'एक वर्षभित्र महसुस हुने गरी काम गर्छौँ'

'एक वर्षभित्र महसुस हुने गरी काम गर्छौँ'

देशकै राजधानीसमेत रहेको प्रदेश ३ का मुख्यमन्त्री हुन्– डोरमणि पौडेल। दुई कार्यकाल हेटौंडा नगरपालिकाको मेयर चलाइसकेका पौडेलले हेटौंडाबाटै प्रदेश ३ को मुख्यमन्त्री चलाउने अवसर पाएका छन्। संसदीय दलको नेता चुनिनुअघिसम्म कमैले मात्र मुख्यमन्त्री भनी अनुमान गरेका थिए उनलाई। उमेरले ७० पुगेका पाका राजनीतिज्ञ पौडेल अस्थायी राजधानी हेटौंडा नै स्थायी राजधानी हुने ठोकुवा गर्छन्। नवनिर्वाचित मुख्यमन्त्री पौडेलसँग अन्नपूर्ण पोस्ट्का लागि कृष्ण सारु मगरले गरेको कुराकानी :


मुख्यमन्त्री भइसकेपछि केमा व्यस्त हुनुहुन्छ ?      

प्रदेशसभा सदस्य हुँदा ऐननियम बनाउनेमा मात्र भूमिका हुन्थ्यो। मुख्यमन्त्री भनेको कार्यकारी पद हो। स्वभाविक हिसाबले दैनिकी फरक भएको छ, व्यस्त छु। धेरै काम र छलफल गनुपर्ने हुन्छ।

मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ ?      

सातजनाको मन्त्रीमण्डल बन्ने हो। तीनजना बनिसकेका छन्। एक हप्ताभित्र यसले पूर्णता पाउँछ। प्रदेश प्रमुख बाहिर जानुभएकाले मात्र रोकिएको हो, अरू कुनै कारण छैन।

पार्टीभित्रबाटै कसरी कम गर्दो रहेछ हेरौंला भनेर सार्वजनिक टीकाटिप्पणी सुरु भइसकेका छन्, असन्तुष्टि बढ्दो छ नि ?      

पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा हुन्छ। जनताको बहुदलीय जनवादलाई पार्टीेको मार्गनिर्देशक सिद्धान्त मानेर अघि बढेदेखि नै आन्तरिक प्रतिस्पर्धा सुरु भएको हो। यो स्वाभाविक छ। चुनावमा उठेपछि दुवैजनाले जित्ने भन्ने हुँदैन। जित्नेले नेतृत्व गर्छ, हार्नेले सहयोग गर्छ। संसदीय दलको नेतामा हारेपछि अष्टलक्ष्मी शाक्यज्यूको केही गुनासो थियो। तर अहिले कुनै समस्या छैन। उहाँसँग भेटघाट छलफल भइरहेको छ। मेरो पूर्ण साथ छ भन्नुभएको छ। म सबैको भावनालाई समेटेर अघि बढ्छु।

भर्खरै एमालेको तीन नं प्रदेश कमिटीले अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर मात्र काम गर्नू भनेर तपाईंलाई निर्देशन दिएको सुनिएको छ, कसरी उहाँहरूलाई समेटेर जानुहुन्छ ?      

म पार्टीको एउटा कार्यकर्ता भएकाले पार्टीसँग सहकार्य गरेरै काम गरिन्छ। उहाँ पार्टीकै नेता हो। उहाँसँग समन्वय गरेर काम हुन्छ। उहाँकै आदेश पालना गरेरै काम गर्नुपर्छ भन्ने पनि होइन, मान्दै नमान्ने पनि होइन। उहाँ प्रदेश कमिटीको अध्यक्ष र म सदस्य भएको नाताले पनि उहाँसँग सहकार्य हुन्छ। यसबीचमा भएका भेटमा पनि सौहार्द कुरा भएका छन्। चुनाव हारेको झोकमा उहाँले केही तिक्तता पोख्नुभएको होला। ती कुरा बिर्सिएर उहाँ अघि बढिसक्नुभयो भन्ने मलाई लाग्छ। किनभने म असफल हुँदा पार्टी असफल हुने हो। मैलै गरेका हरेक काममा पार्टी जोडिन्छ नै, त्यसैले कोही पनि नेताकार्यकर्ता पार्टीलाई हराउने काममा लाग्छ भन्ने मलाई लाग्दैन।

तपाईंका मुख्य प्राथमिकता केके हुन् ?      

पहिलो कुरा हामीसँग ऐनकानुन छैन। कहाँबाट काम सुरु गर्ने भन्ने समस्या छ। झन्डै ६०/६५ वटा कानुन निर्माण गनुपर्नेछ। तत्कालै ३५ वटा कानुन नबनाई हाम्रो कामै अघि बढ्दैन। पहिलो प्राथमिकता ऐनकानुन निर्माण गर्ने हो। त्यसका लागि मैले कानुनविज्ञसँग छलफल गर्ने, सुझाव लिने काम गरिरहेको छु। एउटा विज्ञ टिमलाई काठमाडौंबाट बोलाएको छु। अब कसरी फास्ट ट्र्याकबाट काम गर्ने भन्ने छ। एक डेढ महिनाभित्र ३०/३५ वटा कानुन बनाउनु छ। त्यसपछि मात्र अरू काम सुरु हुन्छ। ऐनकानुनको अभावमा कुनै पनि नयाँ भौतिक ठोस काम गरिहाल्न सक्ने अवस्था छैन।

प्रदेश ३ लाई समृद्ध प्रदेश बनाउने संकल्प गर्नुभएको छ, अबको पाँच वर्षपछि कस्तो परिवर्तन हुनेछ ?       

तपार्इंले सोचको भन्दा फरक पाइन्छ। जति तपाईंले कल्पना गर्नुभएको होला, त्योभन्दा बढी नै काम हुन्छ। पाँच वर्षभित्र हाम्रो पार्टीले घोषणापत्रमार्फत नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा अघि सारेको छ। त्यो नारालाई सार्थक बनाउन हामी लाग्छौं। हामीसँग पर्याप्त स्रोतसाधन छन्। त्यसलाई व्यवस्थित ढंगले प्रयोग गर्ने हो भने देश विकासमा कुनै समस्या छैन। ६ महिनादेखि एक वर्षभित्रमा प्रदशे ३ का जनताले अनुभूति गर्ने हिसाबले हामी काम गर्छौं। कोही पनि निरास हुनुपर्दैन। हामीले जे भनेर आएका छौं, त्यो पूरा गर्छौं।

हेटौंडा सरकारले तोकेको अस्थायी राजधानी हो। स्थायी राजधानी हेटौंडाबाट बाहिर लैजान चलखेल भइरहेको छ, होइन ?      

यो जम्मै हल्ला गर्ने तपाईंहरू (पत्रकार) हो। अहिलेसम्म मलाई प्रदेशको राजधानी सार्नुपर्छ भनेर कोही पनि भन्न आएको छैन। कसैले यहाँ हुँदैन भनेकै छैन। हामी आफैं आतंकित भइरहेका छौं। हेटौंडावासीको मनगढन्ते आतंकले बरु जालाजस्तै भइसक्यो। अनावश्यक खालका निर्णयले बरु राम्रो गरेन। सांसदलाई घडेरी दिनेलगायत हल्लाले उनीहरू हामीलाई प्रभावित पार्न खोजियो भनेर रिसाइरहेका छन्। म भर्खरै काभ्रेमा पुगेर आएँ। त्यहाँका सांसदले हो, केही असन्तुष्टि व्यक्त गरेको। हामी काठमाडौं उपत्यकामा कुनै पनि हातलमा राख्न दिँदैनौं। काभ्रेको बनेपा पनि काठमाडौं उपत्यका नै नाघेर जाने हो। त्यसैले त्यो ठाउँ पनि उपत्यकाभन्दा बाहिर छैन। बनेपा उपत्यकाभित्र पर्छ/पर्दैन अर्को बहसको विषय हो। मैले चाहिँ त्यो पनि उपत्यका नै हो भन्ने परिभाषा गरेको छु। आखिर फेरि भीड त उपत्यकामै किन जम्मा गर्ने ?      

तपाईं हालै काभ्रे पुगेर पनि आउनुभयो। तपाईंले त्यहाँ त राजधानी सर्न पनि सक्छ भनेर बोल्नुभयो नि, होइन ?

मैले काभ्रेका साथीलाई पनि भनेको छु। संविधानलाई नाघेर मैले काम गर्न सक्दिन। दुईतिहाई बहुमतले राजधानी सार्ने निर्णय गरेमा स्थायी राजधानी हुन्छ। अब अहिले नै किन स्थायी राजधानी तोक्न हतार भयो भनेँ। अस्थायी राजधानीमा पूर्वाधार निर्माणका लागि सरकारले बजेट दिँदैन। बजेट नआई केही काम हुँदैन। स्थायी राजधानी भएपछि व्यवस्थित ढंगले काम गर्न सकिन्छ। त्यसैले स्थायी राजधानी बनउनुपर्छ। त्यसको विधिप्रक्रिया छ। कसैले प्रस्ताव ल्याए छलफल हुन्छ। प्रक्रियामा जाँदा प्रस्ताव ल्याउनेले दुईतिहाई पुर्‍याउनुपर्छ। कसैले दुईतिहाई पुर्‍याएर राजधानी सार्छ भने मेरो केही लाग्दैन। सांसदले पनि हेटौंडाको बसाइँ महँगो भयो, आउनजान खर्चिलो भने भन्ने गुनासोचाहिँ गरेका छन्। तर कसैले पनि राजधानी सार्नुपर्‍यो भनेका छैनन्।

राजधानीसँग मुख्यमन्त्री साटेकोसम्म आरोप लगाउने पनि छन् तपाईंमाथि ?      

मलाई राजधानीसँग मुख्यमन्त्री साट्यो भन्नेससम्म आरोप आयो। अब राजधानीसँग मुख्यमन्त्री कसरी साट्न सकिन्छ, त्यो कल्पनासम्म पनि गर्न सकिन्न। म राजधानी दिन्छु, मुख्यमन्त्री देऊ भनेर कसैले देला ? यो तपार्इंहरूले कल्पना गर्ने कुरा हो। हामीले हेटौंडा भन्दै गर्दा चितवन, काभ्रे, काठमाडौंले किन भन्न नपाउने ? तर माग्दैमा पाउने चिज त होइन। हाम्रो अधिकतम प्रयास हेटौंडामा राख्ने हुन्छ। यस विषयमा हामी पार्टीको ह्विप पनि मान्दैनौं। हेटौंडाबारे धेरै जिल्ला सहमत छन्। आत्तिनुपर्ने अवस्था छैन। त्यसैले तपाईंहरू ढुक्क हुनुस्, यो ऐननियम निर्माण गर्ने, विकासका योजना बनाउने र कार्यान्वयन गर्ने समय हो। हामी राजधानीको विषयमा अल्झेर बस्दैनौं।

हेटौंडामै राजधानी रहन्छ भन्नेमा तपाईं पनि ढुक्क हुनुहुन्न ?      

काभ्रे म कार्यक्रममा गएको हुँ। कसैले दुईतिहाई पुर्‍याएर लैजान्छ भने कसैको केही लाग्दैन। तर हाम्रो भूमिका हेटौंडाबाट सर्न नदिनेमै हुन्छ। राजधानी हेटौंडामै रहन्छ भन्नेमा म ढुक्क छु।

तपाईंले मुख्यमन्त्री भएको यो चारपाँच दिनको बीचमा केके गर्नुभयो ?      

धेरै काम गर्नु छ। केन्द्रीय सरकारले ल्याएको मोडललाई हामीले सहयोग गर्ने हो। १३ जिल्लाकै वस्तुस्थिति हेरेर काम गर्ने हो। मैले विज्ञ टोली बोलाएको छु। १३ जिल्लामै गर्न सकिने काम धेरै छन्। जस्तो कि कुनै जिल्लामा कृषि, उद्योग आदिको सम्भावना होला। त्यसका लागि एउटा ठोस खाका बनाएर काम गरिन्छ। यसबीचमा मैले मुग्लिङ–नारायणगढ सडकखण्डको निरीक्षण गरेँ। ढिलाइ हुनुको कारण बुझँे। अब कुलेखानी तेस्रो, हेटौंडा–कुलेखानी–काठमाडौं सडक आयोजनाका ठेकेदार बोलाएर काम ढिलाइ हुनुबारे बुझ्दै छु।

प्रदेश ३ को नाम के हुन सक्छ ?       

नामको बारेमा आआफ्नो कुरा हुन सक्छ। कसैले पशुपति, कसैले वाग्मती, गौरीशंकर यस्तैयस्तै नाम आइरहेको छ। तर मैले देशकै ठूलो र केन्द्रीय राजधानीसमेत रहेको प्रदेश भएकाले यसको नाम राजधानी प्रदेश राख्नुपर्छ भनेको छु। यो विषय प्रदेशसभा बैठकबाट हामी टुङयाउँछौं।

कार्यभार सम्हालेको एक साता बित्दै छ। मन्त्रीहरूले कर्मचारी नहुँदा कार्यभार सम्हाल्न सकेका छैनन्। योभन्दा विडम्बनाको अवस्था के हुन सक्छ ?      

यो विडम्बना होइन, महाविडम्बनाको अवस्था हो। मुख्यमन्त्रीकै कार्यालयमा दुईतीन जना कर्मचारी छन्। तर सरकारले कर्मचारी पठाउँदैन। नियुक्त गर्न पनि दिँदैन। एउटा पिउन पनि नियुक्त नगर भन्छ सरकार। अहिलेको पीडा भन्नुहुन्छ भने मुख्यमन्त्रीकै कार्यालयमा चिया पकाएर खुवाउने मान्छेसमेत छैन। मैले कहाँ गएर भन्ने यो कुरा ? सबै कुरा अस्तव्यस्त हुन्छ कर्मचारी नहुँदा। कर्मचारी नहुँदा धेरै मन्त्रालय निरीह बनेर बस्नुपरेको छ। मन्त्री धमाधम बनाइएको छ। तर कर्मचारी छैनन्, बस्ने ठाउँ छैन, कार्यालय छैन। यस्तो अस्तव्यस्त बनाएर हुँदैन। नाम मात्रका कर्मचारी छन्। नियतबस पनि कतिपय काम भएका छन्। मुख्यमन्त्रीको सचिवालयमा १२ जनासम्म रहन सक्छन्। तर सरकार तीनजना भन्दा नराख भनेर पत्र पठाउँछ। त्यसैले धेरै कुरा मिलाउनु छ।

अन्त्यमा, प्रदेश ३ का जनतालाई के भन्नुहुन्छ ?      

तपाईंहरूले गरेको विश्वास मर्न दिनेछैन। यो प्रदेशलाई मोडलका रूपमा लगिन्छ। पाँच वर्षभित्र यो प्रदेशको मुहार फेरिन्छ, यसमा ढुक्क भए हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.