सिरहा अस्पतलामा चरम लापरवाही

सिरहा अस्पतलामा चरम लापरवाही

सिरहा : जिल्ला अस्पताल प्रवेश गर्नेबित्तिकै छेउमा पश्चिमतर्फ दुई वटा सूचनापाटी झुन्ड्याइएको छ। एउटामा निःशुल्क औषधि र अर्कोमा नागरिक बडापत्रको विवरण। तर, यी दुई सूचनापाटीमा लेखिएका सेवा र सुविधा नै सर्वसाधारणको पहुँचमा छैन।

सिरहा नगरपालिका-७ का सात वर्षीय बालक राहुल पासवानको टाउकोमा चोट लाग्यो। अभिभावकले सदरमुकामस्थित जिल्ला अस्पताल पुर्‍याए अस्पतालले निःशुल्क टाँका लगाइदियो। एक्सरेलगायत चेकजाँचका लागि भन्दै अस्पतालले पाँच सय रुपैयाँ लियो। तर, अस्पतालले औषधि नभएको भन्दै बाहिर पसलमा किन्न पुर्जा थमाइदियो। राहुलका अभिभावकले निजी औषधि पसलबाट १५ सयको औषधि किन्नुपर्‍यो।

क्षयरोगको बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था गरेको छ। चिकित्सकको प्रत्यक्ष निगरानीमा सेवन गर्नुपर्ने त्यस्तो औषधि पनि जिल्ला अस्पतालमा पाइन छाडिएको सिरहा नगरपालिका २० सागरपुरकी कुल्थुम खातुनले बताइन्। ‘पहिला औषधि अस्पतालले दियो’, उनले भनिन्, ‘औषधि लिन आउँदा अस्पतालले आजभोलि गरेर टार्दा औषधिको ‘डोज’ पनि टुट्छ कि भन्ने डर भइसक्यो।’

अर्नमा गाउँपालिका ३ का आलोककुमार सिंह र सोही वडाकी विमला महरा सामान्य उपचारका लागि अस्पताल पुगे। दुवैलाई चिकित्सकले अस्पतालमा भएको साधारण एक्सरे मेसिनले नहुने भन्दै डिजिटल एक्सेरेका गराउन निजी ल्याबमा पठाइदिए।

चिकित्सकले अस्पतालमा भएको एक्सरे मेसिनले नहुने भन्दै बिरामीलाई निजी ल्याबमा पठाउने गरेका छन्।

बाहिर ल्याबमा महँगो रकम तिरेर एक्सरे गराएकी विमला भन्छिन्, ‘अस्पतालमा एक्सरे सुविधा हुँदाहुँदै बाहिर कमिसनका लागि चिकित्सकले पठाउँदा रहेछन।’ उनले दुखेसो पोख्दै भनिन्, ‘सरकारी अस्पतालमा निःशुल्कमै औषधि, उपचार पाइन्छ भनेर सुनेको थिएँ, तर होइन रहेछ।’

अस्पतालमा हुने झन्झटिलो अवस्था देखाएर बिरामीलाई अस्पतालबाहिर रेफर गर्दा सरकारी अस्तालमाथि विश्वसनीयता घ्दै गएको स्थानीय विवेक यादवले सुनाए। कतिपय बिरामी जिल्ला अस्पतालको नाम सुन्नेबितिकै संशय व्यक्त गर्दै अन्यत्र गई उपचार गराउने गरेका उनले बताए।

राम्रो उपचार विधि, उपकरण र डाक्टरहरूको खासै सक्रियता नहुँदा यस्तो समस्या आएको यादव बताउँछन्।

जिल्ला अस्पताल स्रोत भने रुघाखोकी, कुटपिटका समान्य घाइते र केही मात्रामा झाडापाखालाका बिरामी मात्र आउने गरेको बताउँछ। अस्पतालले भने गत साउनदेखि पुसम्म चार हजार एक सय २१ मध्ये ७३ जना अन्यत्र रेफर भएको बताएको छ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा जिल्ला अस्पताल अपूरो बनेको छ। अस्पतालले करारमा कर्मचारी भर्ना गरेर काम चलाएको छ। अस्पतालका कर्मचरी सेवा भावभन्दा कमाइतिर लाग्ने गरेका अस्पताल विकास समितिका एक सदस्यले बताए।

बाहिरका औषधि बिक्रेता र ल्याबसँग अस्पतालका कर्मचारीको चलखेल बढेकाले बिरामीको स्वास्थ्यसँग खेलवाड भएको ती सदस्यले बताए।

एउटै औषधिको फरक-फरक नाम हुन्छ। चिकित्सकले अस्पतालमा पाइने औषधि छाडेर बाहिरको नाम लेख्ने गरेकोले बिरामीलाई अप्ठ्यारो भएको पनि उनले बताए।

तर, जनशक्ति र औषधि अभावका कारण बिरामीको उपचारमा समस्या हुने गरेको अस्पताल प्रमुख डा. चुम्मनलाल दासले बताए। स्वास्थ्य संस्थामा औषधि आपूर्ति गर्ने अधिकार स्थानीय तहले पाएको र उसले उपलब्ध नगरिदिँदा समस्या आएको बताए।

जनस्वास्थ्य कार्यालयसँग भएको बजेटबाट औषधि किनेर काम चलाए पनि अहिले औषधि अभाव हुन थालेको प्रमुख दासले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.