दूध बिक्दैन, मदिरा पुग्दैन

दूध बिक्दैन, मदिरा पुग्दैन

तम्घास : रेसुंगा नगरपालिका-१ गुल्मीकी उमा पाण्डेको घरमा दुहुनो भैंसी कहिल्यै टुट्दैन । घरखर्च चलाउने प्रमुख माध्यम उनको दूध बिक्रीबाट भएको पैसा हो । सुरुसुरुमा दूध बेचेर राम्रो आम्दानी गर्दै आएकी ५२ वर्षीय पाण्डे हिजोआज भने निराश छिन् । उनले चाहे अनुसार आजभोलि बजारमा दूध बिक्री हुँदैन ।

‘दिनमा तीन माना दूध दैनिक बिक्री गर्छु’, उनले भनिन्, ‘पहिल्लाजस्तो दूध खोज्ने ग्राहक आउन छाडे ।’ कुनै दिन घरमै ग्राहक दूध खरिद गर्न आएको स्मरण गर्दै उनले बिक्री नभएको गुनासो गरिन् । ‘घरमा दूध उत्पादन भए पनि बजारमा माग कम हुँदा आजभोलि किसानले भैंसी पाल्न छोडेको उनको भनाइ छ ।

पाण्डेजस्तै जिल्लाका अधिकांश किसानको पीडा यस्तै छ । दुहुना, गाईभैंसी पालेका किसान मर्कामा पर्ने गरेका छन् । ग्राहकले दूधलाई प्राथमिकता दिन छाडेपछि किसानले दूध उत्पादनलाई कम प्राथमिकता दिन थालेका हुन् । कुनै समय घरमा आफन्त जम्मा हुँदासमेत पाहुनालाई दूधकै परिकारले स्वागत गर्ने प्रचलन रहेको बुढापाका सुनाउँछन् ।

दूध, मही, घियू, पनिरलगायत परिकारले पाहुनालाई स्वागत गर्ने चलन रहेको रेसुंगा नगरपालिका-४ का वेदप्रसाद गौतले बताए । ‘आजभोलि त दूधको सट्टा मदिराको चलन धेरै देखियो’, उनी भन्छन्, ‘बजारभरी मदिराका पसल छन् । डेरी पसल कम छन् ।’ विभिन्न स्थानमा हुने विवाह, पार्टी, भोज, पिकनिक स्थल चाडपर्वमा समेत मदिराले ढाकिसकेको उनको भनाइ छ । ‘अहिलेसम्म दूध किन्न र सोध्न घरमा कोही आएका छैनन्’, गौतमले भने, ‘ग्राहक नपाउँदा दूध बिक्री गर्नै पाइँदैन ।’ बिक्री नभएपछि उत्पादन भएको दूध घरमै प्रयोग गर्ने गरेको उनले जानकारी गराए ।

सदरमुकाम तमघासको मिलनचोकमा चियापसल गर्दे आएकी सरस्वती गौतमले पनि दूधभन्दा मदिराको माग बजार धेरै हुने गरेको अनुभव सुनाइन् । दुई÷चार वर्षअघि दैनिक झन्डै दसपाथी दूधले नपुग्ने बताउँदै उनले हिजोआज मुस्किलले दुई लिटर दूध बिक्री हुने गरेको जानकारी दिइन् । ‘चार वर्षअघि दशपाथी दूध बिक्री हुन्थ्यो’, उनले भनिन्, ‘अहिले दिनभरीमा जसोतसो दुई लिटर विक्छ ।’ उनका अनुसार पसलमा विहानैदेखि चिया, दूधको साटो मदिरा खोज्ने ग्राहक धेरै आउने गरेका छन् । गौतमले आजभोलि महिलासमेत मदिरा खरिद गर्न आउने गरेको अनुभव सुनाइन् । ‘गृहणीले पनि मदिरा सेवन गर्न थाले’, उनी भन्छिन्, ‘यही अवस्था बढ्दै गए नेपाली समाज कता जाला ? ’

यता दुग्ध डेरी सञ्चालकको गुनासो पनि उस्तै छ । पछिल्लो समय दूधको व्यापारमा कमी आउन थालेपछि व्यवसायी निराश बन्दै गएका छन् । ‘दैनिक एक हजार लिटर दूध बिक्री हुँदै आएको थियो’, न्यू रेसुंगा दुग्ध डेरीका सञ्चालक सीता भण्डारीले भनिन्, ‘अहिले तीन सय लिटरमात्रै दूध बल्लतल्ल बिक्री हुन्छ ।’

सोचे अनुसारको दूध खपत नहुँदा दूधबाट अन्य परिकार बनाएर राख्नुपर्ने बाध्यता रहेको भण्डारीको भनाइ छ । उनले बिक्री नभएको दूधबाट कुराउनी, छुर्पीलगायत परिकार बनाएर बिक्री गर्ने गरेको जानकारी गराइन् । हाल उपभोक्ताले घरबाट सिँधै दूध खरिद गर्दा एक मानाको ५० रुपैयाँ तिर्ने गरेका छन् भने डेरीबाट प्रतिलिटर ७० रुपैयाँमा खरिद गर्ने गरेका छन् ।

दूधको तुलनामा मदिराकै खपत धेरै हुनेगरेको जिल्लाका उद्योगी व्यवसायी बताउँछन् । गुल्मीभर वार्षिक झन्डै डेढ अर्ब बराबरको मदिरा खपत हुने गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार मदिराको तुलनामा दूधको बिक्री अत्यन्तै न्यून छ । ‘मदिरा वर्षमा करिब डेढ अर्बको खपत हुन्छ’, उनले भने, ‘दूध दुई लाखको मात्रै बिक्री हुने गरेको छ ।’ पाण्डेका अनुसार जिल्लामा विभिन्न ब्रान्डका मदिराजन्य पदार्थ मासिक सात करोड ५० लाखको भित्रिने गरेको समेत जानकारी दिए । सरकारले कर असुल गर्ने बाहनामा सस्तो मूल्यका मदिरा उत्पादन अनुमति दिँदा उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पुगेको उनको भनाइ छ ।

बजारमा ‘टुंङकुला’ नामले चिनिने मदिरा गुणस्तरहीन र स्वास्थ्यमा प्रतिकुल असर पर्ने खालको भएकाले उत्पादनमा रोक लगाउनुपर्ने पाण्डेको भनाइ छ । जिल्लामा उद्योग वाणिज्य संघले उक्त मदिरालाई बिक्री वितरणमा रोक लगाएको समेत उनले बताए । मदिराको बढ्दो प्रयोगले समाजलाई विकृत बनाएको उनले धारणा राखे ।

‘मदिराकै कारण समाजमा झै-झगडा निम्त्याएको छ’, पाण्डेले भने, ‘विभिन्न खाले आपराधिक घटना पनि यसैका कारण भएका छन् ।’ मदिराको उत्पादन कम गर्दै लैजानतर्फ राज्य गम्भीर बन्नुपर्ने उनले जोड दिए । हाल जिल्लामा एक हजार दुई सय तीनवटा पसलले मदिराको इजाजत अनुमतिपत्र लिई बिक्री वितरण गर्दे आएको कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख शशिन्द्र खातीले जानकारी दिए । जिल्ला सदरमुकाम तम्घाससहित धुर्कोट, जैसीथोक, इस्मा, सिर्सेनीलगायत क्षेत्रका किसान व्यावसायिक दूध उत्पादनमा लागेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.