विनोदविक्रम केसीको कविता : निमुखा मुमताजहरू
जब–जब म प्रेमकविता लेखूँ भन्छु
छाकसंग्राममा हर भाँचिएको बूढो भात
समयको जीर्ण फलैंचामा बसेर
फलाक्न थाल्छ
जिन्दगीका हयान र त्यान त्रासदीहरू
कोइ खोरन्डो तक्मावालले
आफ्ना लाहुरेकालका
युद्धकथाहरू हाले जसरी
हेरिरहेछु वर्षौँदेखि
चोकमा मकै–भटमास बेच्ने त्यो एउटी केटीलाई
जसको चुक घोप्ट्याएजस्तो अनुहारमा
चन्द्रमाबाट देखिने ग्रेटवालजस्तै
जुँगाको मसिनो रेखी छ
भुइँचालोको डोज नपुगेर पूरै नभत्की
उभिएको जीर्ण घरजस्तो शरीर
र त्यस्तै–त्यस्तै मन बोकेर
ऊ तलास गरिरहेकी छे एउटा भ्यालेन्टाइन
साँच्चै, कहाँ बाँडिन्छन् भ्यालेन्टाइनहरू ?
साँच्चै, कहाँ बेचिन्छन् भ्यालेन्टाइनहरू ?
कस्तो किस्ताबन्दीमा ?
कुन बम्पर उपहार योजनाअन्तर्गत ?
कुन बहुराष्ट्रिय कम्पनीमा ?
कुन गिफ्ट सपमा ?
जब–जब म प्रेमकविता लेखूँ भन्छु
त्यही केटी मेरो कलमको टुप्पोमा
ढसमस्स बसिदिन्छे
र अवरुद्ध गरिदिन्छे
एक गाडी रोमियोहरूको सवारी
जब–जब म प्रेमकविता लेखूँ भन्छु
बाह्र घन्टामा तेह्रचोटि मर्ने बेरोजगारहरू
शब्द–शब्दको तुलसी मठमा लम्पसार परिदिन्छन
त्यसमाथि लम्पसार परिदिन्छन
मजदुरका सेप्रा पेटहरू
सहिदका भद्रगोल सपनाहरू
सहिद हुन बाँकीका गन्जागोल सपनाहरू
अनि
सबैभन्दा माथि
धेरैको भागमा पर्ने
उही तेजाबले डढेको कागजजस्तो देश !
के दिल टुटाउन
यति नै काफी छैन र दिलरुवा ?
के मन चुँडाउन
यति नै पर्याप्त छैन र जानेमन ?
जब–जब म प्रेमकविता लेखूँ भन्छु
वाक्य–वाक्यमा गजधुम्म बसेका खण्डहरहरू
ढिम्किनै दिँदैनन् ताजमहललाई
र, दिन्छन् स्पष्टीकरण—
‘हामीले पनि पुरेका छौं
निर्धन र निर्धा शाहजहा“हरूका
निमुखा मुमताजहरू
फरक यत्ति हो
हामीसँग प्रेम मात्रै छ
संगमरमर छैन ।’
प्रतिक्रिया दिनुहोस !