अन्‍नपूर्ण राउन्ड टेबल : समयमै पहिचानले क्यान्सर निको हुन्छ

अन्‍नपूर्ण राउन्ड टेबल : समयमै पहिचानले क्यान्सर निको हुन्छ

सुरुमै पहिचानले क्यान्सर निको हुन्छसुरुवातमै पहिचान गर्न सके क्यान्सर उपचार सम्भव हुन सक्छ। यसका लागि जनचेतना हुन आवश्यक छ। साथै समयमै परीक्षणका लागि सरोकारवाला निकायबीच सहकार्य र समन्वयको खाँचो देखिन्छ। अन्नपूर्ण पोस्ट्ले १९ माघ (शुक्रबार) मा हरेक वर्ष ४ फेब्रुअरीमा मनाइने विश्व क्यान्सर दिवसको छेको पारेर मुलुकका प्रतिष्ठित क्यान्सरविशेषज्ञहरू, सरकारी पदाधिकारी र सामाजिक उत्तरदायित्व बहन गर्ने सरोकारवाला निकायबीच क्यान्सरविरुद्धको जागरण, रोकथाम, औषधोपचारलगायतका विषयमा राउन्ड टेबल आयोजना गरेको थियो।

शनिबार अन्नपूर्ण मिडिया नेटवर्कले पनि क्यान्सरविरुद्धको जागरणका लागि साइकल र्‍याली आयोजना गरेको थियो। राउन्ड टेबलमा अन्नपूर्णका सम्पादक राजाराम गौतमले परिचयात्मक विवरणसहित अतिथिहरूलाई स्वागत गरेका थिए। क्यान्सर केयर फाउन्डेसनकी महासचिव डा. सरिता घिमिरेले कार्यक्रम सहजीकरण गरेकी थिइन्।


नयाँ नीतिको आवश्यकता

प्रा.डा. श्रीकृष्ण गिरी

प्रमुख, नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा

स्वास्थ्य मन्त्रालय                    

हामी राजनीतिक परिवर्तनको चरणमा छौं। एकात्मक शासन प्रणालीबाट संघीयतामा जाँदा जनताका अधिकार, सेवा र पहुँच जनताका घरदैलोमा पुग्दैछ। स्वास्थ्य सेवा पनि तल्लो तहमा पुर्‍याउन परिवर्तनको अवस्थामा छौं। स्थानीय निकाय स्थानीय सरकारमा रूपान्तरण भएको छ। क्यान्सरको लाग्नै नदिनेदेखि उपचारका विभिन्न तह (प्रिभेन्टिभ, प्रोमोटिभ, क्युरेटिभ, रिहाबिलेटिभ र प्यालिएटिभ) लाई सरकारको तहअनुसारको जिम्मेवारी विभाजन गरिएको छ। उपचारको हिसाबले सर्जिकल (शल्यक्रिया), केमोथेरापी, रेडियोथेरापीबाहेकका सामान्य सेवाहरू जस्तै– जनचेतना र क्यान्सर स्क्रिनिङ वडातहमा रहने सामुदायिक स्वास्थ्य एकाइबाट सुरु हुन्छ।

अहिले तीन किसिमका अस्पतालको परिकल्पना गरिएको छ। प्राथमिक तहका (प्राइमरी) अस्पताल स्थानीय सरकारअन्तर्गत पर्छन्। संघीय प्रणालीअन्तर्गत सेकेन्डरी अस्पताल पर्छन्। विशेषज्ञ सेवा दिने टर्सियरी अस्पताल केन्द्रीय प्रणालीअन्तर्गत पर्छन्। प्रत्येक प्रदेशमा प्रान्तीय एकेडेमी हुन्छन्। तलदेखि माथिल्लो तहसम्म सबै खालको स्वास्थ्य सेवा प्रवाहलाई समेटिएको छ। अब स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवा विशेषज्ञताको हिसाबले वर्गीकरण गरिनेछ, शड्ढया संख्याका आधारमा होइन, अब वडा तहदेखि नै क्यान्सरविरुद्धका कार्यक्रम हुन्छन्। स्वास्थ्य, सूचना, शिक्षाका कार्यक्रममा यी समेटिनेछन्।

सरकारले क्यान्सरका बिरामीका लागि एक लाख रुपैयाँसम्म उपचारका लागि सहुलियत सेवा दिइरहेको छ। बिरामीलाई सेवा दिने संस्थालाई यो रकम दिने गरिएको छ, व्यक्तिलाई होइन। क्यान्सरका बिरामीले खरिद गर्ने औषधिको मूल्य अत्यधिक रहेको गुनासो आएका छन्। क्यान्सरका कुनैकुनै औषधि त दुई हजार प्रतिशत महँगो भएको भन्ने जानकारीमा आएको छ। क्यान्सरलगायत ९० वटा औषधिको पनि मूल्य निर्धारण गरिएको छ। बिरामीलाई दिइने रकम बढाउँदै जानेभन्दा क्यान्सरका बिरामीलाई सेवा पुर्‍याउने स्वास्थ्य संस्थालाई सक्षम र गुणस्तरीय गराउन आवश्यक छ। भौगोलिक र आर्थिक रूपमा क्यान्सरका बिरामीको उपचारमा पहुँच हुनुपर्छ। गुणस्तरीय सेवा पहुँचयोग्य र स्वीकारयोग्य हुनुपर्छ। जनताको पहुँच पुग्दैन भने गुणस्तरीय सेवाले काम गर्दैन।

क्यान्सरका कतिपय विषयहरू आधारभूत स्वास्थ्य सेवामा पनि पर्छन्। संविधानले आधारभूत स्वास्थ्यलाई जनताको अधिकार भनेको छ। आधारभूत स्वास्थ्य सेवाका लागि सरकार जिम्मेवार छ। एकीकृत हिसाबले कार्य गर्नुपर्छ। अबको स्वास्थ्य नीतिमा अनुसन्धान, सेवा र प्राज्ञिक गरी तीन क्षेत्रलाई एकसाथ अघि बढाउनुपर्छ। यसका लागि नीति निर्माण गर्नु जरुरी छ। अरूको नीति नक्कल गर्ने होइन, आवश्यकतामा आधारित नीति हुनुपर्छ। एकीकृतरूपमा यी पक्ष माथिल्लो तहसम्म आउन जरुरी छ। यही दृष्टिकोणका साथ सबै सरोकारवाला निकायसँग अन्तक्रिया गरिरहेका छौं।


केन्द्रीय स्तरमा केमोथेरापी सेन्टर

डा. प्रकाशराज न्यौपाने

अध्यक्ष, बीपी कोइराला स्मृति क्यान्सर अस्पताल, भरतपुर

अहिले क्यान्सर उपचारमा जनशक्ति र उपचारका लागि अस्पतालको संख्या बढेको छ। हरेक वर्ष दसदेखि पन्ध्र प्रतिशत क्यान्सरका बिरामीहरू बढिरहेका छन्। हरेक अस्पतालमा उपचारका लागि पुगेका बिरामीको संख्या हेर्ने हो भने पनि क्यान्सर रोगीको संख्या बढेको स्पष्ट देख्न सकिन्छ। विगतमा हामीले नेपालमा क्यान्सर लागेकाको तथ्यांक भारतको उत्तरप्रदेश, विहार र चीनको तिब्बतको संख्यालाई आधार मानेर निकालिन्थ्यो। तर अहिले आफ्नै तथ्यांक छ। यो सुखद पक्ष हो। बालबालिका र प्रौढहरू पनि क्यान्सरबाट पीडित भइरहेका छन्। क्यान्सर सेन्टरहरू पनि बढ्दै छन्।

क्यान्सर उपचारका लागि दुईवटा मोडल विश्वमा प्रचलित छन्। हामी कुन मोडलमा जाने भन्ने तय हुन सकेको छैन। बेलायती मोडलअनुसार क्यान्सर एक्लो रोग होइन, अन्य रोगभित्रको एउटा रोग हो। क्यान्सर भएका बिरामीलाई अन्य रोग पनि लाग्छ। केमोथेरापीले बिरामी मर्दैनन्, साइड इफेक्टले मर्ने हुन्। संक्रमण नियन्त्रण नभएर र रगत नपाएर बिरामी मर्ने हुन्। बृहत्रूपमा अस्पतालको स्तरोन्नति नगरी क्यान्सर मात्रको उपचारले समस्याको समाधान हुँदैन। सुविधासम्पन्न अस्पतालमा क्यान्सर युनिट राख्ने बेलायती मोडल हो। तर अमेरिकी मोडलमा क्यान्सरका लागि छुट्टै अस्पताल बनाउने भन्ने छ। यी दुवै मोडलमा कमीकमजोरी छन्। अहिले तेस्रो मोडलका रूपमा क्यान्सर अस्पताल सँगसँगै अर्को ठूलो स्वास्थ्य संस्था हुनुपर्छ भन्ने रहेको छ। यो मोडल अहिले बढी प्रभावकारी देखिएको छ। भरतपुरमा क्यान्सरको उपचार गर्दा मिर्गौला फेल भयो वा मुटुको समस्या भयो भने काठमाडौं पठाउनु पथ्र्यो। अब त्यो अवस्था छैन चितवनमा राम्रा अस्पतालहरू भएकाले।

विश्व स्वास्थ्य संगठनले सबैले उपचार पाऊन् भन्ने नारा तय गरेको छ। यसमा वाधक भनेको खर्च गर्न सक्ने क्षमता नै हो। खर्च गर्न सक्ने क्षमता छैन भने सबैले उपचार पाउनुपर्छ भन्ने नारा खोक्रो बन्न पुग्छ। सरकारले विपन्न नागरिकलाई गरेको उपचार व्यवस्था र क्यान्सरका बिरामीलाई भित्ता दिने व्यवस्था स्वागतयोग्य नै हो। तर बिरामीलाई एक लाख उपचार व्यवस्था वा पाँच हजार भत्ता दिएर राहत हुँदैन। स्वास्थ्य संस्थाहरू बलियो नभएसम्म सरकारको यो नीतिले काम गर्दैन। त्यसको सट्टा स्वास्थ्य संस्थाहरूलाई बलियो बनाएर यो नीति हटाउनुपर्छ। क्यान्सरका लागि गरिने अप्रेसन खासै महँगो छैन। सरकारी र निजीमा लिइने मूल्यमा खासै फरक पनि छैन। केमोथेरापी महँगो छ। यो महँगो औषधि सरकारी नीतिले गराएको हो। विदेशमा एक डलर पनि नलाग्ने औषधिलाई नेपालमा पाँच/छ डलर तिर्नुपर्छ। केमोथेरापीलाई सस्तो बनायौं भने बिरामीले उपचारमा खर्च गर्न सक्छन्। त्यसका लागि सरकारले केन्द्रीयस्तरमा केमोथेरापी सप्लाइ सेन्टर खोल्नुपर्छ। सरकारले औषधिको मूल्यमा एकरूपता कायम गर्नुपर्छ। अन्तर्राष्ट्रिय रूपमा केमोथेरापी सेन्टरहरूसँग सम्झौता गरी करमा छुट दिने हो भने औषधि सस्तो हुन्छ। बिरामीले औषधिमा खर्च गर्न सक्ने पहुँच राख्छन्। सरकारले क्यान्सर उपचारमा उपयोग गरिने ठूला र महँगा मेसिन खरिद गर्ने र त्यसबाट मुनाफा लिन नपाइने व्यवस्था हुनुपर्छ। सेवा शुल्क लिने तर मेसिनबाट नाफा गर्न नहुने व्यवस्था गर्दा उपयुक्त हुन्छ। उपकरण खरिद गर्दा झन्झटिलो हुनु हुँदैन। यसलाई फास्ट ट्र्याकबाट खरिद गर्न सकिने व्यवस्था गर्नुपर्छ। धेरै कुरामा सुधारको खाँचो छ। सबै सरोकारवाला निकायका साथै नीति निर्माण तहमा पनि समन्वय गर्न जरुरी छ।


हरेश खाएका छैनौं

डा. गणेशकुमार राई

निर्देशक, कान्ति बालअस्पताल

विभिन्न कठिनाइ व्यहोर्नुपरे पनि कान्ति बालअस्पताल देशभरबाट आउने क्यान्सर प्रभावित बालबालिकालाई सरल र सहजरूपमा उपचार व्यवस्था मिलाउन प्रयत्नशील छ। आर्थिक र सामाजिक रूपले पिछडिएका क्षेत्रबाट आएका क्यान्सरपीडित बालबालिका पनि उपचारका लागि आउने गर्छन्। उनीहरूका अभिभावकसँग उपचारका लागि पैसासमेत हँदैन। सरकारले दिने सेवा सुविधाबाहेक स्वास्थ्य कर कोषबाट पनि अस्पताललाई रकम आउँछ। त्यसबाट पनि हामीले बिरामीलाई उपचारका लागि सहयोग गरिरहेका छौं। सामाजिक सेवा एकाइबाट पनि सहयोग गर्ने कार्य भइरहेको छ। विदेशी दाताले दिएको रकम पनि कोषमा जम्मा गरेका छौं। त्यसबाट आएको ब्याजले पनि बिरामीलाई सहयोग गरिरहेका छौं। आउँदो केही समयका लागि बिरामीलाई सहयोग गर्न त्यति गाह्रो हुँदैन।

यस अस्पतालमा जनशक्तिको समस्या छ। अहिले कार्यरत चिकित्सकहरू अवकाश पाएपछि के गर्ने समस्या छ। नर्सहरूलाई औपचारिक तालिम दिन सकिएको छैन। चिकित्सकहरूमा उपचार पद्धतिबारेमा एकरूपता छैन। केमोथेरापी दिएपछि बिरामीलाई छुट्टै कहाँ राख्नेलगायतका पक्षमा पनि ध्यान दिनुपर्छ। बिरामीमा संक्रमण हुने डर हुन्छ। संक्रमण नियन्त्रण गर्ने संयन्त्र प्रभावकारी छैन। केमोथेरापी दिएका बिरामीलाई राति रक्तस्राव हुँदा प्लेटलेट्स चाहिन्छ। कान्ति अस्पतालमा ब्लड बैंक भए पनि स्टाफको कमीले गर्दा राति सेवा दिन सकेका छैनौं। रातको समयमा रगत खोज्न कुद्नुपर्छ, तर पनि हरेस खाएका छैनौं।

क्यान्सरका बिरामीका लागि बेड संख्या २६ पुर्‍याएका छौं। डे केयर सेन्टर पनि सञ्चालन गरेका छौं। दुर्गमबाट आएका बिरामीलाई कहाँ बसाउने भन्ने समस्या छ। उनीहरूलाई उपचारको मात्र होइन, यहाँ खान बस्नसमेत समस्या हुन्छ। भरतपुरबाट समेत बिरामी बालबालिका यहाँ उपचार गर्न आउने गरेका छन्। यी सबै पक्षको व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ।


रोकथाममा ध्यान दिऊँ

प्रा.डा. जगदिश अग्रवाल

चिकित्साशास्त्र अध्ययन संस्थान

सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको निर्माण कार्य सकिन लागेको छ। आशा गरौं, आगामी वर्षदेखि उपचार सेवा सुरु हुनेछ। शल्यक्रिया (सर्जरी), केमोथेरापी, रेडियोथेरापीलगायतका सेवासुविधा उपलब्ध हुने राम्रो अस्पताल बन्नेछ।

उपचारका साथै प्राज्ञिक दृष्टिकोणले पनि विभिन्न समस्या छन्। ती समस्यालाई पनि बेलैमा सम्बोधन गर्नुपर्छ, अन्यथा यी समस्या पनि पछि क्यान्सरजस्तै हुन सक्छन्। नसर्ने रोगहरूमध्ये क्यान्सरले ठूलो समस्या पारिरहेको छ। त्यो चाँडै पहिचान हुन नसकेर हो। छिटो पहिचान गर्न सकेमा निको हुने सम्भावना बढी हुन्छ। पर्याप्त जनचेतना नहुँदा पनि बिरामी आफैं ढिलो उपचार गर्न आउँछन्। बिरामीको परीक्षण पनि ढिलो हुने गरेको छ। ढिलो रोग पत्ता लाग्नुमा दक्षताको कमी मुख्य कारण हो। दक्षताको कमी गुणस्तरीय शिक्षाको अभावमा हुन्छ। त्यसैले जबसम्म गुणस्तरीय शिक्षा हुँदैन, डाक्टरमा दक्षता हुँदैन। त्यसको भागीदार हामी होउँला, तर त्यसका पछाडि विभिन्न कारण छन्। चिकित्सकहरूलाई विशेष तालिम दिनुपर्छ। त्यस्तै भौतिक पूर्वाधार पनि राम्रो हुनुपर्छ। उपचारभन्दा पनि रोकथाममा जोड दिनुपर्छ। यसका लागि सञ्चारमाध्यम र सरकारको ठूलो भूमिका रहन्छ।

क्यान्सर गराउन सक्ने पदार्थको उपभोग बढिरहेको छ। यो चिन्ताको विषय हो। विद्यालयस्तरीय पाठ्यक्रममा पनि यी विषयलाई समावेश गरिनुपर्छ। सरकार, शैक्षिक संस्थाहरू र अन्य सरोकारवाला निकायबीच हातेमालो गरी अघि बढ्नुपर्ने खाँचो छ।


सातै प्रदेशमा क्यान्सर सेन्टर आवश्यक

डा. आरती शाह

रेडियसन अंकोलोजिस्ट

क्यान्सरमा उपचारका लागि सामान्यतः तीनवटा विधा सर्जरी, रेडियोथेरापी र केमोथेरापी नै हुन्। नेपालका क्यान्सर अस्पताल र अन्य ठूला अस्पतालहरूमा शल्यक्रिया (सर्जरी) को उपचार व्यवस्था छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल मात्र होइन, अन्य निजी अस्पतालहरूमा पनि सर्जरीको सुविधा छ। तर, बाँकी दुई विधा रेडियोथेरापी र केमोथेरापीमा समस्या छ। रेडियसन अंकोलोजी र केमोथेरापीमा कमीकमजोरी छन्। भौतिक पूर्वाधार, उपकरण पर्याप्त मात्रामा नहुँदा नेपालमै उपचार गर्छु भन्ने बिरामीलाई पनि सुविधासम्पन्न ठाउँमा रिफर गर्नुपर्ने स्थिति अहिले पनि छ। वीर अस्पतालमा रेडियोथेरापी उपकरण नभएका कारण रेडियसनका लागि रिफर गर्नुपर्ने हुन्छ। जनसंख्याको हिसाबले भौतिक पूर्वाधार र उपकरणमा अपुग नै छ।

पूर्वाधार र उपकरण मात्र होइन, नयाँ क्यान्सर सेन्टरको पनि स्थापना गर्नुपर्ने टड्कारो छ। जुम्ला, हुम्लाका बिरामीलाई काठमाडौं र चितवन होइन, त्यहीं पायक पर्ने क्षेत्रमै क्यान्सर सेन्टर स्थापना गर्नुपर्छ। संघीयताअनुसार अहिले सातवटै प्रदेशमा कम्तीमा एक/एकवटा क्यान्सर सेन्टर स्थापना हुनुपर्छ। क्यान्सर रोगको पहिचानदेखि उपचार गर्नेसम्मको व्यवस्था ती सेन्टरबाट हुनुपर्छ।


स्वास्थ्य बिमाको दायरा बढाऔं

डा. प्रकाशनिधि तिवारी

प्रमुख कन्सल्टेन्ट बालक्यान्सर विशेषज्ञ

कान्ति बालअस्पताल

बालबालिकाको वर्तमान सुखमय र सिर्जनशील बनायौं भने मात्र मुलुकको भविष्य उज्ज्वल बन्छ। बालबालिकाले आफ्नो आवश्यकताबारे उल्लेख गर्न नसक्ने भएकाले बयस्कहरूले बोलिदिनुपर्ने हुन्छ।

कुपोषण, निमोनिया र झाडापखाला मात्र होइन, नसर्ने रोगमा कम ध्यान दिएजस्तो लाग्छ। परिवारमा बच्चालाई क्यान्सर हुँदा पूरै परिवार तहसनहस हुन्छ। बालबालिकामा लाग्ने धेरैजसो क्यान्सर उपचारपछि निको हुन्छ। पहिला धेरै बालबालिका क्यान्सरको पहिचान नभएरै मर्थे। गत वर्ष मात्र तीन सयभन्दा बढी क्यान्सर भएका बालबालिकालाई कान्ति अस्पतालमा उपचार गर्‍यौं।

प्रत्येक वर्ष बालबालिकामा नयाँ क्यान्सर देखिन्छन्, तर उनीहरूले उपचार नपाएरै बस्नुपर्ने अवस्था छ। कतिपय अस्पताल आउनै पाउँदैनन्। सामाजिक भार बढेको छ। छिटो पहिचान गर्न सकियो भने बालबालिकामा हुने क्यान्सर झन्डै ८५ प्रतिशत निको हुन्छ। सुरुमै पहिचान गर्न सके औषधि खर्च पनि थोरै लाग्छ। ब्लड क्यान्सरका बिरामी कान्ति अस्पतालमा धेरै आउने गरेका छन्।

क्यान्सरको उपचारमा मल्टिमोडालिटी अपनाउनुपर्छ। पहिचान र उपचारको व्यवस्थाका लागि साधनस्रोत जुटाउनुपर्ने खाँचो छ। बेलाबेलामा अनुसन्धान पनि हुनुपर्छ। क्यान्सर पहिचानका नयाँ तरिका, नयाँ प्रविधि उपयोगमा ल्याउनुपर्छ। औषधि खर्च जुटाउन नसक्नेहरू धेरै हुन्छन्।

सरकारले अघि सारेको आधारभूत स्वास्थ्य बिमाको दायरा फराकिलो बनाउनुपर्छ। तीनदेखि पाँच लाखसम्मलाई समेट्ने गरी नसर्ने रोगको लागि पनि स्वास्थ्य बिमा कार्यक्रम ल्याउनुपर्छ। त्यस्तै प्रदूषण उत्पन्न गर्ने सवारी साधनका कारण पनि क्यान्सर उत्पन्न हुने खतरा हुन्छ। उनीहरूलाई दायित्वबोध गराउँदै कर उठाई क्यान्सरको पहिचान र उपचारमा लगाउन सकिन्छ।


सहयोग गर्न इच्छुक

अनिल शर्मा

सचिव, नेपाल बैंकर्स एसोसिएसन

क्यान्सर क्षेत्रमा जनचेतना जगाउन बैंकिङ क्षेत्रले सहयोग गर्न सक्छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकहरूले शिक्षामा लगानी गरिरहेका छन्। क्यान्सर क्षेत्रमा भने ध्यान गएजस्तो लाग्दैन। सरोकारवाला निकायसँग प्याकेज कार्यक्रमका रूपमा जनचेतना फैलाउन दूरदराजमा जान सकिन्छ। क्यान्सर क्षेत्रमा केकसरी सहयोग गर्न सकिन्छ, त्यसका लागि वाणिज्य बैंकहरूको तर्फबाट हामी सधैं तयार छौं।


रोकथामको उत्तम उपाय नै जनचेतना

भवानी राणा

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

क्यान्सरले जुनसुकै उमेरका मानिसलाई पनि प्रभावित गरिरहेको छ। समयमै उपचार गरे निको हुने भए पनि ढिलो मात्र स्वास्थ्य संस्थामा जाने प्रवृत्तिले धेरैजना अल्पायुमै ज्यान गुमाउन बाध्य छन्। यो रोगको रोकथामको पहिलो र सबैभन्दा उत्तम उपाय नै जनचेतना हो।

नेपाल उद्योग वाणिज्य संघभित्र पनि सामाजिक कल्याण हेर्ने समिति छ। यो समिति केन्द्रमा मात्र नभएर जिल्लास्तरसम्म फैलिएको छ। यस समितिमार्फत विभिन्न रोगका बारेमा दुरदराजका गाउँमा समेत गएर जनचेतना जगाउने गरेका छौं। महासंघबाट यस विषयमा अझ केके गर्न सकिन्छ थप अध्ययन भइरहेको छ। यो रोगको विषयमा महासंघबाट गर्न सक्ने काम गर्न व्यक्तिगत रूपमा पनि म तयार छु। क्यान्सर रोगको विरुद्धमा विभिन्न अभियान हुने गरेका छन्। यो रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्छ।

स्वस्थ जीवनशैली अपनाउन सके हामी सहजै कुनै पनि रोगविरुद्ध लड्न सक्छौं। पछिल्लो समय मानिसको बानीव्यहोरा र जीवनशैलीमा परिवर्तन आएको छ। वातावरण स्वच्छ छैन, धुलो धुवाँ र प्रदूषण छ। पिउने पानी पनि स्वच्छ छैन। यी सबै रोगका कारक हुन्।

पहिला प्रायः खाद्यान अग्र्यानिक हुन्थे। वातावरण स्वस्थ थियो। अहिले खाद्यान्नमा विषादि प्रयोग भएको छ, स्वस्थ खाना त्यति पाइँदैन। जंक फुडको प्रयोग बढी हुन्छ। क्यान्सर मात्र नभएर अन्य रोगबाट बच्न पनि खानपानमा ध्यान दिनुपर्छ। हामीले क्यान्सरविरुद्धमा प्रतिबद्धता गरेर काम नगरे पनि बेलाबेलामा जनचेतना जगाउने काम भने गरिरहेको छौं। महासंघका जिल्ला कमिटीहरूले सीएसआर (व्यवसायीका सामाजिक उत्तरदायित्व) अन्तर्गत यस विषयमा काम गरिरहेका छन्। हामी यस विषयमा जानकार नभए पनि प्राविधिकको सहयोगमा यसबारेमा जनचेतना जगाउने काम गर्दै आएका छौं। समयसमयमा विभिन्न हेल्थ क्याम्प पनि सञ्चालन गर्ने गरिएको छ।


समन्वयको खाँचो छ

सुशीलकुमार पन्त

अध्यक्ष नेपाल क्यान्सर केयर फाउन्डेसन

विगत तीन वर्षदेखि क्यान्सरका बिरामीलाई क्यान्सर केयर फाउन्डेसनमार्फत सेवा दिइरहेका छौं। अहिलेसम्म झन्डै नौ हजार पाठेघरको मुखको क्यान्सरका बिरामीले लाभ लिइसकेका छन्। पाठेघरको मुखमा औषधि राखेर गरिने भीआईए परीक्षण र एक प्रकारको दुरविनको सहयोगले गरिने कोलपोस्कोपी सेवा निःशुल्क गरिएको छ। विभिन्न जिल्लामा पुगेर सचेतना शिविर सञ्चालन गरेका छौं।

सरोकारवाला सबै निकायबीच समन्वय हुने हो भने क्यान्सर रोग लाग्नै नदिन र लागिसकेको छ भने पनि चाँडो पहिचान गरी निको पार्न सकिन्छ। साधारण जाँचले कमसेकम शरीरमा हुन सक्ने क्यान्सरबाट आफूलाई जोगाउन सकिन्छ। समयमै उपचार गर्दा धेरै दुःख र खर्चबिना नै क्यान्सरबाट जोगिन सकिन्छ।


सरकार नपुगेको ठाउँमा सहकार्य गर्न तयार छौं

डा. प्रकाश पौड्याल

मेडिकल निर्देशक, नेपाल नेसनल हस्पिटल

हाम्रो अस्पताल भर्खरै सञ्चालनमा आएको भए पनि क्यान्सरविरुद्ध जागरण कार्यक्रममा सहभागी भइरहेका छौं। क्यान्सरविरुद्धको जागरण साइकल र्‍यालीमा पनि सहभागी छौं। निजी क्षेत्रको अस्पताल भए पनि क्यान्सरका लागि हेमाटोलोजी सेवा सुरु गरेका छौं। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत जनचेतना प्रवाह गर्नेलगायतका कार्यक्रम गर्ने योजना बनाएका छौं।

निजी क्षेत्रका स्वास्थ्यप्रदायक संस्थाले क्यान्सरविरुद्ध के गर्न सकिन्छ ? कसरी योगदान गर्न सकिन्छ भन्नेबारेमा सरकारले प्रस्ट पारे योगदान गर्न तयार छौं। निजी क्षेत्रलाई नाफामुखीका रूपमा मात्र हेर्नुभएन। सामाजिक उत्तरदायित्व बहन गर्न चाहने निजी क्षेत्रलाई पनि समेट्न सकिन्छ। सरकार नपुगेको ठाउँमा योगदान गर्न हामी तयार छौं।


प्रदूषण कम गर्न साइकल

रत्नराम श्रेष्ठ

नेपाल साइकल सिटी

सवारी साधनको बढ्दो प्रयोग र त्यसबाट निस्कने विषाक्त धुवाँले वायु प्रदूषण बढेको छ। काठमाडौंको वायु प्रदूषणलाई क्यान्सरसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ। साइकल लेन भइदिएको भए धेरैले साइकल चढ्न रुचाउँथे।

सवारी साधनबाट धुवाँ निस्कने भएकाले साइकल लेन निर्माण गर्नुपर्छ। यसले क्यान्सर घटाउन उल्लेख्य सहयोग गर्न सक्ने तथ्यांकहरूले देखाएका छन्।

प्रस्तुति : दिनेश गौतम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.