गाउँम २४ सै घन्टा प्रसूति सेवा
कुश्मा : पर्वतको महाशिला गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा २४ सै घन्टा गर्भवती र सुत्केरी सेवा सुरु भएको छ। ६ वटै वडाका स्वास्थ्य चौकीमा यो सेवा नियमित सञ्चालन गर्न थालिएको हो। वडा नम्बर ५ को लुंखुदेउरालीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि सेवा सञ्चालित भए पनि बाँकी ५ स्वास्थ्य चौकीमा उपलब्ध थिएन।
उपचार अभावमा गर्भवती र सुत्केरीको अकालमा मृत्यु नहोस् र तत्काल गाउँकै स्वास्थ्य चौकीबाट सहज सेवा दिन २४ सै घन्टा आकस्मिक गर्भवती र सुत्केरी सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार विगतमा सुचारु रहेका प्राथमिक केन्द्रमा जटिल रोगका बिरामीको उपचार नहुने र दक्ष जनशक्ति नबस्दा स्थानीय महिलाले सास्ती खेपिरहेका थिए।
गाउँपालिकाले यस वर्ष १७ लाख रुपैयाँ विनियोजन गरी सबै स्वास्थ्य चौकीमा सुत्केरी सेवा दिने गरी पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरेको छ। ग्रामीण भेगमा २४ सै घन्टा यातायात सुविधा नहुने र सामान्य परिवारले तत्काल अस्पताल पु¥याएर सुत्केरी गराउन नसक्ने स्थिति दृष्टिगत गरी सेवा तत्काल थपिएको पौडेलले बताए। उनले भने, ‘सामान्य महिलालाई जनप्रतिनिधि आएपछिको यो पहिलो सेवा थपिएको छ।’ गाउँपालिका अन्तर्गत हो श्रांगदी, भोक्सिङ, बालाकोट, पाखापानी र फलामखानीका स्वास्थ्य चौकीमा यो सेवा गत महिना सुचारु गरिएको हो।
अब गाउँपालिकाका सबै वडामा महिलाले आधा घन्टामै सेवा पाउने भएका छन्। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिन अनमी १२ जना र महिला स्वास्थ्य स्वयंसेविका सहयोगी १२ जना गरी २४ जना पदपूर्ति समेत गर्न लागेको हो। गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी कर्मचारी राख्न लागिएको उनले जानकारी दिए।
गाउँपालिकाले स्वास्थ्यसम्बन्धी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। ‘जीर्ण संरचना पुनर्निर्माण, पर्याप्त औषधि व्यवस्था, सबै टोलमा स्ट्रेचरको व्यवस्था, महिला स्वयंसेविकालाई जिम्मेवारी दिएर कुनै पनि नागरिक राज्यले दिनुपर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने व्यवस्था गरेका छौं’, अध्यक्ष पौडेलले भने।
अहिले लुंखुदेउरालीको प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरसहित स्वास्थ्य सेवा र अरु स्वास्थ्य चौकीमा अहेबको नेतृत्वमा कर्मचारी व्यवस्थापन गरिएको जानकारी उनले दिए। जिल्लाका अन्य स्थानीय तहभन्दा धेरै र प्रभावकारी काम गरेको महाशिलाले शैक्षिक क्षेत्रमा समेत सुधार योजना तयार पारेको छ।