प्रदेश २ को बैठकः दौरा सुरुवालमै ठाँटिए मर्यादापालक
जनकपुरः प्रदेश नम्बर २ को पहिलो संसद बैठकमा मधेसवादी दलहरुले बहिष्कार गरेपछि अनौपचारिक पोशाकमा सजिएका मर्यादापालकहरु दोस्रो बैठकमा भने दौरा सुरुवालमा ठाँटिएका छन् ।
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले दौरा सुरुवाल लगाउन नदिने निर्णय गरेपछि पहिलो बैठकमा मर्यादा पालकबीच पोशाकमा एकरुपता नहुँदा निम्तेको समस्या दोस्रो बैठकमा हटेको छ ।
पढ्नुस्: बहुरंगी संसद्
सोमबार बसेको प्रदेश २ को दोस्रो संसद बैठकमा पुरुष मयार्दापालकहरु दौरासुरुवालमै सजिएका छन् भने महिला मर्यादापालकले पनि साडी चोलोमा सजिएर बैठकमा आएका छन् ।
पहिलो बैठकका लागि सिलाएको दौरा सुरुवाल र साडी चोलोले दोस्रो बैठकमा प्रदेश संसदमा प्रवेश पाएको हो । प्रदेश सभा भवनमा खटिने अन्य कर्मचारी पनि दौरा सुरुवाल र साडी चोलोमा ठाँटिएका छन् ।
प्रदेश २ का सांसदहरुले भने आफू अनुकुलको धोती कुर्ता र पाइन्ट कोटसहितका पोशक लगाएर बैठकमा सहभागी भएका छन् ।