जापानी जोडी च्याम्पियन
काठमाडौं : जापानका ताइयो हिरानो र ताइपेईका चिया फन साउको जोडीले नेपाल आईटीएफ जुनियर यू-१८ टेनिस प्रतियोगिताको सर्किट- १ अन्तर्गत पुरुष डबल्स उपाधि शुक्रबार जितेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले फाइनलमा चीनका वेन्माउ ली र याङझुवानको जोडीलाई ६-२, ६-१ को सोझो सेटमा पराजित गरे।
महिला डबल्समा हङकङकी चुई केई लिउङ र भारतकी सान्या सिंहको जोडी च्याम्पियन बने। फाइनलमा उक्त जोडीले भारतका स्मृति भासिन र रुदया शाहको जोडीलाई ६-०, ७-५ को सीधा सेटमा हराए।
पुरुष डबल्स उपाधि विजेता हिरानो र साउ सिंगल्समा भने एकअर्काविरुद्ध फाइनलमा भिड्नेछन्। सेमिफाइनलमा हिरानोले भारतका अनुराग अग्रवाललाई ६-२, ६-० ले पाखा लगाए भने साउले जापानका ताइसेई कागेयामाबाट वाक ओभर पाए।
महिला सिंगल्समा चीनकी यिमिङ दाङ र अमेरिकाकी रुतुजा छप्हल्कर फाइनलमा पुगे। यिमिङले जापानकी कानोन यासुमोटोलाई ६-२, ०-६ र ७-६(२) तथा रुतुजाले भारतकी दिव्या भानीलाई ६-१ र ६-१ को सेटमा निराश पारे। सिंगल्स फाइनल शनिबार हुनेछ।