य परिवर्तित अवस्थामा पूर्वराजाको नेपालगन्ज बसाईमा मिश्रित प्रतिक्रिया रहेको बताउँछन् ।

प्रा.डा. आचार्यले राजाका समर्थकहरु राजनीतिमा सक्रिय हुने माहोल बनाउन पश्चिम क्षेत्रमा डुलेको भन्दै खुसी भएको बताए । उनले भने, ‘राजा आऊ, देख बचाऊ' भन्ने उनका समर्थक खुसी भए, यो बसाईलाई अन्यले नितान्त व्यक्तिगत र व्यापारिक पनि भनेका छन् ।'

डा. आचार्यका अनुसार पुर्वराजाले भेटघाटमा कसैसँग पनि राजनीतिक कुराकानी गरेनन् । मात्र सन्चो विसन्चो सोधेका थिए । राप्रपा बाँकेका पूर्व अध्यक्ष ऋषिराज देवकोटाले पूर्वराजाको बसाईले नेपालगन्जको महत्व बढाएको बताउँछन् ।

नेपालगन्जको इतिहास

नेपालगन्ज नयाँ मुलुक अर्थात् तत्कालिन श्री ३ जंगबहादुर राणाले भारतमा अंग्रेजलाई सघाए वापत फिर्ता पाएको नेपाली भूमि हो । बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नयाँ मुलुकको रुपमा चिनिने गरिएको छ।

भारतको लखनउ मोडलमा जंगबहादुरले बसाएको शहरका रुपमा समेत नेपालगन्जलाई लिने गरिएको छ । नेपालगन्जको एकलैनी र सदरलाइन बजार लखनउ मोडलमा बिस्तार गरिएको छ ।

राजावादी र हिन्दुवादीको पकड

पुराना राजघराना शाह, राणा र ठकुरीको बाक्लो बसोबास रहेको नेपालगन्ज राजावादी र हिन्दूवादीको शहरको रुपमा चिनिन्छ । २०५१ सालको मध्यवधि निर्वाचनमा यहाँका ३ वटै निर्वाचन क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टी जितेको थियो ।

२०७४ सालको भएको स्थानीय तहको निर्वाचनमा देशभर राप्रपाको लज्जापद पराजय हुँदा नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले सहानदार जित दर्ता गर्‍यो । राप्रपाको बलियो उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका महामन्त्री डा.धबल शम्शेर राणा विजयी भए। नेपालगन्जमा पहिलेबाटै राजावादी र हिन्दुवादीको पकड रहँदै आएको छ ।

राजावादी र हिन्दुवादीको पडक क्षेत्र रहँदा रहँदै पनि राजपरिवारको निगाहमा भने नेपालगन्ज कहिल्यै परेन । तत्कालिन राजा वीरेन्द्रले पनि नेपालगन्जलाई मन पराएनन्, त्यसपछि राजा बनेका ज्ञानेन्द्रले पनि त्यही व्यवहार देखाए । ज्ञानेन्द्रले नेपालगन्जबाट नेपाली सेनाको पश्चिम पृतना लगायतका सबै क्षेत्रीय कार्यालय सुर्खेत लगे । राप्रपाले स्थानीय निकायमा जितेका कारण राजनीति गतिविधि गर्न सजिलो हुन्छ भनेर पूर्वराजा नेपालगन्ज यति लामो बसेका भन्नेहरुको पनि कमी छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.