आफ्नै सन्तानको जासुसीमा
विगत दुई वर्षदेखि म्यान्डी सिन्डरले आफ्नो छोरीको हरेक क्रियाकलापलाई नियालिरहेकी छन्। सिन्डर वासिङ्टनस्थित एक अफिसमा एकाउन्टेट छिन्। छोरीको हरेक क्रियाकलाप उनले ‘एमस्पाई’बाट थाहा पाइरहेकी हुन्छिन्। १३ वर्षीया छोरीको म्यासेज, फोटो, भिडियो, डाउनलोड गरिएका एप र ब्राउजर इतिहासका बारेमा समेत उनी ‘अपडेट’ हुन्छिन्। आमाले आफूमाथि यस्तो जासुसी गरिरहेकी छन् भनेर छोरीलाई भने पत्तै छैन।
आफ्नो यस्तो क्रियाकलापलाई सिन्डरले सही रूपमै लिएकी छन्। गत ‘समर’मा छोरीको एउटा हर्कत पत्ता लगाइन् उनले। छोरीले ‘टेक्स्ट’मार्फत आफ्नो ब्वाइफ्रेन्डलाई यौन सम्बन्धका लागि आग्रह गरेकी थिइन्। ‘मलाई थाहा छ, उसको उमेरमा छँदा मैले जे कुरा बुझेको थिइनँ, त्यो अहिले मेरो टिनेजर छोरीले बुझिसकेकी छे। अहिलेको विश्वमा समाजसँग जोडिनका लागि विभिन्न बाटा छन्’, सिन्डर भन्छिन्, ‘यो प्रविधिले बेलाबेलामा मलाई तर्साउँछ।’
प्रविधिबाट अहिलेको पुस्ताले अनौठा, नयाँ र फरक किसिमका अभ्यासहरू गरिरहेका छन्। यही प्रविधिले बाबुआमालाई आफ्ना छोराछोरीको हरेक क्रियाकलापलाई निगरानी गर्न पनि सहयोग पुर्याइरहेको छ।
परिवारले ‘एमस्पाई’, ‘टिन सेफ’, ‘फेमिली ट्र्याकर’जस्ता प्रविधिको सहायता लिएर आफ्ना छोराछोरीको फोन कल, म्यासेज, च्याट र सामाजिक सञ्जालमा के पोस्ट गरेका छन् भन्ने पनि थाहा पाउन सक्छन्। यतिमात्र हैन, आफ्ना छोराछोरी कुन ठाउँमा छन् भन्नेसमेत थाहा पाउन सकिन्छ। छोराछोरी एकदमै स्पिड गाडीमा सवार गरिरहेका छन् भने ‘मामा बियर’ नामक ‘एप’ले त बाबुआमाको मोबाइलमा म्यासेज नै पठाएर सचेत गराउन आग्रह गर्छ। अर्थात्, ‘प्यारेन्ट्स’को मोबाइलमा ‘स्पिडिङ अलर्ट’ पठाउँछ।
संरक्षण र समस्याको एउटा स्पष्ट लाइन कोरिन्छ यहाँ। नयाँ आएका जासुस प्रविधिहरूले परिवारलाई समस्यामा पारिदिन्छ। आफ्नो व्यक्तित्व विकासका लागि पनि एउटा टिनेजरलाई केहीकेही विषयमा स्वतन्त्रताको जरुरी पर्छ। उनीहरूको व्यक्तिगत विषयमा हस्तक्षेप गर्नु हुँदैन। हुन त आफ्ना छोराछोरी आफूबाटै टाढा भएको सहन गाह्रो हुन्छ, बाबुआमाका लागि। के पनि सत्य हो भने, आफ्ना नानीबाबुको गोप्य विषयमा जानकारी राख्न खोज्दा यसले राम्रो गर्ने हैन, बरु उल्टै नोक्सानी पुर्याइराखेको हुन्छ।
आफ्ना छोराछोरी आफूबाटै टाढा भएको सहन गाह्रो हुन्छ, बाबुआमाका लागि। के पनि सत्य हो भने, आफ्ना नानीबाबुको गोप्य विषयमा जानकारी राख्न खोज्दा यसले राम्रो गर्ने हैन, बरु उल्टै नोक्सानी पुर्याइराखेको हुन्छ।
लामो समय अध्ययन गर्दा छोराछोरी गलत बाटोमा नलागून् र उनीहरू कसैसँग केही कुरामा भर पर्नु नपरोस् भनेर बाबुआमाले निगरानी गर्ने गरेको पाइयो। ‘नानीहरूको स्वस्थ विकास त उनीहरू बच्चैमा बामे सर्दै तपार्इंबाट टाढिन सुरु गर्दादेखि नै हुने बताउँछिन्’, कलेजकी मनोविद् नान्सी डार्लिङ। ‘बच्चाहरूको स्वतन्त्रता र सुरक्षालाई सन्तुलनमा राखेर उनीहरूको हेरचाह गर्न निकै गाह्रो छ’, उनी भन्छिन्।
हाम्रो स्वतन्त्रता र विकासका लागि गोप्यता एकदमै महत्वपूर्ण हुन्छ। ‘प्राइभेसी’लाई अनुभव गर्न पाउनु एकदमै आवश्यक छ’, युनिभर्सिटी अफ हङकङमा टिनेजरको विकासक्रमका बारेमा अध्ययन गरेकी मनोविद् स्काइलर हक भन्छिन्। एउटा बच्चा किशोरावस्थामा प्रवेश गर्नेबित्तिकै उसको दिमाग, शारीरिक बनावट, सामाजिक सम्बन्ध द्रुत रूपमा परिवर्तन हुन थाल्छन्। जब उनीहरू आफैंमा देखिएको परिवर्तनलाई अनुमान गर्न थाल्छन्, त्यसलाई गहिरिएर बुझ्न पनि उनीहरूलाई स्वतन्त्र छाडिदिनुपर्छ। हक भन्छिन्, ‘दे निड स्पेस टु फिगर इट अल आउट।’
इन्डियाना विश्वविद्यालय, पड्र्यु विश्वविद्यालयकी प्रोफेसर सान्द्रा पेट्रोनियोको बुझाइ छ, ‘गोपनीयता टिनेजरहरूमा आवश्यक छ।’ तन्नेरीहरू आफ्नो परिवारबाट केही टाढा नै हुनुपर्नेमा उनको जोड छ। परिवारको बन्धनमा रहने हैन, टाढा बस्ने हो। भन्छिन्, ‘किशोरावस्थामा आफ्नै संसार बनाउने हो। आमाबाबुले कोरेको घेरामा रुमल्लिने हैन।’
नानीबाबुहरूको व्यक्तिगत विषयमा हस्तक्षेप गर्दा त्यसले सम्बन्धमै दरार ल्याउने पेट्रोनियो बताउँछिन्। ‘जब आफ्नै छोराछोरीको जासुस गरिन्छ, त्यहाँ आमा÷बुवा र छोरा÷छोरी बीचमा अविश्वास बढ्छ’, उनी भन्छिन्, ‘नचाहिँदो रूपले बढी निगरानी गर्दा सम्बन्ध लामो समय टिक्दैन।’
गोप्य निगरानीहरू सधैंभरी गोप्य रूपमा नरहन पनि सक्छन्। अर्थात्, कुनै पनि बेला सत्य बाहिर आउन सक्छ। तन्नेरीहरू आफ्नो बाबुआमाभन्दा धेरै ‘टेक्नो–फ्रेन्ड्ली’ हुन सक्छन्। उनीहरू प्रविधिमा बढी जानकार हुन सक्छन्। बाबुआमाले आफूलाई निगरानी गर्न कस्तो प्रविधि अपनाएका छन् भन्ने कुरा एक न एक दिन उनीहरूले थाहा पाइहाल्छन्। त्यो प्रविधिलाई कसरी ‘ह्याक’ गर्ने भन्ने ज्ञान पनि हुन्छ, उनीहरूसँग। मानौं, इन्स्टाग्रामको एउटा एकाउन्टमा आमाबाबुले निगरानी गरे भने छोराछोरीले नयाँ इन्स्टाग्राम एकाउन्ट खोल्दैनन् भन्ने छ र ! यो त एउटा उदाहरण मात्र हो। यस्ता अनेक उपाय लगाएर भए पनि गोप्यताको खोजी त गरिहाल्न्छन् तन्नेरीहरू।
जब छोराछोरीलाई आफ्नो परिवारप्रति विश्वास हुँदैन, तब उनीहरू झनै गोप्यताको सूत्रहरू खोज्न थाल्छन्। यस्तोखाले प्रभाव हकले नेदरल्यान्डका स्कुले विद्यार्थीमा देखेकी थिइन् पेट्रोनियोले। नेदरल्यान्ड र अमेरिकाका विद्यार्थीमा स्वतन्त्रता र व्यक्तिवादको सोचाइ उस्तैउस्तै देखेकी छन् उनले। आफूहरूको क्रियाकलाप परिवारले निगरानी गरिरहेका छन् भन्ने चाल पाएर विद्यार्थीहरू झनै सचेत भएका थिए। र, उनीहरूले हरेक क्रियाकलापहरू गोप्य रूपमा गर्न थालेका थिए।
छोराछोरीलाई स्वतन्त्रता नदिने हो भने त्यसले परिवार र छोराछोरीको सम्बन्धमा मात्र असर पुर्याउने हैन। जब बच्चाहरूले आफू परिवारको बन्धनमा छु भन्ने बुझ्छन्, तब उनीहरू मानसिक रूपले नै समस्यामा पर्छन्। उनीहरू हरदम तनावमा रहने, डिप्रेसनमा पर्नेजस्ता समस्या देखा पर्छ। ‘जो बच्चाहरू आमाबाबुको अत्यधिक निगरानीमा हुर्केका छन्, उनीहरूमा मानसिक समस्या देखिने सम्भावना बढी हुन्छ’, टेम्पल विश्वविद्यालयकी प्रोफेसर लरेन्स स्टेइनबर्ग भन्छिन्। निगरानी गरिरहँदा आफ्ना छोराछोरीप्रति विश्वास हुँदैन, उनीहरूको क्षमताप्रति शंका हुन्छ। जब यो कुरा छोराछोरीले थाहा पाउँछन्, तब उनीहरूमा मानसिक समस्या पर्नसक्ने बताउँछिन्, ‘एज अफ अपच्र्युनिटी : लेसन फ्रम द न्यु साइन्स अफ एडलसेन्स’ पुस्तककी लेखिकासमेत रहेकी लरेन्स।
परिवारले छोराछोरीलाई कुनै निर्णय नै गर्न दिँदैनन् भने उनीहरूले सिक्ने मौका नै पाउँदैनन्। उनीहरूमा आफ्नै अनुभवबाट केही जान्ने मौका नै हुँदैन। आफ्नो सन्तानलाई खराब बाटो हिँड्नबाट जोगाउने परिवारको दायित्व त हुन्छ भन्ने बिचार राख्छिन्, जुडिथ स्मेटाना। रोकर विश्वविद्यालयकी प्राफेसर मनोविद् जुडिथ भन्छिन्, ‘किशोरावस्था पनि निगरानी गर्नुपर्ने समय नै हो तर एउटा सीमितता हुन्छ।’ अल्कोहलको उदाहरण लिऊँ। बच्चाहरू जसले अल्कोहलको स्वाद लिन्छन् तर यसको ‘एडिक्ट’ हुँदैनन् भने धेरै हदसम्म मानसिक रूपमा स्वस्थ हुने बताउँछिन्, स्मेटाना। ‘म बच्चाहरूलाई पिउनु भन्दै हौस्याइरहेको छैन तर हामीले ‘अनुभव’ गर्ने उमेरका बारेमा सोच्नुपर्छ’, उनले भनिन्, ‘अनुभव लिनु त तन्नेरीको बानी नै हो।’
आमाबाबुलाई पनि गोप्यताको महत्व थाहा हुन्छ भने बच्चा र बाबुआमा बीचको सम्बन्धमा लाइन कोर्न गाह्रो हुन्छ। स्थिति कस्तो छ भन्ने कुरा परिवारपिच्छे फरक हुन्छ। आफ्नै साथीहरूले छोराछोरीको निगरानी गरेको देखेर छक्क परेकी छन्, डाल्टन कोन्ली। प्रिन्सन विश्वविद्यालयकी समाजशास्त्री डाल्टनले एकपटक साथीले आफ्नो बच्चालाई क्याम्पमा राखेर आफू कन्फरेन्समा गएको देखिन्। त्यति बेला डाल्टन आफ्ना छोराछोरीको ‘डेबिट कार्ड’का बारेमा समेत जानकार थिएनन्, छोराछोरी सायद कतै घुम्दै थिए कि ! अथवा, कुनै मलमा केही सामान किन्दै थिए कि ! ‘छोराछोरीलाई निगरानी गर्नका लागि प्रविधिको विकास भएको छ। तर, यो ठीक छ कि छैन भन्नेबारे ठीक मान्यताचाहिँ छैन’, डाल्टन भन्छन्।
डार्लिङका अनुसार बच्चाहरूले आफूमाथि निगरानी गरिएको छ भन्ने कुरा झनै छिटो थाहा पाउँछन्। तर, बच्चाहरूलाई के लाग्छ भने आफूमाथि बाबुआमाले रेखदेख गर्नु वैधानिक अधिकार हो। जस्तो उनीहरूले सोच्छन् कि, म स्कुल गएको छु कि छैन, मैले ‘ड्रग्स’ पो लिँदै छु कि, म खराब बाटोमा हिँडे कि भन्ने कुरामा त बाबुआमाले चासो राख्नु स्वाभाविक हो भन्ने नानीहरूको ठम्याइ हुन्छ। डार्लिङ भन्छिन्, ‘हो, बच्चाहरूको बारेमा बाबुआमा जानकार हुनैपर्छ।’
सुरक्षित बाटो कुन हो भन्ने खास धारणा अहिलेसम्म आएको छैन। केही बच्चाहरू खतरनाक वातावरण, छरछिमेकमा हुर्किन्छन्। त्यस्ता बच्चाहरूका लागि परिवारको एकदमै ठूलो हेरचाह आवश्यक हुन्छ। भर्जिनिया विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार मध्यमवर्गीय छरछिमेकमा हुर्किएको बच्चा कम जोखिम (लोअर रिस्क)मा हुन्छन् र यहाँ बुवाआमा र छोराछोरीको सम्बन्ध राम्रो हुँदैन। तर, कम आम्दानी भएको परिवारमा जन्मिएको बच्चा बढी जोखिम (हाइयर रिस्क)मा हुन्छन्। र, यस्तो परिवारमा बाबुआमा र छोराछोरीको सम्बन्ध पनि सुमधुर हुन्छ।
केही परिवारको भनाइ छ कि बच्चाहरूको रेखदेखबाट उनीहरूसँग सम्बन्ध झनै धेरै मजबुत भएको छ। ‘ट्राकिङ एप्स’बाट आफूले छोरीले फोनबाट के के गर्दैछे भनेर सबै कुरा थाहा पाउने गरेको बताउँछिन् सिन्डर। सेक्स, ड्रग्स, सुसाइड र साथीहरूका बारेमा गरिएको कुराकानी पनि थाहा हुने उनले बताइन्। ‘छोरीले साथीसँग गरेको कुराकानी त मैले थाहा पाएको छु। अब मैले कुनै पनि समयमा के गर्दैछौ भनेर उसलाई सोध्न सक्छु’, सिन्डरले भनिन्, ‘मैले उसको बारेमा थाहा नपाएको भए हामीबीच राम्रो सम्बन्ध नै हुने थिएन। गफ गर्ने वातावरण नै बन्दैन थियो।’
प्राइभेसी सँगसँगै स्वतन्त्रताको पनि उत्तिकै जरुरी हुन्छ बच्चाहरूलाई, साथै टिनएजरहरूलाई पनि। तर, यति बेला हरेक आमाबाबुले आफैंलाई सोध्नुपर्ने एउटा प्रश्न हो— निगरानी गर्ने नाममा मैले बच्चाहरूको स्वतन्त्रतालाई कैद गरेको त छैन ?
अनुवाद : किरण दहाल
प्रतिक्रिया दिनुहोस !