स्वास्थ्यकै कर्मचारी सचिव हुनुपर्ने माग
बैतडी : प्रदेश ७ सातका स्वास्थ्यकर्मीले प्रदेश स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै कर्मचारीबाट सचिव बनाउनुपर्ने माग गरेका छन्। सरकारले प्रशासन समूहबाट प्रदेश स्वास्थ्य मन्त्रालयमा सचिवको व्यवस्था गर्न लागेको भन्दै त्यसको विरोध गरेका हुन्।
प्रदेशको अस्थायी राजधानीका स्वास्थ्यकर्मीले प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा अन्य समूहबाट आए स्वीकार नगर्ने चेतावनी समेत दिएका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयसम्म काम गरेका अनुभवी स्वास्थ्यकर्मी हुँदाहुँदै प्रदेश स्वास्थ्य मन्त्रालयको नेतृत्व अन्य समूहका कर्मचारीलाई दिँदा समस्या हुने भएकाले आफूहरुले स्वास्थ्य क्षेत्रकै सचिवको माग गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले बताए।
उनले भने ‘स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका डाक्टर, कर्मचारी छदाँछदै अन्य समूहबाट सचिव ल्याउने कुरा मान्य नहुने निर्णय भएको छ। स्वास्थ्य क्षेत्रलाई भतांभुंग पार्ने सरकारको निर्णयको विरुद्धमा हामी सबै स्वास्थ्यकर्मी छौं।’
सरकारले ७ दिनभित्रमा निर्णयमा पुनविर्चार गर्न भेलाले आग्रह गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयमा अन्य समूहबाट सचिव खटाए मान्य नहुने स्वास्थ्यकर्मीले चेतावनी समेत दिएका छन्। स्वास्थ्य जस्तो सम्वेदनशील र प्राविधिक क्षेत्रको महत्व बुझेर केन्द्रदेखि प्रदेशहुँदै स्थानीय तहसम्म स्वास्थ्य मन्त्रालय छुट्टै हुनुपर्ने भेलाले निर्णय समेत गरेको छ।