नेपाली ठग्दै भारतका क्लिनिक
बिर्तामोड : झापा शिवसताक्षी–१० का ४२ वर्षीय जयनारायण योगीलाई केही महिनाअघि पाइल्स भयो। नेपालका विद्युतीय सञ्चारमाध्यममा प्रचार सुनेकै भरमा उपचारका लागि योगी भारतीय सीमावर्ती बजार पानीट्यांकीमा रहेको माँ पाथीभरा क्लिनिक पुगे। क्लिनिकमा पुग्नासाथ उपचार खर्च भन्दै क्लिनिक सञ्चालकले ३२ हजार रुपैयाँमा कुरा मिलाए।
क्लिनिकका ‘सहायक विशेष’ भूपेन्द्र भट्टराईले जयनारायणलाई रोग निको नभए पैसा फिर्ता हुने आश्वासन पनि दिए। किस्तामा पैसा दिए हुने भन्दै उपचार सुरु भयो। सुरुमा बिरामीलाई ३ घण्टा बेहोस बनाइयो र बिरामीको होस खुलेपछि ३ दिनमा फेरि आउनू भन्दै घर पठाइयो। घर पुग्नासाथ जयनारायणलाई ज्वरो आउन थाल्यो। भोलिपल्टदेखि घाउ पाक्न पनि थाल्यो।
३ दिनपछि पुनः क्लिनिकमा जाँदा उनलाई ‘डाक्टर’ले ‘औषधि’मा रुवा चोबेर लगाइदिए। त्यसपछि झन् जयनारायणको मलद्वारबाट मासु झर्न थाल्यो, रगत बगिरह्यो। त्यसपछि उनलाई त्यहाँको उपचारबाट निको नहुने रहेछ भन्ने लाग्यो र झापाकै बीएन्डसीमा उपचार गराए। रोगको गलत उपचार गरेकाले ढिलो मात्र निको हुने नेपालका चिकित्सकले भने पनि मात्र योगीलाई थाहा भयो आफू पानीट्यांकीको क्लिनिकबाट ठगिएको। अहिले उनी नेपालकै अस्पतालमा उपचार गरी निको भएपछि घरमा छन्।
जयनारायण मात्र होइनन् भारतको सीमावर्ती सहर पानीट्यांकीमा जथाभावी खोलिएका क्लिनिकले नेपालका बिरामीलाई ठग्ने क्रम रोकिएको छैन। केही दिनअघि झापा बाह्रदशी गाउँपालिका–२ स्थित राजगढका ५७ वर्षीय कालीबहादुर भण्डारी दिसा गर्न बस्दा गाँठो देखा पथ्र्यो। आफूलाई पाइल्स भएको थाहा पाएपछि उनी पनि रेडियोको विज्ञापन सुनेर उपचार गराउन भारतीय सहर पानीट्यांकी गए।
रेडियोले भारतको सीमावर्ती सहर पानीट्यांकीमा रहेका क्लिनिकको विज्ञापन बजाएपछि उनी त्यहाँ पुगेका रहेछन्। पानीट्यांकीको माँ पाथीभरा क्लिनिकका डाक्टरले उनलाई शल्यक्रियाबिनै उपचार गर्ने बताए। त्यहाँ नेपाली डाक्टर पनि थिए। ‘निको नभए पैसा फिर्ता गर्नेसम्म भने,’ कालीबहादुरले सुनाए, ‘उनीहरूले सुईबाट आपूmलाई औषधि हालिदिए।’ सुई लगाएपछि उनको पाइल्स सुन्निन थाल्यो। बढ्दै गएपछि फुट्यो। र, मासु झर्न थाल्यो। सँगै अर्को समस्या थपियो– बल गर्दा पनि दिसा निस्कनै छाड्यो। ‘पैसा नलिएसम्म हप्तैपिच्छे बोलाइरहे,’ कालीबहादुरले भने, ‘पैसा लिइसकेपछि अब नआउँदा पनि हुन्छ भनेर पठाइदिए।’ पानीट्यांकीको क्लिनिकमा उनले २० हजार भारतीय रुपैयाँ खर्च गरे। तर, रोग निको भएन। भारतमा आफू ठगिएको थाहा पाएपछि उनी पनि अहिले बिर्तामोडकै बीएन्डसी अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन्।
योगी र भण्डारी मात्र होइनन् हालसम्म पूर्वी नेपालमा दर्जनौं बिरामी ती क्लिनिकको गलत उपचारका कारण रोग बिगारेर बस्न विवश छन् भने केहीको सोही रोग राम्ररी निको नहुँदा मृत्युको सिकारसमेत भएको पाइएको छ।
केही महिनाअघि सार्वजनिक स्थानमा टाँसिएको विज्ञापनको नम्बर टिपेर फोन गर्दै पानीट्यांकीको चाँदसी क्लिनिकमा पुगेका पूर्वी जिल्ला ताप्लेजुङका युवराज भारती पनि रोग निको पार्ने नाममा रकम मात्र खर्च भएको तर आफ्नो पाइल्स रोग निको नभएपछि नेपालकै आयुर्वेदमा चिकित्सालयमा गई लामो समयपछि केही ठीक भएपछि घर फर्किएको बताउँछन्। आफू पुगेको क्लिनिकमा सुरुमै रकमको डिल हुने र किस्तामा रकम डिल भएजति तिरिसकेपछि अब नआउनू निको हुन्छ भन्दै फर्काउने गरेको भारतीको गुनासो छ।
यसरी पुग्छन् बिरामी
पूर्वीनाका काँकडभिट्टाबाट ५ मिनेटमै पुगिने पानीट्यांकी बजार विशेष गरी नेपालीका लागि खोलिएको बजार हो। यहाँ हजारौं नेपाली दैनिक उपभोग्य वस्तु किन्न सो स्थानमा पुग्ने गर्छन्।
यसै क्रममा सो बजारमा नेपालीलाई नै लक्ष्य गरी पछिल्लो समय नेपालीमा बढी देखिने रोगको पहिचान गर्दै बजारका सटरमा क्लिनिक पनि खुल्न थालेका छन्। पाइल्स, फिस्टुला, हाइड्रोसिल रोगको उपचारलाई मुख्य नारा बनाएर ती क्लिनिकले पूर्वका स्थानीय सञ्चारमाध्यम (रेडियो, पत्रपत्रिका र अनलाइन) मा यी रोगको सस्तोमा भरपर्दो उपचार गरिने र निको नभए उपचारमा खर्च भएको रकम नै फिर्ता दिने विज्ञापन गरेका हुन्छन्। र, विज्ञापनमा नेपालको सम्पर्क मोबाइल नम्बर र भारतको मोबाइल नम्बर पनि दिइएको हुन्छ।
नेपालबाट जाने बिरामीलाई लैजान र पैसाको डिल गर्न नेपालका जिल्लामै एजेन्ट राखी बिरामीलाई भारतका त्यस्ता क्लिनिकमा पु¥याइन्छ। पहिले उपचार गर्नुपूर्व रोग हेरेर जम्मा लागत निकालेपछि मात्र उपचार सुरु हुन्छ र रकमको किस्ता लिन सुरु हुन्छ। किस्ता पूरा नभएसम्म बिरामीलाई विभिन्न औषधि प्रयोग गर्दै बारम्बार बोलाइन्छ र डिल भएको रकम सकिएपछि अब निको हुन्छ आउनुपर्दैन भन्दै घर पठाइन्छ र सो समयसम्म बिरामीको रोग निको हुनुको साटो झन् जटिल भइसकेको हुन्छ।
उजुरी न कारबाही
आफू ठगिएको थाहा पाएपछि झापा शिवसताक्षी–१० का जयनारायण योगीले आफन्तलाई भनेर प्रशासनमा निवेदन दिन लगाए। जयनारायणका छोराले जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टामा पनि निवेदन दिएका छन्। उनले जिल्ला प्रशासन कार्यालयमा ३१५ नम्बरमा निवेदन गर्दा गराएको जानकारी दिए।
निवेदन दर्ता भए पनि प्रशासनले चासो नदिएको उनको गुनासो छ। दैनिक नेपाली ठगिने गरेका घटना बढ्दै गएका बेला झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त, निवेदनको विषयमा तत्काल आवश्यक छानबिन गरी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन्।