कस्मेटोलोजिस्टको सल्लाह, यसरी हट्छ चाया
काठमाडौं : जाडो मौसममा कपालमा चाया परेर धेरैलाई हैरान पारेको हुन्छ। कपालमा चाया पर्नु ठूलो समस्या नभए पनि कपालमा टल्केर वा कुमतिर झरेर यसले धेरैलाई असहज महसुस गराउँछ।
सरसफाइमा ध्यान नदिने, तेल मालिस नगर्ने, कुनै औषधि सेवन गरिरहेको छ भने त्यसको साइड इफेक्टका कारण पनि कपालमा चाया पर्न सक्छ। टाउकोको छाला सुक्खा भएर पनि चाया पर्न सक्छ।
सुक्खा प्रकारको चाया कपाल कोर्दा आफैँ फुरफुर झर्छ यस्तो चाया हटाउन एन्टी डेन्ड्रफ स्याम्पू प्रयोग गर्न सकिन्छ। नरिवलको तेलले मसाज गर्दा पनि यस्तो खालको चाया हट्छ।
फेदमा टाँसिएर बस्ने चिल्लो प्रकारको चाया कपालका लागि दुश्मनसरह नै हो। यो कोट्याउँदा मात्र निस्कने खालको हुन्छ। यो सुक्खा चाया जस्तो फुरफुर उड्दैन। तर, यसले कपालको जरा वा फोलिकल्सलाई बन्द गरेर राखेको हुन्छ।
जसले गर्दा कपालको जरा नै मर्ने र कपाल झरेर तालुपना हुनसक्छ। यो प्रकारको चाया भएकाहरूले दिनहुँ नुहाउनुपर्छ। छालालाई सुक्खा बनाउनुुपर्छ। तोरी तेल लगाउँदा फाइदा हुन्छ। तोरीको तेल लगाएपछि नुहाउँदा कपाल तथा छाला सुक्खा हुने भएकाले यसबाट फाइदा हुन्छ। हप्तामा एक पटक डिप कन्डिसिङ गर्नुपर्छ।
–हेयर मास्क लगाएर चायाको समस्याबाट मुक्त हुन सकिन्छ। हेयर मास्कका लागि अमला, मेथी र सिकाकाई पाउडर प्रयोग गर्नुपर्छ।
–कागती, दही र तेल मिसाएर बनाइएको हेयर प्याक कपालमा लगाउनुपर्छ। १५–२० मिनेट राखेर सफा पानीले कपाल पखाल्नुपर्छ।
सोनी बैदार राजभण्डारी, कस्मेटोलोजिस्ट