निशुल्क उपचार पाएपछि स्थानीय दंग
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका-६ शंकरपुरकी ७० वर्षीया बिजु अवस्थी दमरोगले थलिएकी थिइन्। गाउँपालिकाकै केन्द्रमा दमको औषधि पाएपछि उनी निकै खुशी भइन्।उनले भनिन् ‘गाउँपालिकाले गाउँमै आयोजना गरेको शिविरमा निशुल्क अाैषधि पाइयो।विशेषज्ञ डाक्टरहरुको सल्लाह लिन पनि पाइयो।अब मलाई सञ्चो हुनेभयो।'
सुर्नया गाउँपालिकाकै-५ की मीना चन्दले पनि निशुल्क स्वास्थ्य शिविरमै स्वास्थ्य सेवा पाउँदा निकै खुसी लागेको बताइन्।उनले भनिन् ‘हाम्रै गाउँमा डाक्टरहरु आए।विशेषज्ञ डाक्टरको सल्लाह अनुसार औषधि पनि पाए। यसले मलाई ज्यादै खुसी लाग्यो।'
सुर्नया गाउँपालिका, रौलेश्वर पूर्व विद्यार्थी समाज र शुक्रपथ फाउन्डेसन काठमाडौंको सहयोगमा दुई दिन सोमबार र मंगलबार सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा २ हजार बढी नागरिकले सेवा लिएका छन्।
गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए। उनले भने ‘गाउँपालिकाले जनमैत्री कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौं।'
शिविरमा जनरल फिजिसियन सेवा, स्त्रीरोग सेवा, दन्त सेवा, नाक कान घाँटीरोग, ल्याव सेवालगायतका सेवाहरु प्रदान गरिएको शिविर संयोजक रीजन मडैले जानकारी दिए। सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनले बताए। उनले भने ‘हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्यता छन्। त्यस्ता नागरिकका लागि शिविरले सहयोग पुर्याएको हामीले महसुस गरेका छौं।'
शिविरमा गर्भवती महिलाले अल्ट्रासाउण्ड सेवा पनि लिएका थिए।'गर्भवती महिलाको बच्चाको अवस्था के छ भन्ने कुरा थाहा पाउन गाउँमै अल्ट्रासाउण्ड सेवा पायौं। यसले हामीजस्ता ग्रामीण क्षेत्रका महिलालाई सजिलो भयो।'सुर्नया- ६ शंकरपुरकी पार्वती अवस्थीले भनिन्,'अल्ट्रासाउण्ड गर्न हामीले जिल्ला अस्पताल अथवा डडेल्धुरा पुग्नुपथ्र्यो।गाउँमै अल्ट्रासाउण्ड सेवा पाएपछि सजिलो भयो।'
गाउँपालिकाले गाउँपालिकाभरीका नागरिकलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको भएपनि जिल्लाको अन्य ठाउँका नागरिक समेत उपचारका लागि शिविरमा पुगेका थिए।'अहिले हामीले दुई दिनका लागि मात्रै शिविर सञ्चालन गर्यौं।अबका दिनमा कम्तीमा ५ दिनसम्मको निशुल्क शिविर सञ्चालन गर्न सक्नुपर्छ। ताकि यताका नागरिकले सकेसम्म राम्रो उपचार पाउन सकून्।'गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भने, 'गाउँपालिकाले सकेसम्म यो क्षेत्रका नागरिकलाई सेवा दिने प्रयास गरिरहेको छ।'
गाउँपालिकाको केन्द्रमै स्वास्थ्य शिविरमार्फत सेवा पाएपछि स्थानीय नागरिक दंग भएका छन्। ‘हामीले शिविरमा सामान्य रोगको उपचार पनि पाएका छौं।चिकित्सको सल्लाह पनि पाएका छौं। यसले हामीलाई फाइदा भएको छ।'सुर्नया-७ का कमलबहादुर साउँदले भने, 'यस्ता कार्यक्रमहरुलाई गाउँपालिकाले अबको दिनमा निरन्तरता दिनुपर्छ।'
तस्बिर :भगीरथ अवस्थी