एमिलीको प्रेममा सुवासचन्द्र बोस
‘भविष्यमा के हुन्छ, मलाई थाहा छैन। पूरै जीवन जेलमा सड्न पनि सक्छ। मलाई गोली दागिन पनि सक्छ, फाँसीमा झुन्ड्याइन पनि सक्छ। तिमीलाई अब कहिल्यै देख्न नपाउन पनि सक्छु। तिम्रो लागि कहिल्यै पत्र लेख्न नपाउन पनि सक्छु। तर, विश्वास गर, तिमी हरेक पल मेरो दिलमा हुनेछौ।’
ब्रिटिस साम्राज्यविरुद्ध आन्दोलन गर्ने क्रममा सन् १९३४ मा सुवासचन्द्र बोस जेल परे। जेलमै उनी बिरामी भए। उपचारका लागि अस्ट्रियाको राजधानी भियना लगियो। भारतीय कांग्रेसमा आबद्ध उनलाई ब्रिटिसले उपचारका लागि अनुमती दिए पनि खर्चको जोहो भने बोस आफंैले बेहोरेका थिए।
उपचारपश्चात् युरोपमा रहेका भारतीय विद्यार्थीलाई स्वतन्त्रताको लडाइँका लागि एकजुट गर्ने मनस्थितिमा पुगे बोस। उनी किताब लेख्ने योजनामा एक युरोपियन प्रकाशकलाई भेट्न गए। प्रकाशकले सहयोग गर्ने भयो। त्यसका लागि उनलाई एकजना अंग्रेजी टाइप गर्न जान्ने मान्छेको आवश्यकता पर्यो।
केही व्यक्तिसँग उनले आफ्नो कामका लागि अन्तर्वार्ता लिए। तर, बोसलाई मन परेन। अन्तिममा एक युवती अन्तर्वार्ता दिन आइन्। २३ वर्षीया अस्ट्रियाली ती युवतीको नाम थियो एमिली। उनी छनोट भइन्। त्यस बेला बोस ३७ वर्षका थिए। उनी अंग्रेजबाट भारतलाई मुक्त गर्ने अभियानमा थिए। त्यसभन्दा अगाडि कुनै प्रेम सम्बन्धमा नपरेका बोस अनायासै एमिलीको प्रेममा पर्न थाले।
सुवासका दाइ शरत्चन्द्र बोस हुन्। उनका नाति सुगत बोसले सुवासचन्द्रको जीवनबारे ‘हिज, म्याजेस्टी अपोनेन्ट–सुवासचन्द्र बोस एन्ड इन्डियाज स्ट्रगल अगेन्स्ट इम्पायर’ लेखेका छन्। उक्त पुस्तकमा उल्लेख भएअनुसार एमिलीसँगको भेटपछि सुवासको जीवनमा नाटकीय परिवर्तन आयो। त्यसभन्दा अगाडि सुवासलाई कैयौं प्रेम प्रस्ताव नआएको भने होइन। तर, उनले चासो देखाएका थिएनन्। एमिलीको सुन्दरतामा भने सुवास पग्लिए।
सन् १९३४ देखि १९३६ सम्म बोस भियना र चेकोस्लोभाकिया बसे। त्यस बेला ती दुईको बीचमा सुमधुर सम्बन्ध रह्यो। सुरुमा एमिलीको परिवारले बोसलाई इन्डियन भनेर अस्वीकार गर्यो। तर, जब प्रत्यक्ष भेटे, बोसको व्यक्तित्व देखेर एमिलीको परिवार सकारात्मक हुन पुग्यो।
बोस आफ्नो पहिचान लुकाएर स्वतन्त्रताका लागि सहयोग जुटाइरहेका थिए। एमिलीलाई पर्याप्त समय दिन सकिरहेका थिएनन्। त्यस बेला बोस एमिलीलाई चिठी लेख्थे। बोस लेख्थे, ‘मेरी प्रिया, समय आएपछि हिमपर्वत पनि पग्लिन्छ। यस्तो भावना मेरो मनभित्र छ। म तिमीलाई धेरै माया गर्छु, यो भन्न केही लेख्न खोज्छु, तर सक्दिनँ। मेरी प्रिया, तिमी मेरी दिलकी रानी हौ। तर, के तिमी मलाई माया गर्छौ ? ’
बोसले लेखेका छन्, ‘भविष्यमा के हुन्छ, मलाई थाहा छैन। पूरै जीवन जेलमा सड्न पनि सक्छ। मलाई गोली दागिन पनि सक्छ, फाँसीमा झुन्ड्याइन पनि सक्छ। तिमीलाई अब कहिल्यै देख्न नपाउन पनि सक्छु। तिम्रो लागि कहिल्यै पत्र लेख्न नपाउन पनि सक्छु। तर, विश्वास गर, तिमी हरेकपल मेरो दिलमा हुनेछौ। मेरो सोच र सपनामा हुनेछौ। हामी यो जीवनमा भेटेनौं भने अर्को जुनीमा म तिम्रो साथ रहनेछु।’ अन्तमा सुवासले लेखेका छन्, ‘म तिमीभित्रको स्त्रीत्वलाई माया गर्छु। तिम्रो आत्मालाई माया गर्छु। तिमी पहिलो युवती हौ, जसलाई मैले माया गरेँ।’ पत्रको अन्तिममा सुवासले चिठीलाई नष्ट गरिदिनु भनेका थिए। तर, एमिलीले त्यसलाई सम्हालेर राखिन्।
यसरी एमिलीलाई निकै माया गर्थे सुवास। यसबारेमा बोसका घनिष्ठ मित्र एसियन नाबियारले सुगत बोसलाई बताएका थिए, ‘सुवासको ध्यान भारतलाई स्वतन्त्रता दिलाउनेमा थियो। एमिलीलाई माया गर्नु मात्र उनको झुकावजस्तो देखिन्थ्यो। बोस एमिलीलाई औधी प्रेम गर्थे।’
सुवासको मनोदशा त्यस बेला कस्तो थियो भन्नेबारे सन् १९३७ अप्रिलमा एमिलीलाई पठाएको पत्रबाट थाहा हुन्छ। क्यापिटल अक्षरमा लेखेको पत्रमा उनले लेखेका छन्, ‘पछिल्ला केही दिनदेखि तिमीलाई केही लेखौं भनेर सोच्दै थिएँ। तर, तिमी बुझ्न सक्छौ, कति मुस्किल छ मलाई, तिम्रो बारेमा मेरो मनोभाव लेख्न। म तिमीलाई यति भन्न चाहन्छु कि ‘पहिले जस्तो थिएँ, अहिले पनि त्यस्तै छु।’
‘तिम्रो बारेमा नसोचेको कुनै दिन छैन। तिमी हरदम मेरो साथैमा छौ। म अरू कसैको बारेमा सोच्न पनि सक्दिनँ। यी दिनहरूमा कति दुःखी भएँ, तिमीलाई भन्न सक्दिनँ। एक्लोपन महसुस भइरह्यो। मलाई केवल एउटै चिजले खुसी राख्न सक्छ। तर, म जान्दिनँ के त्यो सम्भव हुन सक्छ ?
केही समयको प्रेमसम्बन्धपछि उनीहरूले सन् १९३७ डिसेम्बर २६ मा एमिलीको २७औं जन्मदिनको दिन अस्ट्रियाको बादगास्तिनमा बिहे गरे। भारतीय परम्पराअनुसार बिहे सम्पन्न भएको थियो। उनीहरूले आफ्नो बिहेलाई गोप्य राखे। गोप्य राख्नुको कारण आफ्नो राजनीतिक जीवनमा असर नपरोस् भन्ने थियो। कुनै विदेशी महिलासँग बिहे गरेको भन्ने खबरले उनको छविमा असर पर्न सक्थ्यो।
शरत्चन्द्र बोसका बुहारी कृष्णा बोसले सुवास र एमिलीको प्रेम कहानीमाथि ‘ए ट्रु लभ स्टोरी–एमिली एन्ड सुवास’ लेखेकी छन्। सो पुस्तकमा सुवास र एमिलीको प्रेमसम्बन्धका बारेमा रोचक विवरण छ। उनले लेखेकी छन्, ‘सुवास एमिलीलाई मायाले बघिनी भनेर बोलाउँथे।’
कृष्णा बोसका अनुसार सुवास भारतबाट प्रकाशित हुने पत्रिकाका लागि एमिलीले केही रिपोर्ट भियनाबाट लेखून् भन्ने चाहन्थे। सुवासले भनेपछि एमिलीले ‘द हिन्दु’ र ‘मोडर्न रिभ्यु’का लागि केही लेख लेखेकी थिइन्। तर, त्यो लेख छापिन सजिलो थिएन। सुवास एमिलीलाई भन्थे, ‘तिम्रो लेख ठीक थिएन। त्यसैले उनीहरूले छापेनन्।’
सन् १९३७ अगस्टमा सुवासले एमिलीलाई अर्को पत्र लेखे। उनले पत्रमा लेखेका छन्, ‘तिमीले भारतका बारेमा केही किताब मगाएका रहेछौ। तर, यो किताब तिमीलाई पठाउनुको कुनै अर्थ देख्दिनँ। किनकि तिमीले आफूसँग भएका किताब पनि पढेका छैनौ। जबसम्म तिमी गम्भीर हुँदैनौ तबसम्म पढाइमा तिम्रो ध्यान जानेछैन। भियनामा तिमीसँग धेरै विषयका किताबहरू छन्। तर, मलाई थाहा छ, ती किताबहरू तिमीले एकपटक पनि पल्टाएकी छैनौ।’ उनीहरूबीचको प्रेम र वैवाहिक सम्बन्ध सन् १९३४ देखि १९४५ सम्म रह्यो। १२ वर्षमा उनीहरू मुस्किलले तीन वर्षमात्रै सँगै बसे।
यी दुईको प्रेमको निशानीस्वरूप सन् १९४२ नोभेम्बर २९ मा एउटी छोरी अनिता बोस फाफको जन्म भयो। सुवास छोरीलाई सन् १९४२ मै भेट्न भियना गए। श्रीमती र छोरीलाई भेटेर सुवास आफ्नो मिसनमा लागे। त्यसपछि उनी कहिल्यै फर्केनन्।
सन् १९४५ अगस्ट १८ मा उनी यात्रारत जापानी विमान दुर्घटना हुँदा उनको मृत्यु भयो तर सँगै यात्रा गरेका जापानी अधिकृत भने बाँचे। दोस्रो विश्वयुद्धको उत्तराद्र्धमा भएको उनको मृत्यु स्वाभाविक नभई षड्यन्त्र भएको पनि बताइन्छ। उनको मृत्यु आजसम्म पनि रहस्यमय छ।
एमिली सुवासको सम्झनाको सहारामा सन् १९९६ सम्म जीवित रहिन्। यति लामो समय उनी एक्लै बसिन्। सुवासचन्द्र बोसको परिवारले दिन चाहेको सहयोग अस्वीकार गरिन्। प्रेमको निशानी छोरी अनितालाई पालनपोषण गरेर जर्मनीको प्रसिद्ध अर्थशास्त्री बनाइन्।
बीबीसी÷हिन्दीबाट
प्रतिक्रिया दिनुहोस !