रंगमञ्चको रस
‘हाम्रो समुदायबाट नाट्य क्षेत्रमा आएको म मात्रै होला !’, संगीता उराँवले धेरैै बेर सोच्दा पनि द्रविड समुदायबाट थिएटर एक्टिङमा आएकाहरूको नाम सम्झिनन्।
दुई वर्षपहिले झन्डै साढे तीन सय किलोमिटर टाढा सुनसरीको छिटाहा गाउँबाट थिएटरमा अभिनय गर्न काठमाडौं आइपुगेकी थिइन् उनी। त्यसपछि पूर्वयोजनाबमोजिम बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ‘एक्टिङ’ सिक्न थालिन्। अहिलेसम्म ‘पाहुनाघरकी साहुनी’, ‘यल्लो कमेडी’लगायत चार नाटकमा अभिनयसमेत गरिसकेकी छन्, उराँवले। दुई वर्षअघि चलेको ‘यल्लो कमेडी’ उनको ‘सोलो पर्फमेन्स’ थियो। भन्छिन्, ‘एन एङहा भाषानुम नाटक नान्जाकान (मैले आफ्नै भाषामा यो नाटक गरेको हुँ)।’
अनामनगरको एक क्याफेमा बसेर सुनसरीका दूर गाउँमा नाटक देखाउँदै हिँडेको विगत सम्झन्छिन्, उराँव। ‘समता कला केन्द्र’ नामक क्लबबाट उनीलगायत अन्य साथीहरू टाढाटाढाका गाउँसम्म नाटक देखाउन पुग्थे। अभिनयप्रतिको यही भोकले उनलाई राजधानीको एक नामी थिएटरसँग जोडिदियो।
उराँवको जस्तै अभिनयको ‘प्यासन’ बोकेर थिएटरसम्म आइपुगेका नयाँ अनुहार धेरै छन् यति बेला। उनीहरू अभिनयमा जिन्दगीको खुसी खोज्छन्, खुसी भेट्छन्। जनकपुर घर भएकी प्रीति प्रनिता केही दिनपहिले सर्वनाम थिएटरमा चलेको ‘काशीदेवी’मार्फत पहिलोपटक स्टेजमा आइन्। पुस २७ गते कालिकास्थानस्थित सर्वनाम थिएटरको ग्यालरीमा बसेर गफ गरिरहँदा केही क्षणपछि गर्नुपर्ने भूमिकाले उनको उत्साहमा अलिकति डर पनि थपिदिएको थियो। ‘पहिलो नाटक भएर होला, अलिअलि डर लागिरहेको छ’, उनले भनिन्, ‘राम्रो गर्न सक्छु भन्ने विश्वास पनि छ।’
पीके कलेजमा ब्याचलर पढ्दै गरेकी प्रनीता जन्मगाउँ जनकपुरमा छँदा रेडियोमा कार्यक्रम प्रस्तोता थिइन्। आरजे भए पनि उनको रुचिचाहिँ अभिनयतिर थियो। नाटक खेल्ने त्यति बेलाको सपना अहिले पूरा भएको बताउँछिन् उनी।
केही समयदेखि नाट्य क्षेत्रमा लागेकी सरस्वती अधिकारीलाई रंगमञ्चतिर नलाग्न परिवारको सुझाव थियो। रहर त्यसै किन मर्थ्यो ! मास्टर्स पढेर लोकसेवा लड्नु वा कलेज पढाउनु भनेर आमाले हरेक दिन भन्थिन्। नाटकै गर्ने भए किन पढेको भनेर गाली पनि गर्थिन्।
आमा। आमा किन गाली गर्छिन् भन्ने उनले पछि थाहा पाइन्, ‘घरमा छिमेकीले सोध्दा रहेछन्, ‘छोरी के गर्दैछे ? ’ आमा ‘नाटक खेल्छे’ भनेर जवाफ दिन्थिन्। नाटक गर्ने भए डिग्री किन पढेकी भनेर मानिसहरू जिब्रो टोक्थे। त्यसैले आमा उनलाई गाली गर्थिन्। पढाइ ज्ञानका लागि मात्र भएको तर नाटकले आफूलाई आत्मसन्तुष्टि दिएको बताउँछिन् अधिकारी।
संगीता, प्रीति र सरस्वती रंगमञ्चमा देखिएका नयाँ अनुहारका प्रतिनिधि पात्र मात्र हुन्। पछिल्लो समय रंगमञ्चमा महिला कलाकारको उपस्थिति बढ्दै गरेको बताउँछन्, नाट्यकर्मी अशेष मल्ल। आफू रंगमञ्चमा लाग्दा नाटक खेल्ने महिला नभेटिने गरेको तर अहिले त्यो स्थिति नरहेको उनले अनुभव छ। तर, सामाजिक/आर्थिक सुरक्षा दिन नसक्दा विवाहपछि महिलाहरू नाट्य क्षेत्रबाट पलायन हुने गरेको यथार्थ सुनाउँछन् मल्ल। भन्छन्, ‘विवाहअघि रंगमञ्चमा आउँछन्, राम्रो गर्छन्। विवाहपछि यसलाई कन्टिन्यु गर्दैनन्, जान्छन्।’
पहिलोपटक स्टेजमा...
गत २० असोजदेखि १ कात्तिकसम्म चलेको ‘चराहरूको सम्मेलन’मा भँगेराको भूमिकामा देखिएकी थिइन्, रोशनी स्याङ्बो। मान्छे भएर मान्छेभन्दा फरक जीवका रूपमा पहिलोपटक स्टेजमा आइन् उनी। भँगेराको जस्तै हाउभाउ देखाइन्, भेँगेराजसरी नै कराइन्, भँगेराझैं फुत्रुक्–फुत्रुक् उफ्रिन्। अलिअलि डर लागे पनि चराको हूलमा रमाइरहेकी थिइन् उनी। १३ दिनमा उनको भँगेरा जिन्दगी सकियो।
यसअघि पनि उनले अभिनय नै नगरेकोचाहिँ होइन। विगतका केही चर्चित रेडियो नाटक ‘नयाँ बाटो नयाँ पाइला’, ‘मितिनी’, ‘मैसरी सुनाखरी’, ‘भन्छिन् आमा’, ‘कथामाला’मा उनको भूमिका रह्यो। ‘थिएटरमा आवाज, अभिनय र दृश्य सबै एकैसाथ आउँछन्’, उनले रेडियो नाटक र स्टेज नाटकको फरक छुट्याइन्, ‘रेडियोमा चाहिँ आवाजबाटै दर्शकलाई दृश्यको निर्माण गरिदिन सक्नुपर्छ।’ थिएटर अभिनय गर्न पाउँदा उनको मन खुसीले नाचिरहेको छ। स्याङ्बोलाई साथीहरू बेलाबेला जिस्क्याउँछन्, ‘थिएटर आउँदा त तिमीलाई माइत गएजस्तै रमाइलो भएको होला है !’
नाटकका कलाकारले एउटा पात्रको जिन्दगीलाई पछ्याएर कहाँ हुन्छ र ! अर्को नाटक खेल्नुपर्ने बाध्यताले अघिल्लो नाटकको पात्रलाई जबरजस्ती बिदाइ गर्नुपर्ने बताउँछन्, कलाकार।
‘हरेक नाटक सोको पहिलो दिन गाह्रो हुन्छ’, सुमन कुइँकेलले थिएटरमा पात्रहरूले सामना गर्नुपर्ने समस्यालाई केलाइन्। प्रकाश आङ्दम्बेले निर्देशन गरेको नाटक ‘चोलुङ’बाट उनले स्टेज एक्टिङ थालेकी हुन्। गुरुकुलमा प्रदर्शन भएको यस नाटकमा अभिनय गर्नुपर्दा खुबै गाह्रो भएको थियो। भन्छिन्, ‘हरेक नाटकमा आफ्नै किसिमका अप्ठ्यारा हुने रहेछन्।’ मानव विकास प्रक्रियामा आधारित ‘चोलुङ’मा उनले पातका कपडा र अनुहारमा माटो दलेर अभिनय गर्नु परेको थियो।
कुइँकेलले अहिलेसम्म ६ नाटकमा अभिनय गरिसकेकी छन्। सानो छँदा टीभीमा सिरियल हेरेर नाटक खेल्ने सपना देखेकी उनले पुख्र्यौली घर झापामा छँदै सडक नाटकमा अभिनय गरिन्। ०६२/६३ को जनआन्दोलन वरपरको समय हो, त्यति बेला झापाको ‘गन्तव्य थिएटर’मार्फत जनचेतना फैलाउने विभिन्न नाटकमा उनी विभिन्न भूमिकामा देखा पर्थिन्। ‘सानैदेखि म गाउँमा देखाइने नाटकमा खेल्थेँ’, आफ्नो इतिहास हेर्छिन् उनी, ‘विवाहपछि केही समय यो क्षेत्रबाट बाहिर आएँ। अहिले फेरि जोडिएको छु।’
नाटक सकिएपछि...
करिब डेढ वर्षदेखि नाट्य क्षेत्रमा आएकी सुरुभी सापकोटाले ‘ह्यामलेट’, ‘घोडचढी’, ‘काशीदेवी’समेत गरी ६ स्टेज नाटकमा आफूलाई प्रस्तुत गरिसकेकी छन्। त्यस्तै ‘सिक्री’, ‘नयाँ घर’, ‘महादान’जस्ता नौ सडक नाटकमा समेत उनको भूमिका रह्यो। ‘रिहर्सल’को समयमा नाटकको पात्रसँग भिज्न जति गाह्रो हुन्छ, नाटक सकिएपछि पात्रबाट छुट्टिन त्यति नै गाह्रो हुने उनको अनुभव छ। कहिलेकाहीँ त अघिल्लो नाटकको पात्रको प्रभाव अर्काे नाटकमा पनि पर्ने बताउँछिन्। पहिलेपहिले त नाटक सकिएपछि पात्रको कपडा हरेरै रुन्थिन् उनी। भन्छिन्, ‘लामो समयसम्म एउटा पात्रको जिन्दगी जिइन्छ। ऊबाट सदाका लागि छुट्नुपर्दा नमज्जा लाग्छ।’ घरिघरि, ऐनाअघि उभिएर छुट्टिएको पात्रको अभिनय गर्छिन् र आफैंलाई सान्त्वना दिन्छिन्।
‘मन त लाग्दैन तर पनि पात्र र आफू छुट्टिनैपर्ने बाध्यता हुन्छ’, पात्रको ह्याङओभरले आफूलाई पनि लामो समयसम्म पछ्याउने बताउँछिन् कुइँकेल। नाटक सकिएपछि पात्रको भूमिकाबाट बाहिर आउन लामो समय लाग्ने उनको भनाइ छ। बाहिरफेर हिँड्दा पात्रको जस्तै बोली बोलेको, पात्रको जस्तै हाउभाउ देखाएको उदाहरण धेरै छन् उनीसँग।
नाटकका कलाकारले एउटा पात्रको जिन्दगीलाई पछ्याएर कहाँ हुन्छ र ! अर्को नाटक खेल्नुपर्ने बाध्यताले अघिल्लो नाटकको पात्रलाई जबरजस्ती बिदाइ गर्नुपर्ने बताउँछन्, कलाकार।
लामो समय अध्ययन, अनुसन्धान र अभ्यास गरेर पात्र अनुसारको जिन्दगी जिउँछन्, थिएटर एक्टरहरू। अर्काको जिन्दगीलाई आफ्नो जीवनशैली बनाउन कम्ती गाह्रो हुँदैन ! गाह्रो गरी ‘एडप्ट’ गरिएको त्यही जिन्दगी चटक्क छोड्नुपर्दा कसको मन मान्ला र ! पात्र, पोसाक र परिवेशको प्रेमले आफूहरू लछप्पै भिज्ने बताउँछन्, उनीहरू।
थिएटरदेखि सिनेमासम्म
थिएटर र सिनेमा दुवैमा अभिनय नै गर्ने हो। केही अपवादलाई छाड्ने हो भने फिल्म खेल्ने रहर कुनचाहिँ थिएटर एक्टरलाई नहोला ! एकातिर सेलिब्रेटी बनिने, अर्कातिर पैसा पनि कमाइने।
रंगमञ्चमा अभिनय गरिरहेका कलाकार फिल्म खेल्ने रहर नै गर्दैनन् भनेर ठोकुवा गर्न सकिँदैन। रहर भए पनि आफूहरूको गन्तव्यचाहिँ यो नभएको बताउँछन् केही थिएटर कलाकार। बरु, फिल्ममा भन्दा थिएटरमै मजा देख्छन् उनीहरू।
थिएटरमा आफूले जिन्दगीको खुसी भेटेको बताउँछिन्, स्याङ्बो। रंगमञ्चमा गाह्रो र रमाइलो एकैसाथ हुने उनको अनुभव छ। पहिलोपटक ‘चराहरूको सम्मेलन’मा देखिएकी उनी अहिले अर्को नाटकको तयारीमा छिन्। परिवारले पनि सहयोग गरिरहेको र आफू पनि ‘सेटिस्फाई’ भएकाले यो क्षेत्र उपयुक्त छ भन्ने लाग्छ उनलाई। थिएटर छाड्ने उनको कुनै योजना छैन। भन्छिन्, ‘छाड्ने भए त यो क्षेत्रमा आउने नै थिइनँ। एउटा खेलेँ, अब अर्काेमा पनि खेल्न मन छ।’
कुनै पात्र सुहाउँदो भूमिकामा खेल्नु पर्यो र ‘अफर’ आयो भने आफू त्यसका लागि तयार रहेको स्याङ्बोले बताइन्। यसको अर्थ फिल्मकै लागि नाटकबाट भाग्नु ठीक हो भन्ने लाग्दैन उनलाई। ‘पैसा कमाउन मात्र मान्छेहरू फिल्मतिर लागेका हुन्। जिन्दगीको मजा त रंगमञ्चमै भेटिन्छ’, स्याङ्बोले भनिन्।
अफर आयो भने फिल्म खेल्ने रहर स्याङ्बोको मात्र होइन, कुइँकेलको पनि छ। भन्छिन्, ‘फिल्ममा जाने भनेरै थिएटरमा चाहिँ आएको होइन।’ रंगमञ्चमा त उनी रहरले मात्र आएकी थिइन्। जिन्दगीमा फिल्म खेल्छु भन्ने सोचेकी पनि छैनन्। खेल्दै खेल्दिनँ भन्ने प्रण पनि छैन। कुनै उपयुक्त पात्रको भूमिका निर्वाह गर्नु प¥यो भने तयार छिन्। ‘हेरौं, समयले कतातिर लैजान्छ’, उनी यही सोचेर रंगमञ्चमै रमाइरहेकी छन्।
चलचित्र ‘कागबेनी’भन्दा पहिले बनेको सिनेमामा थिएटरका कलाकार उत्ति देखिँदैन थिए। त्यसपछि लगातार सिनेमामा थिएटर एक्टरको भूमिका देखिन थाल्यो। अहिले स्थापित र नाम चलेका कलाकार सौगात मल्ल, दयाहाङ राई, दिया मास्के, विपिन कार्की, सिर्जना सुब्बा सबै थिएटरकै ‘प्रोडक्ट’ हुन्।
फिल्ममा जान धेरैले थिएटरलाई माध्यम बनाउने गरेको देख्छिन्, नाट्यकर्मी निशा शर्मा। नाटकमा मात्र अभिनय गर्छु भनेर बस्नेहरू कम भएको उनले बताइन्। ‘केही समय थिएटरमा एक्टिङ गर्ने र त्यसपछि फिल्म क्षेत्रमा ‘सेटल’ हुने चाहना बोकेर आउँछन्’, उनले थपिन्, ‘नाटकमा अभिनय गर्न आएका नयाँ अनुहारहरू पनि यो रहरबाट टाढा छन् भन्ने मलाई लाग्दैन।’
कथामा महिला पात्र
थिएटरमा पुरुषभन्दा महिलालाई अलि गाह्रो हुने महसुस गरेकी छन्, सरस्वती अधिकारीले। चर्चित उपन्यास ‘लु’को नाटक संस्करणमा पहिलोपटक रंगमञ्चमा देखिएकी अधिकारीले त्यसयता तीन नाटकमा अभिनय गरिसकेकी छन्। नाटकमा उनले विचार गरेको कुरा हो, महिलाको दृष्टिकोणबाट नाटक अलि कम लेखिन्छन्। प्रायः नाटकमा मुख्य पात्र पनि महिला नभएर पुरुष नै हुने गरेको अनुभव छ उनको। भन्छिन्, ‘पछिल्लो समयचाहिँ महिलालाई केन्द्रमा राखेका नाटक पनि आएका छन्। भजाइना मोनोलग, काशीदेवी केही उदाहरण हुन्। अवस्था राम्रो हुँदै गएको छ।’
अधिकारीको यो भनाइसँग स्याङ्बो भने सहमति राख्दिनन्। नाटकमा मुख्य पात्र र सहायक पात्र भन्ने नै नहुने बरु सबै पात्रको भूमिका उत्तिकै हुने उनको बुझाइ छ। भन्छिन्, ‘थारै भूमिका भए पनि पात्रहरूको हैसियत बराबरी हुन्छ।’
नाटकका हरेक पात्रहरू कारण बोकेर आउने र हरेकको जिम्मेवारी बराबरी हुने सापकोटाको तर्क छ। पात्रहरू कम, बेसी भन्ने कुरा कथामा भर पर्छजस्तो लाग्छ उनलाई। नारीप्रधान नाटक, महिला निर्देशक र महिला कलाकार बढेको देखेकी छन् उनले।
थिएटरमा महिला कलाकारको भूमिका राम्रै देख्छिन्, कलाकार दिया मास्के। फिल्ममा महिलालाई प्रायः सपोर्टिङ रोलका रूपमा उभ्याइने भए पनि नाटकमा भने त्यो अवस्था नरहेको उनी बताउँछिन्। महिला कलाकारको संख्या पनि उल्लेख्य मात्रामा रहेको उनले बताइन्। यो संख्या पुरुषकै हाराहारीमा छन् भन्नेचाहिँ लाग्दैन, उनलाई।
०००
काठमाडौंमा अहिले मण्डला, शिल्पी र सर्वनाम गरी तीनवटा रंगमञ्च चर्चामा छ। ती तीनवटै थिएटरमा नियमित नाटक मञ्चन भइरहेको छ। कलाकारहरू थारै मात्र थिएटरमा आबद्ध छन् भने धेरैले ‘फ्रिलान्सर’कै रूपमा अभिनय गरिरहेका छन्। ०६२/६३ को जनआन्दोलनपछि नाटकमा युवापुस्ताको आकर्षण बढेको अनुमान गर्छन् मल्ल। प्रायः नाटकमा दर्शहरूको पनि राम्रो उपस्थिति देखिन्छ।
प्रतिक्रिया दिनुहोस !