ओलीलाई कमल थापाको सुझाव : शपथमा ‘देश’ छुटाउनु राम्रो भएन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिहीबार प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले लिएको शपथमा त्रुटि रहेको भन्दै आपत्ति जनाएका छन्। उनले शुक्रबार बिहान ट्वीट गर्दै शपथ ग्रहणमा ओलीले ‘देश’ शब्द उच्चारण नगरेकोमा आपत्ति जनाएका हुन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले अमेरिकी राष्ट्रपति ओवामाले शपथ लिँदा त्रुटि गरेका कारण भोलीपल्ट पुनः शपथ लिएको उदाहरण दिँदै ओलीलाई पनि पुनः शपथ लिन सुझाव दिएका छन्। थापाले ओलीले नियतवश यस्तो नगरेको भएपनि शपथमा ‘देश’ शब्द छुटाउनु राम्रो नभएको बताएका छन्।
अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटि हुंदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहराएर शपथ लिएका थिए।प्रम के पि ओलीले शपथमा “देश”शब्द उच्चारण गर्न छुटाउनु भयो।निश्चय नै यो नियतवश होईन।त्यसर्थ राष्ट्रपति समक्ष पुन: शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु।शपथमा देश छुटनु राम्रो होईन
— Kamal Thapa (@KTnepal) February 16, 2018