अब सुखी नेपाली, समृद्ध नेपाल निर्माणतर्फ: प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनु पर्ने बताएका छन् । सोमबार दोस्रो निर्वाचन दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मौलिक तथा आधारभूत राजनीतिक तथा सामाजिक अधिकार संविधानबाट नै सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा अबको बाटो सुखी नेपाली,समृद्ध नेपाल निर्माणतर्फ केन्द्रित हुनु रहेको बताएका हुन् ।
उनले आन्तरिक स्रोत र साधनको अत्याधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, वृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवर्द्धन गर्दै अघि बढ्नु पनेृ बताए ।प्रधानमन्त्री ओलीले राष्ट्रमा पहिलो पटक २०१५ साल फागुन ७ गते निर्वाचन प्रारम्भ भएको दिनलाई विशेष सम्झना गरी निर्वाचन आयोगले गत वर्षदेखि शुरु गरेको निर्वाचन दिवसको दोस्रो वर्षको अवसरमा शुभकामना दिएका छन् ।
निर्वाचित जनप्रतिनिधि मार्फत् शासन गर्ने र लोकतान्त्रिक पद्दतिलाई संस्थागत गर्ने जिम्मेवारी तीनै तहको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई नेपाली जनताले पूरा गरेको प्रधानमन्त्री ओलीले बताए । उनले ऐतिहासिक निर्वाचनले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई लोकतन्त्रलाई सुदृढ गर्न देशको भाग्य र भविष्य आफै निर्धारण गर्न मार्ग प्रशस्त गरेको बताए ।
उनले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताए ।उनले राजनीतिक स्थायित्व हासिल गर्न र जनताको जीवनस्तर माथि उठाउन अब सबैले देशको द्रुततर सामाजिक र समावेशी आर्थिक रूपान्तरणमा परिचालित हुनै पर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने,‘तब मात्रै नेपाली जनताको ठूलो बलिदान र संघर्षबाटप्राप्त लोकतन्त्रको जगेर्ना हुन सक्छ र यसले सुनिश्चित गरेको लोकतान्त्रिक गणतन्त्रको जग सुदृढ बन्दै जान्छ।’ नेपाली जनताले निर्वाचनमा प्रदर्शन गरेको सहभागिताले ठोस योगदान पुर्या उनुका साथै लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ वनाउन सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाई छ ।