राष्ट्रियसभा निर्वाचन : दलले टुंग्याए उम्मेदवार

राष्ट्रियसभा निर्वाचन : दलले टुंग्याए उम्मेदवार

एमालेमा कार्यकर्तालाई नै टिकट

राष्ट्रियसभामा राष्ट्रिय जीवनका प्रबुद्ध व्यक्तित्व राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाउनुपर्ने आशय संविधानमा छ। तर, एमाले, माओवादी र कांग्रेसमा राष्ट्रियसभामा जाने मानिस प्रबुद्ध र राष्ट्रलाई योगदान दिएका राम्रा व्यक्तिभन्दा राजनीतिलाई आधार बनाएर छनोट गरेका छन्।

एमालेमा चर्चित गायिका कोमल वलीदेखि पूर्वमन्त्री तथा पूर्वसांसद परशुराम मेघी गुरुङसम्म परेका छन्। त्यस्तै, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएकालाई राष्ट्रियसभाको उम्मेदवार बनाइएको छ।

एमाले सचिव युवराज ज्ञवाली यसपटक समावेश भएनन्। प्रदेश कमिटीले नाम सिफारिस गरेका अग्नि खरेल पनि समेटिएका छैनन्।
राष्ट्रियसभाका लागि एमाले स्थायी समितिको बैठकबाट सातै प्रदेशबाट २९ जनाको नाम सिफारिस गरेको छ। सोमबार र मंगलबारको बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो। सिफारिस गरिएकोहरूमा स्थानीय नेता तथा कार्यकर्ताको बाहुल्यता छ। एमाले सचिव प्रदीप ज्ञवाली पनि राष्ट्रियसभामा जान कार्यकर्ता बढी नै आकांक्षी देखिएकाले विशिष्ट योगदान गर्ने व्यक्ति छुटेको बताउँछन्।

उम्मेदवार छनोटका लागि एमालेले पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई उम्मेदवार बनाउने भनेको थियो।

एमाले र माओवादीबीच राष्ट्रियसभा निर्वाचनमा ४३ सिटमा उम्मेदवारी दिने सहमति भएको थियो। वाम कार्यदलले भागबन्डा गरेअनुसार एमालेले २९ सिटमा उम्मेदवारी दिन लागेको हो।

एमालेबाट प्रदेश १ बाट नैनकला ओझा (महिला), मोरङ, खेम नेपाली ( दलित), मोरङ हरिचरण सिवाकोटी (खुला), झापा, परशुमेघी गुरुङ (खुला), संखुवासभा। अगम बान्तवा (अल्पसंख्यक), इलाम छन्।

प्रदेश २ बाट सुमन प्याकुरेल (खुला), सप्तरी, प्रदेश ३ बाट पार्वती रावल (महिला), चितवन उदया शर्मा (महिला), काठमाडौं, सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक, बलराम बाँस्कोटा (खुला), काठमाडौं, बेदुराम भुसाल (खुला), काठमाडांै, रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर र प्रदेश ४ बाट रामबहादुर थापा (अपांगता), स्याङ्जा, गणेश तिमिल्सिना (खुला), पर्वत, शान्ति अधिकारी (महिला), बाग्लुङ र दीपा गुरुङ (महिला), लमजुङलाई सिफारिस गरेको छ।

प्रदेश ५ बाट रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा (महिला), रोल्पा र कोमल वली (महिला), दाङ छन्। त्यस्तै, प्रदेश ६ बाट कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा (महिला), सुर्खेत, नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुम छन्। त्यस्तै, प्रदेश ७ बाट कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम, चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा छन्।

कांग्रेसले प्रदेश २ का उम्मेदवार अझै टुंग्याएन्

कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ बाहेक बाँकी सबै प्रदेशका उम्मेदवारको टुंगो लगाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार राति अबेर सकिएको कांग्रेस शीर्ष नेताहरूको बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

प्रदेश २ मा भने फोरम-राजपासँग चुनावी तालमेल गर्ने सहमति भए पनि क्लस्टरको टुंगो नलागेकाले उम्मेदवार चयन हुन नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। प्रदेश ७ को सोमबार नै उम्मेदवार चयन गरेको थियो।

प्रवक्ता शर्माले आकांक्षी धेरै भएकाले सहमति खोज्दा ढिलाइ भएको बताए। गुटगत आधारमा भागबन्डा खोजिएकाले उम्मेदवार चयन सकसपूर्ण भएको बैठकमा सहभागी एक नेताले बताए।

कांग्रेस नेता एनपी साउदले सर्वसम्मत उम्मेदवार चयन गर्न खोजिएकाले समय लागेको जनाए।प्रत्येक प्रदेशबाट आठ÷आठ जना उम्मेदवार तय गर्नुपर्नेमा कांग्रेसले चार÷चार जना मात्र उठाएको छ। खुला तीन, महिला तीन, दलित एक र अपांग वा अल्पसंख्यकबाट एक जना गरी आठ जना उम्मेदवार हुने व्यवस्था छ। कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजितलाई राष्ट्रियसभामा उम्मेदवार बनाएको छैन।

प्रदेश ४ बाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जितबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग) को नाम टुंगो लागेको छ। यस्तै, प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय (खुला) अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकि, (दलित) र लुटबहादुर खत्री (अपांग) उम्मेदवार बनेका छन्। प्रदेश ६ बाट उम्मेदवार बन्नेमा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित) र गोपालप्रसाद शर्मा (अपांग) छन् भने बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), शेरिराम पार्की (दलित) र छत्रराज जोशी (अपांग) प्रदेश ७ बाट राष्ट्रियसभाका लागि उम्मेदवार चयन भएका हुन्।


वरिष्ठ नेतादेखि पूर्वडिभिजन कमान्डरसम्म माओवादीका उम्मेदवार

माओवादी केन्द्रले पार्टी वरिष्ठ नेतादेखि पूर्वलडाकु कमान्डरसम्मलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको छ। एमालेसँग चुनावी तालमेलमा १४ सिटमा उम्मेदवारी दिन लागेको माओवादीले मंगलबार उम्मेदवार टुंगो लगाएको हो।

प्रदेश कमिटिीको सिफारिसका आधारमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता रामबहादुर थापा र नारायणकाजी श्रेष्ठले उम्मेदवार टुंगो लगाएका हुन्। माओवादीले राष्ट्रियसभामा वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’, नेता दिनानाथ शर्मा, पूर्वसांसद कालिबहादुर मल्ललाई पनि उम्मेदवार बनाएको छ। केहीलाई भने मापदण्ड मिचेर समेत टिकट दिइएको छ। माओवादीले समानुपातिकको बन्दसूचीमा नाम भएका र चुनाव हारेकालाई उम्मेदवार सिफारिस नगर्ने मापदण्ड बनाएको थियो।

प्रदेश २ को महिला सिटमा उम्मेदवार शशिकला दाहाल र प्रदेश ७ का हरिराम चौधरीलाई मापदण्ड मिचेरै उम्मेदवार बनाइएको छ। दुवै जना प्रदेशसभाका समानुपातिकको बन्दसूचीमा थिए। केहीमा भने सिफारिसमा परेका सहिद परिवार र घाइतेको साटो नेता पत्नीलाई उम्मेदवार बनाइएको छ। प्रदेश १ को महिला सदस्यकी उम्मेदवार विना पोखरेल प्रदेश प्रमुख सावित्रिकुमार काफ्लेकी पत्नी हुन्। उनी राजनीतिमा निष्क्रियजस्तै रहेकी छन्। त्यस सिटमा दुई छोरा बेपत्ता भएकी चन्द्रकुमारी बस्नेत र युद्धमा हात गुमाएकी नरमाया भट्टराईलाई पनि प्रदेशले सिफारिस गरेको थियो।

प्रदेश ३ को खुलातर्फ वरिष्ठ नेता थापा उम्मेदवार बनेका छन्। प्रदेश ३ को महिलातर्फ टिकट पाएकी गंगा पराजुली माओवादी ललितपुरका नेता हरि दाहाल (ललित) की पत्नी हुन्। प्रदेश ४ बाट पूर्वशिक्षामन्त्री दिनानाथ शर्माले खुलातर्फको टिकट पाएका छन्। सोही प्रदेशको दलित सिटमा टिकट पाएका प्रदेश सहइन्चार्ज खीमबहादुर विक युद्धकालदेखिका पुराना नेता हुन्। प्रदेश ५ मा अल्पसंख्यक अपांगको सिटमा राजबहादुर कुँवर र खुलातर्फका चन्द्रबहादुर खड्का उम्मेदवार छन्। प्रदेश ६ मा अपांग÷अल्पसंख्यक सिटमा जीवन बुढा, महिला कोटामा युटुल लामा र खुलातर्फ कालिबहादुर मल्लले टिकट पाएका छन्। प्रदेश ७ बाट खुलातर्फ हरिराम चौधरी र दलित कोटामा लालिराम लोहारले टिकट पाएका छन्।

राजपा-फोरमले कांग्रेससँग सहकार्य गर्ने

राजपा र संघीय समाजवादी फोरमले कांग्रेससँग तालमेल गर्ने निर्णय गरेका छन्। मंगलबार बसेको राजपा र फोरमको संयुक्त बैठकले आसन्न राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग मिलेर जाने निर्णय गरेको राजपा महासचिव केशव झाले जानकारी दिए।

प्रदेश २ मा पाँच सिट आफूलाई दिनुपर्ने अडान राख्दै आएका राजपा-फोरम अन्ततः चार सिटमै कांग्रेससँग सहकार्य गर्न राजी भएका छन्। आठ सिटमा कांग्रेसले दुई सिट आफूले लिएर चार सिट दुई दललाई दिने प्रस्ताव राख्दै आएको थियो। अब कांग्रेस, राजपा र फोरमले दुई-दुई सिट पाउनेछन् भने बाँकी दुई सिट वाम गठबन्धनले पाउने निश्चित छ।मंगलबार दिउँसो राजपा-फोरमले दुई पटक एमालेसँग छलफल गरे पनि सहमति हुन सकेन।

राप्रपाले बनायो समिति

राप्रपा तालमेलबारे वाम गठबन्धन र कांग्रेससँग अनौपचारिक छलफलमा जुटेको छ। राष्ट्रियसभामा उम्मेदवारी दिने तयारी गरेको राप्रपाले चुनावी तालमेलबारे वार्ता गर्न सुशील श्रेष्ठ, विक्रमबहादुर थापा, कुन्तीकुमारी शाही र ऋचा भट्ट जोशी सदस्य रहेको समिति बनाएको छ। मंगलबार दुवै दलका नेतासँग अनौपचारिक छलफल भए पनि ठोस निर्णयमा भने पुगिनसकेको राप्रपा नेत्री शाहीले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.