सामाजिक सञ्जाल: समयको बर्बादी
अहिलेका टिनएजरहरूले आफ्नो महत्वपूर्ण समय स्क्रिनअगाडि बिताइरहेका छन्। अर्थात्, सामाजिक सञ्जालहरूमा बढी सक्रिय भइरहेका छन्। मोबाइल, ल्यापटप, कम्प्युटरजस्ता प्रविधिमा समय बिताइरहेका छन्। ‘ओएफसीओएम’ले प्रकाशित गरेको एक रिपोर्टअनुसार बेलायतमा ११ देखि १५ वर्ष उमेर समूहका मानिस दैनिक ६ देखि आठ घन्टा स्क्रिनअघि हुने गरेको बताइएको छ।
यसो भए उनीहरू कम्प्युटरमा स्कुलको होमवर्क गरिरहेका हुन्छन् ? अहँ। उनीहरूको ध्यान स्कुलको गृहकार्यमा हुँदैन। अनुसन्धानको निष्कर्ष छ— बेलायतका तन्नेरीले सुत्न जति समय खर्च गर्छन् त्यसभन्दा बढी समय मोबाइल, कम्प्युटर चलाउन खर्चिन्छन्।
अहिलेका टिनएजरहरू सामाजिक सञ्जालमा एकदमै धेरै सक्रिय छन्। उदाहरणका रूपमा ‘स्यापच्याट’लाई लिन सकिन्छ। तन्नेरीका लागि यो एकदमै लोकप्रिय सोसल साइट हो। ८ डिसेम्बर २०१७ मा प्रकाशित ‘इन्टरनेट सोसल बटरफ्लाइज 'हाइलाइट्स फ्रम आवर थर्ड सोसल मिडिया सर्भे’का अनुसार १३ देखि १८ वर्षका झन्डै ७० प्रतिशत टिनएजर स्न्यापच्याट प्रयोग गर्छन्।
लगभग यति नै संख्यामा इन्स्टाग्राम प्रयोगकर्ता पनि छन्। यो तथ्यांक अमेरिका र बेलायतका तन्नेरीमा मिल्न आउँछ। विश्वभरिका तीन बिलियनभन्दा धेरै मानिस अहिले सोसल मिडियामा जोडिएका छन्। हाम्रो धेरै समय यसको प्रयोगमा बित्छ। अमेरिकी ‘एडल्ट’ दैनिक दुईदेखि तीन घन्टा सामाजिक सञ्जालमा व्यस्त हुन्छन्।
यो ट्रेन्डले केही चिन्ताजनक परिणाम ल्याउँदैछ। सोसल मिडियामा बढी समय बिताउँदा यसले शारीरिक समस्या ल्याउनसक्ने अनुसन्धानले बताएका छन्। एकातिर यो मानसिक रूपमा हानिकारक देखिन्छ भने अर्कातिर हाम्रो निद्रामा समेत यसले गडबडी ल्याइदिन्छ। त्यसैले सामाजिक सञ्जालको अत्यधिक प्रयोग राम्रो होइन।
सुत्नका लागि ओछ्यानमा जानुअघि हामी ग्याजेटहरूबाट टाढा हुन जरुरी छ। हामीले बेलुकी स्क्रिन अघिल्तिर समय खर्च गर्नु हुँदैन। किनकि सोसल मिडियाको प्रयोगले तनाव मात्र बढाउँछ।
सोसल मिडियाको प्रयोग नाटकीय रूपमा बढ्न थालेसँगै ब्रायन प्रिम्याकले यसबाट समाजमा पर्नसक्ने असरहरूबारे केही अनुसन्धान गरेका छन्। उनी ‘टेक्नोलोजी एन्ड हेल्थ एट द युनिभर्सिटी अफ पिटर्सबर्ग’ अनुसन्धान केन्द्रका निर्देशक हुन्। प्रिम्याकले जेसिका लेभेनसनसँग मिलेर प्रविधि र मानसिक स्वास्थ्यलाई जोडेर अध्ययन/अनुसन्धान गरे।
सोसल मिडिया र डिप्रेसनलाई जोडेर हेर्दा दुई किसिमका प्रभाव देखियो। एकातिर यसले डिप्रेसन घटाउन सहयोग गर्यो भने अर्कातिर डिप्रेसनलाई नै पनि कमजोर बनाउन भूमिका खेल्यो। ‘द एसोसिएसन बिटुइन सोसल मिडिया युज एन्ड स्लिप डिस्टरबेन्स एमोङ योङ एडल्ट’ले झन्डै दुई हजार मानिसमा गरेको अनुसन्धानबाट भने आश्चर्यजनक परिणाम निस्कियो। सामाजिक सञ्जालमा जति धेरै सक्रिय भयो उति नै डिप्रेसन, तनाव, समाजबाट एक्लो महसुस हुनेजस्ता समस्या देखिने अनुसन्धानको निष्कर्ष थियो।
‘तपाईं भन्नुहोला, साथीले सामाजिक सञ्जालमा राम्रैसँग गफ गरिरहेको छ, ‘स्माइली’ पठाइरहेको छ। इमोजीको प्रयोग पनि गरिरहेको हुन्छ। तर, हामीले के पत्ता लगायौं भने त्यसरी सामाजिक सञ्जालमा बोलिरहेको मानिसले नै समाजमा एक्लो महसुस गर्छन्’, प्रिम्याक भन्छन्। उनीहरू सोसल मिडिमा रमाइरहेका हुन्छन् तर आफू वरिपरिको समाजबाट भने टाढिइरहेका हुन्छन्।
खास कुरा के हो ? डिप्रेसन भएपछि मान्छेले अत्यधिक सोसल मिडिया प्रयोग गर्ने हो कि सोसल मिडियाको धेरै प्रयोग गरेपछि डिप्रेसन हुने हो ! दुवै पक्ष सही भएको बताउँछन् प्रिम्याक। डिप्रेस्ड मान्छेहरूले अत्यधिक सामाजिक सञ्जाल प्रयोग गरिरहेको हुन्छ, जसले मानसिक स्वास्थ्यमा नकरात्मक असर पु¥याउने उनको भनाइ छ।
यहाँ अर्का पनि समस्या छ। सेप्टेम्बर १, २०१७ मा प्रकाशित ‘सोसल मिडिया युज बिफोर बेड एन्ड स्लिप डिस्टरबेन्स एमोङ योङ एडल्ट्स इन द युनाइटेड स्टेट्स 'अ नेसनल्ली रेप्रिजेन्टेटीभ स्टडी’ अन्तर्गत झन्डै १७ सय जनामा एउटा अनुसन्धान गरियो। प्रिम्याक र उनका साथीहरू अनुसन्धानमा खटिएका थिए। अनुसन्धानबाट के निस्कियो भने सुत्न जानुअघि तीस मिनेट स्क्रिनमा बिताउनेमा निद्रा कम लाग्ने संकेत देखियो। ‘दिनमा प्रयोग गरिएको समयलाई यसमा लिइएको थिएन’, प्रिम्याकले भने। दिउँसो स्क्रिन अघिल्तिर कति समय बिताउँछन् भन्ने कुरालाई अध्ययनमा जोडिएको छैन।
महिला फुटबल खेलाडीकाे शीर्ष स्थान अाेगटेकी माेर्गनका चिम्सा अाँखाले पुरुषलाई सेक्स अपिल गर्ने विश्लेषक बताउँछन् ।
कहिलेकाहीँ त्यो तीस मिनेट प्रविधिबाट टाढा रहनु निद्राका लागि अत्यन्तै जरुरी हुन्छ। र, यो आवश्यक पनि देखिन्छ। हाम्रो स्वास्थ्यका लागि हामी आफैं सचेत हुनुपर्छ। सुत्न जानुअघि हाम्रा ग्याजेटहरूबाट टाढा हुन जरुरी छ। हामीले बेलुकी स्क्रिन अघिल्तिर समय खर्च गर्नु हुँदैन। किनकि सोसल मिडियाको प्रयोगले तनाव बढाउने कुरालाई नकार्न सकिँदैन। सोसल मिडियाले हामीलाई लठ्याइरहेको र हाम्रो सुत्ने समयलाई छोट्याइरहेको बताउँछन् प्रिम्याक।
सोसल मिडियाले निम्त्याउनसक्ने अरू पनि धेरै समस्या छन्। शारीरिक परि श्रमले हामीलाई थकाइ लगाउने कुरा स्वाभाविकै हो। यही थकाइले हामीलाई राती निद्रा पनि लगाउँछ र आरामले सुत्न सक्छौं। हामी ग्याजेटको स्क्रिनमै समय बिताउँछौं भने हाम्रो शारीरिक काम घट्न पुग्छ। निद्रा र ग्याजेटको सम्बन्धलाई नेचर डटकममा प्रकाशित भएको ‘इन्डिपेन्डेन्स अफ फिजिकल एक्टिभिटी एन्ड स्क्रिन टाइम एज प्रडिक्टर्स अफ कार्डियोरेस्पिरेटोरी फिटनेस इन युथ’ शीर्षकको अनुसन्धानमा प्रस्ट्याइएको छ।
‘यसले तपाईंलाई शारीरिक परि श्रमप्रतिको जाँगर घटाएर लान्छ। तपाईंको हातमा स्मार्टफोन छ भने तपाईं अरू काम नै गर्नुहुन्न। अन्य काम गर्दाजस्तो हातखुट्टा चल्नै पाउँदैन। यसरी त तपाईंको छोरानाति त झनै शारीरिक कामै गर्दैनन्’, एकरिक सिगम्यान बताउँछन्। उनी बालस्वास्थ्य शिक्षाका विज्ञ हुन्।
सोसल मिडियाको प्रयोगले निद्रामा समस्या ल्याउँछ। निद्रामा हुने गडबडीले मानसिक स्वास्थ्यमा असर पु¥याउँछ। यतिमात्र होइन, कम निद्राले मुटुरोग लगाउनुका साथै डाइबेटिज, मोटोपना, शैक्षिक क्षेत्रमा खराब प्रदर्शन, लोसेपनासमेत देखा पर्छ। यस्ता समस्याको लामै लिस्ट बन्नसक्छ।
सोसल मिडियाका सन्दर्भमा अध्ययन, अनुसन्धान भइरहेकै छ। जेसिका लेभेनसन् भन्छिन्, ‘सोसल मिडियाको प्रभाव के हो, यो सही छ या गलत छ भन्ने विषयलाई लिएर हामीले सही तथ्य बाहिर ल्याउनुपर्छ।’ जेसिका थप्छिन्, ‘हामी सोसल मिडियाको प्रभावका बारेमा बोलिरहेका छौं। शिक्षक र बाबुआमाले पनि सोध्नुपर्छ— कहिले, किन र यसको प्रयोगबाट कस्तो असर पर्यो !’
मानिसले सोसल मिडियालाई प्रयोग गर्नै छाड्नुपर्छ भन्ने विचार राख्दैनन्, प्रिम्याक। तर, कति समय, कुन समयमा चलाउने भन्नेचाहिँ निश्चित हुनुपर्छ भन्ने उनको तर्क छ। अहिलेका तन्नेरीलाई सुझाव— अघिल्लो दिन सुत्ने बेला तपाईंले मोबाइल फोन प्रयोग गर्नुभएको थियो र आज दिउँसो तपाईंलाई निद्रा लागिरहेको छ भने विचार पुर्याउनुहोस्। अब तपाईंले सोच्ने बेला भएको छ। राति मोबाइल चलाउने होइन, सुत्ने हो।
प्रतिक्रिया दिनुहोस !