श्रवण मुकारुङको कविता : प्रेमपर्व
आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू आँखाभरि थापेर
आकाशगंगालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ
बारीको डिलैडिल उफ्रिहिँडेँ मृगझैँ
माथिका यी अँध्यारा पर्वतहरू
तलको त्यो रेलको रित्तो बाटो, नुनिलो आभास...
जम्मै बिर्सिएँ मैले !
मान्छेहरूले वर्षौँदेखि पुज्न छाडेको त्यो
निरिह मन्दिरलाई
मान्छेहरूले वर्षौंदेखि फर्की नहेरेको त्यो
नियास्रो द्यौरालीलाई
स्वर्गको लालसामा फेरि
ढोगेँ मैले ।
हजुर आउनुहोला भनेर
अनिदा यी सपनाका चरा र छुङ्छुङ्ती
नाचिरहेको हातका चुराहरू
मनभित्र त्यसै–त्यसै पोको पारिराखेको
सरमलाग्दा के–के के–के कुराहरू
यी घरका आशातीत झ्याल–ढोकाहरूलाई
सुम्पिएँ मैले ।
लौ हजुर त झन्–झन् अकासिँदै...?
प्रेम भनेको दृष्टिको अनन्तता पो रहेछ
स्वर्ग भनेको हृदयको उचाइ पो रहेछ
ईश्वर भनेको आफ्नो सबभन्दा प्यारो वस्तु पो रहेछ
वर्षौंदेखि बज्न नपाएका यी कुण्ठित
घन्टहरूलाई बेस्कन बजाउँदै चिच्याएँ म–
ए हिँड्दाहिँड्दै निख्रिजाने उकाली–ओराली !
ए बस्दाबस्दै थकाइ मेटिजाने चप्लेटी !
कलिला छाँगा, रुपौला रात
र छुनछुनाउँदा चियाका पातहरू !
कसले भन्छ : यी बतासका झोक्काहरू हाम्रा प्रेमचिह्नहरू होइनन
कसले भन्छ : यी दहमा खसेका पातहरू हाम्रा प्रेमपत्रहरू होइनन्
साँघुरो भो मलाई झरीका हारीहरू
साँघुरो भो मलाई सम्झनाका घारीहरू
आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू आँखाभरि थापेर
आकाशगंगालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ ।
प्रतिक्रिया दिनुहोस !