नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रोहितको डेब्यू
काठमाडौं : युवा अलराउन्डर रोहितकुमार पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेका छन्। बिहीबार नामिबियाविरुद्ध खेल्दै रोहितले राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन्।
उनलाई बिहीबार बिहान नेपाली टोलीका परामर्शदाता ब्याटिङ प्रशिक्षक शुलक्षण कुलकर्नीले डेब्यू क्याप हस्तान्तरण गरे। सन् २०१६ को अन्त्यबाट नेपाली यू-१९ राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका रोहित सिनियर राष्ट्रिय टोलीको अन्तिम १४ र अन्तिम ११ मा पहिलो पटक पर्न सफल भएका हुन्।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू-१९ एसिया कप २०१६ का लागि सञ्चालित ट्यालेन्ट हन्ट कार्यक्रमबाट छानिएका रोहितले छोटो अवधिमै आफूलाई सफलतातर्फ अग्रसर गराएका छन्।
यू–१९ राष्ट्रिय टोली र घरेलु प्रतियोगितामै पनि ‘म्याच फिनिसर’ को भुमिकामा सशक्त देखिदै आएका रोहितलाई राट्रिय टोलीमा पनि सोही भूमिका दिइएको छ। बिहीबार नामिबियाविरुद्धको खेलमा उनले ब्याटिङ र बलिङ दुबैको अवसर पाएनन्। अलराउन्डर रोहितको मध्यम गतिको बलिङ र आक्रामक ब्याटिङ विशेषता हो।