माओवादी तत्काल सरकारमा नजाने
काठमाडौः केपी ओलीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्र सहभागी नहुने भएको छ। माओवादी केन्द्रले ओली सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ। बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो।
बैठकमा नेता रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, मातृका यादवलगायतका नेताहको सहभागी रहेको थियो। गएरातिको बैठकमा लिखित सहमति गर्ने बेलामा एमाले नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जबज) छोड्ने नसक्ने बताइरहदाँ ओलीले जबजलाई दृढतापूर्वक कार्यान्वयन गर्ने बताएपछि माओवादी भड्किएका थिए।
माओवादीले भने जबज र २१ औ शताब्दीको जनवाद दुवैलाई थाती राखेर महाधिवेशनमा जानु पर्ने प्रस्ताव राखेका थिए। एमालेले जबज छोड्न नसकिने बताएपछि माओवादी तत्काललाई सरकारमा नजाने निर्णयमा पुगेको हो। प्रधानमन्त्री ओलीले माओवादीसँग पहिलो मन्त्रिपरिषदको गठनका लागि दुईजना मन्त्री मागेका थिए। माओवादीले सरकारमा तत्काल नजाने भन्दै मन्त्रीको नाम समेत पठाएन।