'दुई थोपा हाँसो' अभियानको तेश्रो शृंखला सम्पन्न
काठमाडौं : सिस्नुपानी नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गर्दै आएको ‘दुई थोपा हाँसो' कार्यक्रमको तेस्रो शृंखला ओमनको राजधानी मस्कटमा सकिएको छ।
विगत तीन वर्षदेखि सञ्चालित उक्त कार्यक्रमको तेस्रो शृंखलाको आयोजना सिस्नुपानी नेपाल र गैर आवासीय नेपाली संघल गरेका हुन् भने सम्बन्धित देशका राजदूतावासले कार्यक्रमको संयोजन गरेका थिए।
माघ १८ देखि फागुन ६ गतेसम्म संयुक्त अरब इमिरेट्स्, बहराइन र ओमनमा कार्यरत नेपालीमाझ प्रस्तुत गरिएको कार्यक्रमलाई सफल बनाउन नेपाल पर्यटन बोर्ड, नेपाल रास्ट्र बैंक, स्वास्थ्य वीमा बोर्ड तथा ग्लोबल आईएमई बैंकको पनि महत्वपूर्ण सहयोग रहेको छ।
कार्यक्रममा नेपालीको उत्साहपूर्वक सहभागिता थियो। विशेषगरी समसामयिक राजनीतिक, प्रसाशनिक, सामाजिक क्षेत्रमा विद्यमान विकृति र विसङ्गतिमाथि प्रहार तथा स्वास्थ्य परामर्श एवं अन्य सचेतनामूलक प्रस्तुति रहेको थियो ।
सिस्नुपानी नेपालका अध्यक्ष तथा व्यङ्ग्यकार लक्ष्मण गाम्नागे, उपाध्यक्षद्वय कवि अर्जुन पराजुली र कलाकार मनोज गजुरेल, महासचिव टंक आचार्य, जनस्वास्थ्य विशेषज्ञ एवं लेखक डाक्टर रबिन्द्र समीरसहित पाँच सदस्यीय सिस्नुपानी टोलीका साथ स्थानीय प्रस्तोताको पनि उक्त अभियानमा सहभागीता थियो।अभियान सम्पन्न गरी सिस्नुपानी नेपालको समूह स्वदेश फर्किएको छ ।