खोला मिचेका संरचना भत्काउन सुरु

खोला मिचेका संरचना भत्काउन सुरु

इटहरी : इटहरी चोक हुँदै बग्ने कुलो खोला मिचेर बनाइएका संरचनाहरूलाई उपमहानगरपालिकाले भत्काउन थालेको छ। गत शुक्रबार सार्वजनिक बिदाको दिन पारेर उपमहानगरपालिकाले स्काइभेटर प्रयोग गरी संरचना भत्काउन थालेको हो। यस क्रममा उमहानगरले केही निर्माणाधीन घर र पर्खाल भत्काएको छ। खोलाको १० फिटसम्म ओगटेर निजी संरचनाहरू बनाइएका र तिनलाई भने केही समय दिइएको मेयर द्वारिकालाल चौधरीले बताए।

‘पहिले त सचेत नै गराउने हो, त्यति गर्दा पनि भएन भने हामी नियमबमोजिम गर्छौं,’ उनले भने, ‘खोलाको जग्गा कुनै हालतमा व्यक्तिले मिच्न पाउँदैन।’ खोलाको जग्गा मिचिँदा इटहरीमा पानी निकास अवरुद्ध बनेर बाढी आएको उनको भनाइ छ।

इटहरी बजार हुँदै बग्ने खोला र टेंग्रा खोला मिचेर सय बढी संरचना बनाइएका छन्। वर्षौंअघि बनाइएका घरहरूबारे के गर्ने भन्ने निर्णयमा उपमहानगर पुगिसकेको छैन। खोला मिचेर बनाइएका संरचना भत्काउने भनेर सर्वदलीय निर्णय गरे पनि त्यस निर्णयमा उपमहानगर आफैं द्विविधामा छ। ‘केही दिनको समय दिएका छौं,’ मेयर चौधरी भन्छन्, ‘सो बीचमा सहमति जुटाउनेछौं।’

खोला मिचेर बनाइएका घर, रिटेनिङ वाल, पर्खाल, चर्पीलगायत संरचनालाई उपमहानगरका अमिन तथा इन्जिनियरको टोलीले ‘मार्किङ’ गरेको थियो। सोही मार्किङअनुसार संरचना भत्काउन सुरु गरिएको हो।

इटहरीमा बर्सेनि आउने बाढीका कारणमध्ये खोला साँघुरिनु पनि रहेको निष्कर्ष उपमहानगरको छ। प्राकृतिक र मानवीय कारणले खोला साँघुरिएको मेयर चौधरी बताउँछन्।

‘एक त त्यहाँभित्र वर्षौंदेखि थुप्रिएका ढुंगा, फोहोर, रूख आदिका कारण पानीको बहावमा बाधा उत्पन्न भएको छ,’ मेयर चौधरीले भने, ‘अर्को, खोला मिचेर बनाइएका घर, पर्खाल, रिटेनिङ वाल, बाँसको बारले पनि बाढीको बहावलाई बाधा पुर्‍याएको छ।’

खोलामा एक ठाउँमा बनाइएका ८ भन्दा बढी घरले खोला मिचेको पाइएको मेयर चौधरीले बताए। ‘कति घर त खोला र कुलोमाथि नै बनाइएका छन्,’ उनले भने।

खोलाको जग्गा मिचिँदा इटहरीमा पानी निकास अवरुद्ध भई बाढी आउने गरेको छ।

मेयर चौधरीले शपथ ग्रहणलगत्तै सार्वजनिक जग्गा खोजी अभियान थालेका थिए। उनले इटहरी १७ मा टाटा कम्पनीले बनाएको अवैधानिक कल्भर्टमा डोजर नै लगाएका थिए। उनको यो कदमलाई इटहरी नगरवासीहरूले पनि स्वागत गरेका थिए। तर, पछि जग्गा खोजी अभियान रोकिएको थियो।

खोला ओगटेर बनाइएका संरचना भत्काइनु पनि अभियानकै निरन्तरता भएको चौधरीको जिकिर छ। उनले सार्वजनिक जग्गाहरूसमेत खोजेर नगरपालिकामातहत ल्याउने गरी आन्तरिक कार्य भइरहेको बताएका छन्।

०७३ सालमा इटहरी उपमहानगरले बनाएको सार्वजनिक जग्गा खोजी गर्ने समितिले इटहरीमा ९ सय ९५ बिघा ६ कठ्ठा जग्गा सार्वजनिक रहेको विवरण निकालेको थियो।

शेहरामा बाँध

मेयर चौधरीका अनुसार इटहरीमा बाढी नियन्त्रणका लागि शेहरा खोला व्यवस्थापनमा समेत ध्यान दिइएको छ। उक्त खोलामा आएको बाढी टेंग्रा तथा बूढी खोलामा मिसिएकाले नै इटहरीमा बाढी आउने गरेको छ।

शेहरा खोलामा ढुंगागिटी थुप्रिँदा पानी ओभर फ्लो भएर अन्य खोलामार्फत इटहरी बजार छिर्ने गरेको छ। ‘खोलामा बाँध बनाएर नियन्त्रण गर्ने योजना छ, त्यो बहुबर्से हो,’ उनले भने, ‘अर्बौं खर्च हुन सक्छ, त्यसको लागि प्रदेश र केन्द्रीय सरकारसँग सहयोग जुटाउने योजना छ।’

बाढीका कारण अघिल्लो वर्ष ८ जनाको ज्यान गएको थियो भने इटहरीको बजार क्षेत्रका पसलहरूमा पनि क्षति पुगेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.