प्रसूति शल्यक्रिया सेवा सुरु
स्याङ्जा : जनशक्ति अभावमा ८ महिनादेखि रोकिएको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा जिल्ला अस्पताल स्याङ्जाले फेरि सञ्चालनमा ल्याएको छ। डा. शंकर राउतलालाई अस्पतालले नियुक्त गरेसँगै यही माघको अन्तिम सातादेखि सेवा सुरु गरिएको हो।
अस्पतालले दक्ष जनशक्ति नभएको जनाउँदैे शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरेको थियो। स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको सहयोगमा अस्पतालले शल्यक्रियामार्फत सुत्केरी सेवा प्रवाह गरेको हो। जिल्लाको एक मात्र सरकारी अस्पतालले सो सेवा सुरु गरेसँगै जिल्लावासीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको छ।
अन्यत्र जटिल अवस्थामा बाहेकका अन्य सेवाका लागि शल्यक्रियाका समूह तयार रहेको बताउँछन्, अस्पताल प्रमुख एवं डा. अमृत पोखरेल। उनी भन्छन्, ‘अत्यधिक रगत चाहिने अवस्था र आईसीययूमै भर्ना गर्नुपर्ने अवस्थाबाहेक अन्य सबै प्रकृतिका गर्भवतीको सेवामा हामी २४ सै घण्टा सेवा दिन सक्छौं।’
गैरसरकारी संस्था वा सेवा प्रदायक टिमबाट करारमा डा. नियुक्त गरी आकस्मिक र जटिल प्रसूति सेवा २४ सै घण्टा सेवा उपलब्ध गराइएको हो। अस्पतालले डा. शंकर राउतलार्ई यही पुसदेखि असारसम्मका लागि नियुक्त गरेपछि अस्पतालबाट सो सेवा पुनः सञ्चालनमा आएको हो। सेवा सञ्चालनपछि जटिल अवस्थाका गर्भवतीलाई सहज पुगेको अस्पतालका डा. आश्विन लम्सालले बताए।
शल्यक्रियाद्वारा प्रसूति गराउन विशषेज्ञ डा. सहित ८ चिकित्सक आवश्यक पर्छन्।
प्रसूति सेवा रोकिँदा धेरै गर्भवती जिल्ला छोडेर अन्यत्र सहर जान बाध्य भएका थिए। जटिल अवस्थाका गर्भवतीलाई अस्पताल ल्याइँदा पनि सेवा छैन भनी सुत्केरी गराउन पोखरा, पाल्पामा पठाउनुपर्दाको क्षण अत्यन्त पीडादायी हुने स्वास्थ्यकर्मीहरूले बताए। मातृशिशु मृत्युदर घटाउने उद्देश्यले जटिल (शल्यक्रिया) प्रसूति सेवा गृह जिल्लामा उपलब्ध गराउने सेवालाई निरन्तरता दिइएको हो।
अस्पतालले निःशुल्क शल्यक्रियालगायत अन्य आवासीय र थप आवश्यकीय सेवा पनि उपलब्ध गराउँदै आएको छ। साधारण सुत्केरीका लागि खाना, बस्नका साथै एक हजार र थप चार सयसहित शिशु र आमाका लागि कपडासमेत उपलब्ध गराउँदै आएको छ। शल्यक्रियाद्वारा प्रसूति सेवाका लागि विशषेज्ञ डा. सहित ८ चिकित्सक आवश्यक पर्छ।
अस्पतालमा विशेषज्ञ डा. शंकर राउत, अस्पताल प्रमुख डा. अमृत पोखरेल, डा. आश्विन लम्साल, एनेस्थेशिया वीरेन्द्र यादव, स्टाफ नर्सहरू अप्सरा पौडेल, बिनीता शर्मा, गीता न्यौपानेलगायत समूहले शल्यक्रिया गर्ने गरेको छ।
अस्पतालले पहिलो पटक स्याङ्जामा आर्थिक वर्ष २०६७/०६८ देखि सो सेवा सुरु गरेको हो। १५ शैड्ढयाको जिल्ला अस्पतालका अन्य सुविधा रक्तसञ्चार गृह, आईसीयू कक्षको अभावमा पनि सेवा प्रवाहका जटिलता ल्याउने गरेको छ। जिल्लाका २७ स्थानमा सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) भएता पनि शल्यक्रियामार्फत प्रसूति सेवा भने जिल्ला अस्पतालमा मात्र हुन्छ।
आकस्मिक एवं जटिल प्रसूति सेवालाई निरन्तरता दिनुपर्ने बताउँदै पुतलीबजार नगरपालिकाले आमा र बच्चाको सुरक्षित भविष्यका लागि आफू प्रतिबद्ध रहेको पुतलीबजार नगरप्रमुख सीमा क्षत्रीले बताए।