मनास्लु 'टु' सगरमाथा
गोर्खा, आरुघाटकी पूर्णिमा श्रेष्ठले २७ वर्षमा पाइला टेकिन्। पुराना पुस्ताले यो त बूढीकन्या हुने भई भन्ने लख काट्ने उमेर हो यो। पूर्णिमालाई पनि विवाहको प्रश्न ओइरिन थालेपछि उनी फेसबुकमा स्ट्याटस लेख्न बाध्य भइन्, ‘छोरी मान्छेले आफ्नो खुट्टामा उभिएर स्वतन्त्र भएर हिँडेको भन्दा अरूको नामको सिन्दूर र मंगलसूत्र लगाएको हेर्न आतुर छ यो समाज।’ उनी विवाह सपनालाई थाती राखेर हिमाल चढ्ने सपना सजाउन पुगिन्।
पेसाले फोटोपत्रकार पूर्णिमालाई सुरुदेखि नै यात्रा फोटोग्राफीमा रुचि थियो। त्यसैले नयाँ ठाउँमा, नयाँ एंगलमा आफ्नो क्यामरामा तस्बिर कैद गर्न उनलाई साह्रै मन लाग्थ्यो। यसै क्रममा हरेक वर्ष मे २९ मा पर्ने एभरेस्ट डेमा आयोजना हुने एभरेस्ट म्याराथुनमा उनले पनि फोटो खिच्न जाने अवसर पाइन्। हिमालप्रतिको मोहले एभरेस्ट बेस क्याम्पसम्म मात्रै भए पनि पुग्ने उनको रहर त्यति बेला पूरा भयो।
![]()
उनले कल्पना गरेभन्दा निकै सुन्दर थियो त्यहाँको दृश्य। आफ्नो जीवनमै उनले हिउँ देखेको र टेकेको पनि त्यो पहिलोपटक थियो। सुन्दर दृश्यले उनको थकान सबै मेटाइसकेको थियो। हिमालको बेस क्याम्प त यति रमाइलो छ भने अगाडि देखिने हिमाल चढ्दा कति आनन्द आउला भन्ने उनलाई लाग्यो। अर्को वर्ष त म जसरी भए पनि यो सगरमाथामा चढ्छु भन्ने अठोट उनले त्यति नै बेला गरिन्।
खुम्बुवासीले सगरमाथाको बारेमा तारिफ गरेको उनले धेरै सुनेकी थिइन्। तर, आफ्नै आँगनबाट लर्को लागेर पुगिने मनासलु हिमाल गाउँमै हुँदा पनि उनले त्यति चर्चा भएको पाइनन्। त्यसैले उनले मनासलु चढ्ने निर्णय गरिन्।
करिब ६ सय मिटरको उचाइमा रहेको आरुघाटमा जन्मेहुर्केकी पूर्णिमाले एकैपटक आठ हजार मिटर माथिको हिमाल चढ्ने लक्ष्य सुनाउँदा धेरैले उनको खिसी गरे। सगरमाथा चढ्नयोग्य हुनलाई कम्तीमा पनि ६ हजार मिटर माथिका एउटा हिमाल चढेकै हुनुपर्छ। तर, उनले भने पहिलोपटक नै ‘किलर्स माउन्टेन’को नाममा चर्चित मनासलु चढ्ने आँट गर्दा धेरैलाई पत्याउन गाह्रो परेको थियो। मनासलु चढ्ने मात्रै होइन, त्यहाँ फोटोहरू खिचेर आफ्नो जिल्लाको प्रवद्र्धन गर्न चाहन्छु भनेर उनले प्रायोजक खोज्न जाँदा पनि धेरैले पत्याएनन्।
उनी स्फूर्ति जगाउन बिहानबिहान दौडिन्थिन्। पौडी खेल्दा एकै महिनामा तीनवटा स्विमिङ कस्टम फटाइन्। शारीरिक र मानसिक रूपमा पूर्णिमा तयार भए पनि उनलाई यात्रामा आवश्यक पर्ने रकम जुटिसकेको थिएन। हिमाल चढ्न जाने अघिल्लो दिनसम्म पनि उनी साथीहरूसँग सापटी माग्न धाइरहेकी थिइन्। तर, नपुग भयो। अन्ततः चार लाख ऋण काढेर भए पनि उनले हिमाल चढ्ने हिम्मत गरिन्।
सगरमाथा त धेरैले चढ्छन्। तर, अरूभन्दा फरक फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सगरमाथाको चुचुरोबाट क्यामराको फ्ल्यास झिलिक्क पार्ने मात्र होइन, आधार शिविरबाट चुचुरोसम्म फोटो प्रदर्शनी गर्दै जाने ठूलो धोको पनि छ।
हिमालमा जान उनले करिब चार लाख बराबरको लुगा जुत्ता किनेकी थिइन्। विदेशमा रहेका आफ्ना दाइलाई ती सामान देखाउँदा उनले ‘तेरो विवाहमा सिँगार्न पनि त्यति खर्च लाग्दैन’ भनेको उनले बिर्सेकी छैनन्। हिमाल चढ्ने आँट र साहस जुटाइसकेकी पूर्णिमालाई राम्ररी जुत्तासमेत लगाउन आउँदैन थियो। यसरी हिउँमा उभिन र हिँड्नै नजान्नेलाई हामीले कसरी सघाउने भनेर उनको समूहमा रहेका पाँच जना अन्य महिला पनि आजित भइसकेका थिए। समूहमा धेरै शेर्पा थिए। तर, उनको गाइड भने तामाङ थिए। उनले विस्तारै सिकाउँदै अगाडि बढाउँदै लगेपछि अन्ततः पूर्णिमा पूर्ण रूपमा फिट भइन्।
हिमाल चढ्दा हिमाल र भगवान्भन्दा अरू कसैको याद आएन उनलाई। डोरीको भरमा अडिएको जीवनलाई अगाडि बढाउँदै आठ हजार एक सय ६३ मिटर अग्लो विश्वकै आठौं उच्च मनासलु हिमालको शिखर टेकिन्। चुचुरो चुमेर तल झर्ने क्रममा उनलाई मिन्स भयो। यसले गर्दा शरीरमा अलि असहज महसुस त भयो तर यसैले गर्दा म दुर्वल हुन्छु र तल झर्न सक्दिनँ भन्ने उनलाई कहिल्यै लागेन। चढ्दा र झर्दा जति नै थाके पनि हिमालका सुन्दर दृश्यहरू हेरेपछि उनलाई व्यर्थै यहाँ आएछु भन्ने लागेन। उनले काठमाडौंबाट हिँडेको २२ दिनमा चुचुरो चुम्ने सफलता पाएकी थिइन्। तीन किलोभन्दा बढी तौलको क्यामरा सँगै लिएर गएकी पूर्णिमालाई साथीहरूले पागलसम्म भनेछन्। तर, फोटो पत्रकारको मोहले चुचुरोमा बसेर फोटो र भिडियोे नलिई मन किन मान्थ्यो र।
मिसन सगरमाथा
पूर्णिमाको अर्को मिसन हो, सगरमाथा चढ्नु। सगरमाथाको उचाइ नाप्दै फोटो प्रदर्शनी गर्दै जाने उनको यात्रा अरूभन्दा फरक छ। सगरमाथा चढ्न झन्डै २५ लाख रुपैंया रकम कसरी जुटाउने भन्ने उनलाई चिन्ता छ। यही ै पैसाकै कारण आफ्नो आरोहण रोकिने त होइन भन्ने कहिलेकाहीँ सपनामा पनि ऐंठन हुन्छ उनलाई। सगरमाथाको सपना नतुहियोस् भनेर उनी जहाँ जसलाई भेटे पनि आफ्नो एभरेस्ट प्रोजेक्ट सुनाउँछिन्। ‘स्माइलिङ वुमेन नेपाल एभरेस्ट एक्सपिडिसन २०१८’ परियोजना हो उनको।
आफ्नै उमेरका साथीभाइ विभिन्न रेस्टुराँमा गएर मीठो खाने, सिनेमा हेर्ने गर्दै गरेका बेला उनी भने एउटा ठूलो उद्देश्य प्राप्तिका लागि दिनहुँ भौंतारिइरहेकी छन्। उनले सगरमाथामा पुगेर बेस क्याम्पदेखि चुचुरोसम्म आफूले खिचेका उत्कृष्ट फोटो प्रदर्शनी गर्ने सोच राखेकी छन्। हिमाल चढ्दै जाँदा फोटो राख्दै जाने र ओर्लंदा फेरि ती तस्बिर निकाल्दै आउने उनको योजना छ। पछि काठमाडौं फर्केर यहाँ तिनै तस्बिरको पुनः प्रदर्शनी गर्ने उनको सोच छ।
![]()
महिला स्वस्थ भए उनको अनुहारमा हाँसो र खुसी झल्कन्छ। त्यसैले महिलालाई स्वस्थ राख्ने उद्देश्यले उनले पाठेघरसम्बन्धी क्यान्सरका बारेमा पनि जनचेतना हिमालबाट नै जगाउने विचार राखेकी छन्।
मनासलु चढ्दाको चार लाख रुपैयाँ ऋण उनले अझै तिरिसकेकी छैनन्। ‘ऋणको भारीले डुबेकी केटीसँग त अब बिहे पनि कसैले गर्दैन होला’, लामो हाँसोसहित उनले मनको पीडा पनि पोखिहालिन्।
हिमालको काखमै जन्मेका हामी नेपालीमध्ये हरेकले जीवनमा एकपटक हिमाल चढ्नुपर्छ भन्ने पूर्णिमाको बोली नै जाज्वल्यमान छ। मनासलु हिमालको चुचुरोबाट क्यामराको फ्ल्यास झिलिक्क पारेझैं अब सगरमाथाको चुचुरोबाट क्यामराको फ्ल्यास झिलिक्क पार्ने मन छ उनलाई। नतुहियोस् पूर्णिमाको यो सपना।
प्रतिक्रिया दिनुहोस !