त्यो प्रेम, यो प्रेम

त्यो प्रेम, यो प्रेम

‘उपहारको मूल्यअनुसार प्रेमको मापन हुन थालेको छ। प्रेममा बजार हावी भयो। जति महँगो उपहार, उति अब्बल प्रेमी/प्रेमिका।’

एउटा यस्तो समय थियो, जहाँ कसैलाई माया गरेबापत दण्डित हुनुपथ्र्यो। कपाल चारपाटा मुडेर डाँडा कटाइन्थो। माया गर्नु नै ठूलो अपराध मानिथ्यो र मृत्युदण्डसमेत दिइन्थ्यो। मनको कुरा मनमै राखेर छुट्थे कैयन् प्रेमिल जोडी। अनि भाग्यलाई धिक्कार्दै बस्थे।

मनको बह पोख्ने माध्यम हुन्थ्यो सालको पात। वनैभरि गुञ्जिने सालको पातले विरह बोल्थ्यो। प्रेमको अस्पष्ट भाव बोकेर सालको पात बजिरहन्थ्यो। प्रेमको भाषा नबुझ्नेहरू बुझ्दैनथे पातको भाषा। मन परेको मान्छे नजिकै आउँदा ढोकाको चेपबाट चिहाउँथे। कवि उषा शेरचन पुराना दिन सम्झिन्छिन्, ‘त्यसबेला अहिलेजस्तो खुलापन थिएन। मन परेको मान्छेलाई आँखीझ्याल र बरन्डाबाट लुकिलुकी हेरिन्थ्यो।’ अहिलेजस्तो फेसबुक ट्वीटर कहाँ हुनु। इमेल र इन्टरनेटको जमाना थिएन। कलेज बंक गरेर टाढाटाढा घुम्न जाने गुञ्जायस नै थिएन। कवि शेरचन सुनाउँछिन्, ‘डेटिङको त कल्पनासमेत गरिन्नथ्यो।’

जमाना अलि फेरियो। रगतले लेखिएका प्रेमपत्रहरू हुलाकीले बोकेर ल्याउन थाले। ‘चिठी आएन, चिठी आएन, मेरो मायालुको मलाई चिठी आएन’ भन्ने जस्ता गीत बने। पत्रमित्रतामार्फत कति साथी बने। जसले एकअर्कामा कहिल्यै भेटेनन्। कति जोडी चिठी चिठीमै प्रेममा परे। स्कुल र कलेजमा चिठीपत्र बाक्लै चल्न थाल्यो। कागजको टुक्रामा ‘आई लभ यु’ लेखेर ‘तीर’ बनाई फ्याँक्ने चलन आयो। युवा कवि रावत कागजको टुक्रामा चिठी लेखेर छात्रा साथी भएतिर फ्याक्ने गरेको सम्झन्छन्।

कतिको मेलापात, जात्राहरूमा जाँदा माया बस्यो। परिवार र समाजले सम्बन्ध अस्वीकार गर्दा कति जोडीले आत्महत्या गरे। त्यो क्रम आज पनि रोकिएको छैन। कति जोडी समाजको डरले कहिल्यै भेटेनन्।

देवीदेवतादेखि राजा महाराजसम्मको प्रेमकथा पनि कम रोचक छैन। कति महाराजले रानीको सम्झनामा महल बनाउन लगाए। कतिले पोखरी बनाउन लगाए। कति महाराजले प्रेमकै कारण दरबार छाडे। पौराणिककालमा कतिपय ठूल्ठूला युद्धहरू प्रेमकै कारण भए। राम सीताको कथा, राधा र कृष्णको कथा कम रोचक छैन। लैला–मजनु, रोमियो–जुलियट, मुनामदन एउटा मीठो कहानी बनेर समाजमा आज पनि जिउँदो छ। सबैले तत्कालीन समाजको चित्र देखाएका छन्।

ग्रिसका दार्शनिक प्लेटोलाई उद्धृत गर्दै विश्लेषक प्रदीप गिरीले भनेका छन्, ‘पौराणिक कालमा पुरुष र महिला एउटै शरीरका थिए। दुवै शरीर एकै ठाउँमा भएको प्राणीलाई देवताले देखि सहेनन् र दुई चिरा पारी दिए। एउटै आत्मा र शरीर दुई चिरा भयो। टुक्रिएको त्यही आत्मा आज पनि आफ्नो बाँकी आत्म र शरीरको खोजी गर्छ।’ प्लेटोको भनाइ सत्यताको नजिक कति होला यो छलफलको अर्को पाटो हुन सक्छ।

समाज वैज्ञानिकहरू प्रेमलाई छुट्टै विषय नबनाई समाजसँग जोडेर हेर्नुपर्ने बताउँछन्। उनीहरू समाज व्यवस्थाअनुसार प्रेमसम्बन्धमा बदलाव आएको मत राख्छन्। ढुंगेयुगदेखि आजको युगसम्म जस्तो समाज व्यवस्था थियो, सोहीअनुसार प्रेममा परिवर्तन हुँदै आएको बताउँछन्। दास युग र सामन्तवादी युगमा भने प्रेम वर्जित विषय रहेको उनीहरू बताउँछन्।

नेपाली सन्दर्भमा हेर्दा पनि प्रेम वर्जित विषय थियो। राणा शासनमा प्रेम गरेकै कारण कति पे्रमी जोडीहरू काठमाडौंको शंखमूलमा काटिए। १९१० को मुलुकी ऐन उद्धृत गर्दै साहित्यकार आहुति भन्छन्, ‘मुलुकी ऐनमा प्रेम गरेबापत भोग्नुपर्ने सजाय तागाधारी, मतवाली र अछूतका लागि छुट्टाछुट्टै थियो। सोही कानुनको आधारमा कति राणाहरूले प्रेमी जोडी काटे।’ सामन्तवादी व्यवस्थामा प्रेमको अधिकार थिएन। कहिल्यै नदेखेको, कहिल्यै नभेटेको, आनिबानी र नामसमेत थाहा नभएको व्यक्तिसँग कुल घराना हेरेर विवाह गरिन्थ्यो।

यो प्रेम

विश्लेषकहरू वर्तमान समाजलाई पुँजीवाद समाज मान्छन्। कतिपय विश्लेषकहरू समाज झनै पुँजीवाद उन्मुख मात्रै भएको तर्क राख्छन्। पुँजीवादी समाज छनोटको स्वतन्त्रता भएको युग मानिन्छ। पुँजीवादी समाज औद्योगिक समाज भएकाले उद्योगमा काम गर्न थालेपछि महिला पुरुषबीच विगतको भन्दा सम्पर्क बढेकाले छनोटको अवसर मिलेको विश्लेषकहरू बताउँछन्। समाजशास्त्री चैतन्य मि श्रले भनेका छन्, ‘पुँजीवाद आएपछि एकएक जनाको कमाइ हुन थाल्यो। महिलाहरू घर बाहिर निस्कन थाले। पुँजीवादी जीवन नितान्त छुट्टै र एक्लो जीवन हो। त्यही एक्लोपन हटाउन एकअर्कासँग लभ गर्छन्।’

त्यसपछि प्रेममा परिवर्तन आयो। मागी विवाहको ठाउँमा प्रेम विवाह हुन थाल्यो। माया गर्ने तरिका बदलियो। माया व्यक्त गर्ने शैली बदलियो। लामालामा चिठी र पोस्ट कार्डको जमाना पुरानो भयो। फेसबुक च्याटमै माया बस्ने र छुट्टिने हुन थाल्यो। पश्चिमा मुलुकमा सामाजिक सञ्जालमै विवाह भयो। प्रेमसम्बन्ध छिटोछिटो जोडिने र तोडिने हुन थाल्यो।

समाजशास्त्री डा. विष्णु राई अहिलेको प्रेममा विकृति मिसिएको बताउँछन्। भन्छन्, ‘अहिलेको प्रेममा स्वार्थ मिसिएको छ। अवसरको लागि प्रेम गर्न थालिएको छ।’ भावनात्मक पक्ष कमजोर भएको र मान्छेले आफू बाँच्न प्रेमलाई प्रयोग गर्न थालेको उनको ठम्याइँ छ। त्यसको कारण उनी हिजोको तुलनामा समाज जटिल भएकाले भएको बताउँछन्। भन्छन्, ‘बाँच्नको लागि अर्थतन्त्र नभई हुँदैन। त्यसले मानिसलाई स्वार्थी प्रेम गर्न बाध्य बनायो।’ अहिलेको प्रेम अवसर र सम्झौतामा टिकेको उनको भनाइ छ।

कवि उषा शेरचन प्रेम फरक होइन, व्यक्त गर्ने शैलीमा मात्रै फरकपना आएको बताउँछिन्। पहिलेको समाजमा कतिपय प्रेम फस्टाउनै नपाई ओइलाएको र अहिले त्यस्तो अवस्था नरहेको उनी बताउँछिन्। मानवशास्त्री सुरेश ढकाल पनि कवि शेरचनसँग सहमत छन्। उनी भन्छन्, ‘प्रेमको मनोभाव उस्तै छ। प्रकट गर्ने शैलीमा मात्रै परिवर्तन आएको छ।’ शैलीमा फरकपन आउनुमा समाज, अर्थतन्त्रको भूमिका रहेको उनको भनाइ छ। भन्छन्, ‘पहिलेको प्रेममा भावना बढी थियो। अहिले बारम्बर नवीकरण गरिरहनु पर्छ।’

प्रेमलाई स्वतन्त्रताको अर्को नाम पनि भनिन्छ। तर, आजको प्रेम स्वतन्त्र बन्न सकेको छैन। आर्थिक हैसियतअनुसारको प्रेम हुन थालेको प्रति विज्ञहरू चिन्तित छन्। प्रेममा विकृति आएको र भावना आर्थिक मूल्यसँग गाँसिने गरेको गुनासो समाजमा गरिन्छ। मानवशास्त्री ढकाल भन्छन्, ‘उपहारको मूल्यअनुसार प्रेमको मापन हुन थालेको छ। प्रेममा बजार हावी भयो। जति महँगो उपहार, उति अब्बल प्रेमी/प्रेमिका।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.