माओवादीको तेजावले दृष्टि गुमाएका गोपाल राष्ट्रिय सभा उम्मेदवार

माओवादीको तेजावले दृष्टि गुमाएका गोपाल राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं : माओवादीले चलाएको सशस्त्र संघर्षका क्रममा जीवनभरका लागि चोट बोकेर बाँचेका धेरैमध्ये एक थिए गोपालप्रसाद शर्मा। तत्कालीन माओवादीले तेजाब खन्याइदिएपछि दुवै आँखाको दृष्टि गुमाएका रुकुमका गोपालप्रसाद शर्मा अहिले बाँकेको कोहलपुरमा बस्छन्।

लामो समयदेखि गुमनाम जीवन बिताइरहेका उनै गोपालप्रसाद मंगलबारदेखि एकाएक चर्चामा छन्। माओवादीले दिएको चोट बोकेर बाँचिरहेका दृष्टिविहीन उनलाई नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार बनाएसँगै राष्ट्रियस्तरमा उनको चर्चा भइरहेको छ। शर्मालाई प्रदेश नम्बर ६ बाट अपाङ्ग कोटामा कांग्रेसले उम्मेदवार बनाएको हो।

गोपालप्रसादलाई उम्मेदवार बनाएपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको सम्मान भएको प्रतिक्रिया दिए। ‘दुवै आँखामा तेजाब हालेर माओवादीले रुकुमका गोपाल शर्मालाई दृस्टीविहिन बनाएका थिए। कांग्रेसले आज उहाँलाई रास्ट्रिय सभाको उम्मेदवार बनाएको छ’, शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हार्दिक सम्मानपुर्वक उहाँलाई हार्दिक शुभकामना।’

यस्तो थियो घटना
२०५५ साल साउन ११ गते रुकुमको साविकको खोलागाउँ गाविस–४ हालको चौरजहारी नगरपालिका–११ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा तत्कालिन माओवादीका २०÷२२ कार्यकर्ता आएर शर्मालाई निर्घात कुटपिट गरेका थिए।

कुटपिटपछि उनका हातखुट्टा बाँधेर भुइँमा सुताएर उनका दुवै आँखामा तेजाब खन्याएर दृष्टिविहीन बनाइएको थियो। माओवादीले त्यो बेला शर्मालाई मर्‍यो भनेर हिँडेका थिए। उनी बाँच्न त बाँचे तर दुवै आँखाको दृष्टि सदाका लागि गुमाए।

‘राति सुतिरहेको अवस्थामा एक्कासी माओवादी आएर मलाई उठाएर घरकै अर्को कोठा थुने, कसैले लात्तीले हाने त कसैले लठ्ठीले’, शर्माले घटनाविवरण सुनाए, ‘त्यसपछि हात खुट्टा बाँधेर भुइँमा लडाएर दुवै आँखामा तेजाव खन्याइदिए, मर्‍यो भनेर छोडेका रहेछन, केही समय बेहोस भएँ, म त्यही कोठामा रातभर छटपटाएँ। विहान चौरजहारी अस्पताल लगियो, त्यसपछि काठमाडौंमा उपचार भयो र बाँचे।’

उपचारपछि रुकुम छाडे

माओवादीले दृष्टिविहीन बनाएपछि उनी विस्थापित भएर बाँकेको कोहलपुर झर्न बाध्य भए। शर्मा अहिले पनि कोलहपुरमा विस्थापित जीवन बिताइरहेका छन्। शर्माको कांग्रेस वर्तमान महामन्त्री डा। शशांक कोइरालाले उपचार गरेका थिए। तर डा। कोइरालाले शर्माको ज्योति फकाउन सकेनन्।

राजनीतिक जीवन

शर्मा २०४९ सालको स्थानीय निर्वाचनमा खोलागाउँ गाविसको अध्यक्ष भएका थिए। २०५४ सालमा समेत अध्यक्षमा शर्मा पराजित भएका थिए। घटना हुँदा शर्मा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए। ११ औँ महाधिवेशनदेखि शर्मा लगातार पार्टी महाधिवेशन प्रतिनिधि रहँदै आएका छन्।

पार्टीले देख्यो खुशी छु

अपाङ्ग कोटाबाट उम्मेदवार बनेका शर्माले पार्टी मूल्याङ्कन गरेकोमा आफू खुसी भएको बताए। ‘पार्टीमा लागिरह्यो भने एक दिन मूल्याङ्कन हुँदो रहेछ, म अहिले एकदम खुसी छु’, उनले अन्नपूर्ण अनलाइनसँग भने।

जिउँदो शहिदका रुपमा रहेका शर्मालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएकोमा रुकुम कांग्रेस पनि खुसी भएको जिल्ला सभापति प्रेम वलीले जानकारी दिए। ‘उहाँलाई ढिलै भए पनि पार्टीले सम्मान गरेको छ, त्यसमा हामी खुसी छौँ’, वलीले भने, ‘यो निर्णयले सिंगो पार्टी पार्टीका लागि अहोरात्र खटेका कार्यकर्ताको पनि सम्मान बढेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.