थ्रीस्टारको पोल्टामा बूढासुब्बा गोल्डकपको उपाधि
धरानः थ्रीस्टार क्लबले धरानमा सम्पन्न बूढासुब्बा गोल्डकपको उपाधि उचालेको छ । नेपाल पुलिससँग आहारारा गोल्डकपमा भोगेको पराजयको बदला लिँदै थ्रीस्टारले धरानमा सम्पन्न २०औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा रेडबुल गोल्डकप फुटवल प्रतियोगिताको उपाधि उचालेको हो ।
शनिवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो । यो सँगै थ्रीस्टारले पाँचौ पटक बूढासुब्बा गोल्डकपको उपाधि जित्न सफल भएको छ ।
थ्रीस्टारलाई उपाधि दिलाउन पहिलो हाफको इन्जुरी समयमा अफ्रिकन खेलाडी अजय मार्टिनले गरेको गोल नै पर्याप्त भयो । अजयले फाइनल खेलको म्यान अफ द म्याच बन्दै नगद १० हजार नगद हात पारेका छन् ।
बूढासुब्बा गोल्डकपको उपाधिसँगै थ्रीस्टारले नगद ६ लाख पुरस्कार प्राप्त गरेको छ । थ्रीस्टारले यो उपासिधसँगै चालु सिजनमा दुईवटा उपाधि हात पारेको छ । यसअघि थ्रीस्टारले इटहरीमा सम्पन्न सर्वाधिक राशिको मदन भण्डारी गोल्डकपको उपाधि समेत उचालिसकेको छ ।
उपविजेता बनेको पुलिसले नगद तीन लाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको सर्बोकृष्ट र सर्बाधिक गोलकर्ताको उपाधि थ्रीस्टारका निराजन खड्काले पाए । उनले एकथान यामाहा मोटरसाइकलसहित नगद २५ हजार नगद प्राप्त गरे ।
प्रतियोगिताभरको बेष्ट गोल किपर थ्रीस्टारका एलेन न्यौपाने, बेष्ट डिफेन्डर थ्रीस्टारका लावल वालावाले र बेष्ट कोचको उपाधि थ्रीस्टारकै मेघराज केसी घोषित भए । प्रतियोगिताभरको बेष्ट मिडफिल्डर र बेष्ट स्ट्राइकर पुलिसका सुमन लामा र रेजिन सुब्बा घोषित भए । उदयमान खेलाडीको उपाधि आयोजक धरान फुटवल क्लवका रोमन लिमबु घोषित भए । विजयी खेलाडीहरुले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे ।