३२ वर्षपछि फरार अभियुक्त पक्राउ
नुवाकोट : नुवाकोट जिल्ला अदालतबाट कैद सजायको फैसला सुनाइएका फरार अभियुक्त ३२ वर्षपछि पक्राउ परेका छन् । मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्तलाई ३२ वर्षपछि पक्राउ गरि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोट जिल्ला अदालतले २०४२ पुस ४ गते १० वर्ष कैद सजाय फैसला सुनाएका फरार अभियुक्त नुवाकोट साविक थप्रेक गाविस–२ हाल पन्चकन्या गाउँपालिका–४ आरुखर्कका ६१ वर्षीय भीमबहादुर तामाङलाई ३२ बर्ष पछि पक्राउ गरी नुवाकोट जिल्ला अदालतमार्फत कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
नुवाकोट प्रहरीले न्यायिक तथा अर्धन्यायिक निकायको विशेष अभियान सञ्चालन गरेको छ । जस अन्तर्गत गएको महिनामा जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला तथा कैद, जरिवाना बेरुजु भइ फरार एकसय जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । नुवाकोटमा सबैभन्दा वढि मानव वेचविखनका अभियुक्त फरार रहेको जनाइएको छ ।