सत्य एउटा मात्रै हुन्छ, झुठ टिक्दैन : नवराज सिलवाल
काठमाडौं : पूर्व डीआईडी एवम् ललितपुर क्षेत्र नम्बर १ का एमाले सांसद् नवराज सिलवालले आफू सधै सत्यको पक्षमा रहेको बताएका छन्। सर्वोच्च अदालतकम कीर्ते कागज पेस गरेको मुद्दामा प्रहरीको फरार सूचीमा रहेका सिलवालले मंगलबार साँझ सत्य दुई नभएर एउटा मात्रै हुने भन्दै झुठ नटिक्ने बताएका छन् । उनले आफू सत्यको पक्षमा रहेको र आफूलाई फसाउन कुप्रचार भएको खुलासा गरे।
पछिल्ला दिनमा सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय सिलवालले आफूलाई अफवाहपूर्ण कुप्रचारसहित फसाउने प्रपन्च भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। उनले सत्यतथ्यमा आधारित छानबिनले मात्र सबै प्रश्नको सही उत्तर दिनेसमेत उल्लेख गरेका छन्।
‘जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य–तथ्यमा आधारित छानबिनले नै सबैप्रश्नको सहि उत्तर दिन्छ, त्यस्तै अपराधीले पनि निस्पक्ष छानविन हुँदा आफू फसिने बुझेको हुन्छ र त्यहीबाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचार सहितको कसैलाइ फसाउने प्रपन्च !’, सिलवालले ट्विट गर्दै थप लेखेका छन्, ‘सत्य दुईटा होइन एउटा मात्रै हुन्छ।झुठो टिक्दैन।’
सोमबारमात्र सिलवाललाई पक्राउ गर्न सरकार र प्रहरीले गरेको हर्कतबारे नेकपा एमालेले कडा प्रतिक्रिया दिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समिति बैठकले सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै भर्त्सना गरेको छ।
‘समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लाने विषय बनाएर बढाइचढाइ गरेको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै एमालेका प्रवक्ता तथा सचिव योगेश भट्टराईले भने,‘सरकार र प्रहरीको यो कदमको बैठकले भर्त्सना गरेको छ ।’
‘ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ’, एमाले सचिव प्रदीप ज्ञवालीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।’
जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य-तथ्यमा आधारित छानविनले नै सवै प्रश्नको सहि उत्तर दिन्छ, त्यस्तै अपराधीले पनि निस्पक्ष छानविन हुँदा आफु फसिने बुझेको हुन्छ र त्यहिवाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचार सहितको कसैलाइ फसाउने प्रपन्च ! सत्य दुइटा हैन एउटा मात्रै हुन्छ।झुठो टिक्दैन l
— Nawa Raj Silwal (@Nawasilwal) January 23, 2018
सिलवाल प्रकरणमा एमालेको कडा प्रतिक्रिया