सिमसार संरक्षण नहुँदा जलीय विविधता जोखिममा

सिमसार संरक्षण नहुँदा जलीय विविधता जोखिममा

बर्दिया : सरकारले सिमसार क्षेत्र संरक्षण गर्न चासो नदिँदा जलीय विविधता नष्ट हुन थालेका छन्। जिल्लामा रहेका प्राकृतिक ताललगायत सिमसार क्षेत्र संरक्षणमा राज्य अग्रसर नभएपछि जलीय विविधता नष्ट हुने जोखिम बढ्दै गएको हो।

बर्दियामा रहेका सत्खलुवा, बढैया, भगर, सर्जु, ताराताललगायत आधा दर्जनभन्दा धेरै प्राकृतिक सिमसार क्षेत्र संरक्षण अभावमा खतराको सँघारमा छन्। राज्यले महत्वपूर्ण तालहरू संरक्षण गर्नुको साटो आर्थिक प्रलोभनमा परी ठेक्कामा दिने परिपाटीले पनि सिमसार क्षेत्र ओझेलमा परेको ठाकुरद्वारा निवासी पक्षीविज्ञ रामबहादुर शाही बताउँछन्। उनले सरकारी स्तरबाट ताल संरक्षणमा चासो नदिँदा धेरैजसो तालतलैया सुक्नुका साथै अतिक्रमणको चपेटामा परेको सुनाए।

उनले भने, ‘धेरैजसो तालहरू स्थानीय स्तरमा माछापालनका लागि ठेक्कामा दिइँदा तालमा विषादी प्रयोगले जलीय विविधता नष्ट हुने खतरा बढेको हो।’ माछा मार्न विषादीलगायत महाजाल प्रयोग गर्दा जलीय विविधता जोखिममा परेको उनी बताउँछन्। उनी भन्छन्, ‘सिमसार क्षेत्रहरू उभयचरलगायत जलपक्षीहरूको वासस्थान भएकाले पनि तालहरूको संरक्षण गर्नु आवश्यक रहेको छ।’ उनले सिमसार क्षेत्र राज्यले संरक्षण नगरी ठेक्कामा दिनाले चराहरूको आहारा प्रजाति लोप हुँदै गएको बताए।

तालहरूमा जलकुम्भीलगायत वनस्पतिका मिचाहा प्रजाति विस्तारले पनि नकारात्मक प्रभाव पार्ने गरेको बढैयाताल गाउँपालिका वडा नम्बर ५ निवासी स्थानीय पुष्पराज भुषालले बताए। ‘जिल्लाकै अनुपम प्राकृतिक ताल बढैयातालमा एक दशकदेखि मिचाहा झार जलकुम्भीले अतिक्रमित छ’, उनले भने, ‘बढैयातालमा बसाई सरेर आउने दुर्लभ चराहरू पाइन्छन् तर झारका कारण माछा उत्पादनमा ह्रास आउने भएकाले चराको आहारा प्रजाति नष्ट हुँदै गएको छ।’

झारका कारण सूर्यको किरण पानीमा नपर्ने र घाम नपरेका ठाउँमा जलीय जीवजन्तुहरू नष्ट हुँदै गएको अनुभव भुषालले सुनाए। सरकारले ताल संरक्षणमा कुनै चासो नदिँदा जलीय विविधता खतरामा परेको उनको बुझाइ छ। समयमै बढैयातालमा रहेको जलकुम्भी झार सफा नगरे आगन्तुक चराहरू नआउने जोखिम अत्यधिक बढेको उनले बताए।

भुषालका अनुसार सम्बन्धित निकायमा पटक पटक ताल सफाइका लागि अनुरोध गर्दा कुनै सुनुवाइ भएन। दातृ निकायहरूले सिमसार क्षेत्र संरक्षणका नाउँमा बर्सेनि अर्बौं रुपैयाँ खन्याए पनि सिमसार क्षेत्रको अवस्था फेरिन नसकेको स्थानीयको गुनासो छ। बढैयातालमा मात्र हिउँदमा ६ सयभन्दा धेरै आगन्तुक चराहरू आउने गर्छन्।

बर्दियाको बाह्रबर्दिया नगरपालिका धधवार खैरेनीस्थित सत्खलुवा ताल केही वर्षअघि ठेक्कामा लगाएपछि त्यहाँ पाइने दुर्लभ रातोकमल लोप भएको छ। बढैयातालमा जलकुम्भी झारले फोहोर भएको ताल अवलोकन गर्न आउने आन्तरिक पर्यटक दिनेश चौधरीले बताए। उनले भने, ‘जलकुम्भी फैलिएर तालको सौन्दर्य पनि घटाएको छ। झार सफा गर्न सके ताल धेरै राम्रो देखिन्छ।’

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.