मन्त्री भएपछि लालबाबुले भने: पहिला जस्तै बोल्ड निर्णय गर्छु
काठमाडौं : जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले माओवादी केन्द्र दुई दिन भित्रै सरकारमा सहभागी हुने बताएका छन्। उनले एक-दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने उल्लेख गर्दै अब हुने विस्तारमा माओवादी सहभागी हुने बताए। काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने पनि जिकिर गरेका छन् ।
उनले भने,‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी पनि सरकारमा सहभागी हुन्छ।’ एमाले र माओवादी बीचको एकता अन्तिम चरणमा पुगेको बताउदै एमाले नेता समेत रहेका पण्डितले पार्टी एकता पनि चाँडै घोषणा हुने दाबी गरे।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित हुने बताए । उनले भने,‘हाम्रो चाहना छ, सम्पूर्ण नेपालीहरु सुखी हुनुपर्छ, खुशी हुनुपर्छ, त्यसैको लागि हामी काम गर्छौं।’उनले देउवा सरकारका गलत निर्णयहरु खारेज गर्ने बताए ।
मन्त्री पण्डितले वातावरणलाई स्वच्छ बनाउन आफूले गम्भिर पहल लिने बताए। उनले भने,‘म एक दिन पद्यम कन्या क्याम्पसको कार्यक्रममा सहभागी भएको थिएँ, त्यहाँ एकजना बहिनीले कविता बाचन गरेर एकले अर्कालाई देख्नै नपाउने गरी मास्क र हेल्मेट लगाएर हिँड्नु परेको सुनाउनुभयो ?’
उनले उक्त कविताको सान्दर्भिकता निकै रहेको बताए। उनले वातावरणलाई मानवमैत्री बनाउनको लागि जनसंख्यालाई सन्तुलित बनाउनुपर्ने बताए। उनले भने,‘जनसंख्या पनि भूगोल सुहाउँदो र नियन्त्रण गर्नुपर्छ, अहिले गाउँबाट सहर बसाई सराई गर्ने लहर चलेको छ।’
मन्त्री पण्डितले अघिल्लोपटक मन्त्रीको जिम्मेवार सम्हाल्दा गरेजस्तै अब पनि बोल्ड निर्णय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, अघिल्लोपटक मन्त्री हुदाँ जस्तै बोल्ड निर्णय गरेर अघि बढ्छु।’ उनले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने,‘वातावरणलाई सन्तुलित र स्वच्छ बनाउनको लागि दत्तचित्त भएर काम गर्छु।’