निरन्तर करिश्मा
फिल्मबाट राजनीतिमा प्रवेश गरेकी सदाबहार सुन्दरी करिश्मा अचेल के गर्दै छिन् ? कहाँ पुग्यो करिश्माको राजनीतिक यात्रा ?
चुनाव अघिसम्म सेलिब्रिटीमा पार्टी प्रवेश गर्ने र परित्याग गर्ने लहर चलिरह्यो। नयाँ शक्तिको झन्डामुनि पनि केही सेलिब्रिटी गोलबन्द हुन पुगे। तिनै मध्येकी एक थिइन्, अभिनेत्री करिश्मा मानन्धर। सिने क्षेत्रमा एक समय ‘करिश्मा’ देखाएकी करिश्मा राजनीतिमा पनि ‘करिश्मा’ देखाउन चाहन्थिन्। तर, परिणाम उल्टो आयो। उनको फिल्मी करिश्मा राजनीतिमा जमेन। नयाँ शक्तिले कमजोर जनमतमै चित्त बुझाउनु पर्यो। तीन वर्षअघि फिल्मी दुनियाँबाट राजनीतिमा प्रवेश गरेकी तीनै सदाबहार सुन्दरी अचेल के गर्दैछिन् ? कहाँ पुग्यो करिश्माको राजनीतिक यात्रा ?
‘स्कुलमा जाडो बिदा छ। चुनावअघि जस्तो मिटिङहरू पनि खासै छैन। अहिले फुर्सदमै छु’, मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा पढ्दै गरेकी करिश्माले आफ्ना पछिल्ला दैनिकीबारे बताइन्। यसको अर्थ उनको व्यस्तता घटेको छ। नयाँ शक्तिको जनमतले पनि फुर्सदिलो बनाउन सहयोग गरेको हुनसक्छ। तर, उनी अस्वीकार गर्दै भन्छिन्, ‘पार्टीले प्राप्त गरेको जनमतबाट म सन्तुष्ट छु। स्थापना भएको छोटो समयमै यति भोट आउनु राम्रो हो नि।’
निर्वाचनअघि करिश्मा समाचारमा निकै छाएकी थिइन्। त्यसको कारण थियो, उनी समानुपातिक सांसदको सूचीमा सूचीकृत हुनु। तर, निर्वाचन परिणाम कस्तो आयो भने नयाँ शक्ति पार्टी कम जनमत स्वीकार्न बाध्य हुनुपर्यो। उनको सांसद बन्ने सपना विपनामा परिणत भएन। ‘सांसद बन्न नपाएको झोकमा हो कि फुर्सदिलो भएको ? ’ उनी यो तर्क पनि मान्न तयार छैनन्। भन्छिन्, ‘सांसद बन्न नपाएकोमा म रत्तिभर दुःखी छैन। सांसद बन्ने ठूलो अपेक्षा नै थिएन किनकि हामी पार्टी निर्माणकै क्रममा छौं।’
राजनीतिलाई सेवा र पेसा ठान्ने दुवैथरी राजनीतिकर्मी समाजमा उपलब्ध छन्। सेवा भन्दै पेसा बनाउनेको संख्या धेरै होला, सेवा गर्नेको संख्या थोरै। करिश्मा आफूलाई राजनीतिमार्फत सेवा गर्नेको लाइनमा उभ्याउन चाहन्छिन्।
कति कलाकारले सिनेमाको स्क्रिप्ट मन नपरेर सिनेमा त्यागेजस्तै पार्टी त्याग्ने र रोज्ने गरिरहे। करिश्माका बारेमा पनि यस्तै अड्कल गरिएको थियो। तर, सबैको अनुमानविपरीत उनी नयाँ शक्तिमै दृढ रहिन्। भन्छिन्, ‘म राष्ट्र परिवर्तन गर्न राजनीतिमा हिँडेको हुँ। व्यक्तिगत स्वार्थका लागि हिँडेको होइन।’
समाज बुझ्न राजनीति
नेत्री भएपछि समाजसँग नजिक हुने क्रम बढेको छ करिश्माको। भन्छिन्, ‘कलाकार मात्रै हुँदा समाजलाई गहिरोसँग बुझ्न पाएकै थिएन। अहिले नजिकबाट बुझ्ने कोसिस गर्दैछु।’ अभिनेत्रीदेखि नेत्रीसम्मको यात्रामा उनी देशका विभिन्न ठाउँमा पुगिन्। मधेसका मुसहर बस्तीदेखि सुदूर गाउँका बस्तीसम्म पुगिन्। भन्छिन्, ‘कसैको खुट्टामा चप्पल छैन। कसैको आङमा लुगा छैन। अरू बोल्दा जिल्ल परेर सुनिरहेको देखेँ। २१औं शताब्दीमा पनि हाम्रो देश यति पछाडि !’
‘मानिसलाई जबसम्म दुख्दैन तबसम्म जीवन थाहा नहुने रहेछ। सिनेमाजस्तो होइन रहेछ जीवन। वास्तविक जीवनमा साँच्चिकै दुख्छ। साँच्चिकै आँसु आउँछ। आज म कुनै अभिनय गरिरहेको छैन। वास्तविक जीवन भोग्दैछु।’
अभिनेत्री भएर जाँदा फोटो खिच्नेको मात्रै भीड लाग्ने तर नेत्री भएर जाँदा जिम्मेवार महसुस हुने गरेको करिश्मा बताउँछिन्। सुदूर गाउँका मानिसले भोगेको कहर देखेपछि उनी विकासको नारा र लोकतन्त्रलाई कटाक्ष गर्दै भन्छिन्, ‘मानिसले पहिला मानिस भएर बाँच्न पाएकै छैन। उनीहरूले पहिला मानिस भएर बाँच्न पाउनुपर्छ। यस्तै अवस्था रहिरहे केको लोकतन्त्र ? केको गणतन्त्र ? ’
जीवन बुझ्न अमेरिका
करिश्माले सिनेमाको पर्दामा विधवा, टुहुरा र दुःखी मान्छेको अभिनय गरिन्। तर, वास्तविक जीवनमा भने दुःखलाई नजिकबाट कहिल्यै नियालिनन्। भन्छिन्, ‘सिनेमामा धेरै व्यस्त भएँ। वास्तविक जीवनमा दुःख कस्तो हुन्छ भोग्नै पाइनँ।’
फिल्मको सुटिङ प्रायः सुन्दर लोकेसनमै हुन्थ्यो। मान्छे देखेर मान्छे तर्सिने ठाउँमा पनि पुगिन्, करिश्मा। उनले कुरा गर्न जाँदा मानिस कान्लैकान्ला फालहालेर भागेको पनि देखिन्। बिहानदेखि बेलुकीसम्म फिल्मको काममा व्यस्त। जिन्दगीलाई हेर्ने फुर्सद नै भएन भन्छिन् उनी। त्यसपछि करिश्मा रिलको जीवन छाडेर रियल जीवन भोग्न आधा दशक अमेरिका भासिइन्। त्यो आधा दशकले उनीभित्र जीवनप्रतिको सोचाइमा बदलाव आयो। भन्छिन्, ‘मानिसलाई जबसम्म दुख्दैन तबसम्म जीवन थाहा नहुने रहेछ। सिनेमाजस्तो होइन रहेछ जीवन। वास्तविक जीवनमा साँच्चिकै दुख्छ। साँच्चिकै आँसु आउँछ। आज म कुनै अभिनय गरिरहेको छैन। वास्तविक जीवन भोग्दैछु। बुझ्दैछु।’
करिश्मा आफ्नो जीवनबाट भने निराश छैनन्। भन्छिन्, ‘मेरो जीवनसँग मलाई कुनै गुनासो छैन। सिने क्षेत्रमा जे गरेँ, जति गरेँ, राम्रो गरेँ।’ उनलाई पहिला जीवन उत्सवजस्तो लाग्थ्यो। गम्भीर मुद्रामा उनी भन्छिन्, ‘अहिले थाहा पाएँ, जोसँग पुगीसरी छ, त्यसका लागि मात्रै जीवन उत्सव रहेछ।’
यस कारण पढ्दैछु
सुटिङमा व्यस्त भइरहँदा करिश्मा हरपल पढ्न नपाएकोमा चिन्तित हुन्थिन्। कति सिनेमामा झोला बोकेर स्कुल गइन्। तर, वास्तविकतामा भने अध्ययनलाई पूरा गर्न पाइनन्। स्कुल पढ्न नपाउँदा उनलाई ग्लानि महसुस भइरहन्थ्यो। पढाइ छाडेर ठूलो अपराध गरेजस्तो लागिरहन्थ्यो। त्यसपछि उनी लाज, घिन, खिसीटिउरी सबैलाई छाडेर पढ्न थालिन्।
राजनीति र पढाइमा व्यस्तता बढे पनि सिने क्षेत्रबाट भने ओझेल पर्ने पक्षमा छैनन्, उनी। अझ राजनीतिमा उनको अर्कै दाउपेच छ। अर्को पटकको चुनावमा जित्ने उनको दाउ छ। तर, करिश्माको तत्कालको योजना भने पहिलो पढाइ हो र दोस्रो सिनेमा।
चुनाव अघिको झैं व्यस्तता अहिले छैन। दैनिक मिटिङ, भेटघाट छैन। पार्टीको आकारले आफ्नो दैनिकीमा परिवर्तन आएको मान्न उनी तयार छैनन्। तत्काल राजनीतिक यात्राबाट वि श्राम लिने सोचमा पनि उनी पुगेकी छैनन्। बरु छोरी कविता मानन्धरले डेब्यु गर्ने फिल्मको निर्देशन गर्ने योजनामा छिन्। तर, राजनीति र पढाइको व्यस्तताले हच्किएकी छन् उनी। फिल्मी दुनियाँमा करिश्माले थुप्रै अवार्ड हात पारिन्। राजनीतिमा भने अवार्ड हात पार्छिन् कि पार्दिनन्, त्यो हेर्न भने राजनीतिको अर्को घुम्ती पर्खिनैपर्छ।
प्रतिक्रिया दिनुहोस !