स्वास्थ्य शिविरबाट १५ सय बढी लाभान्वित
सन्धिखर्क: अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरामा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।शिविरबाट ढिकुरा, धनचौरसहितका १५ सय जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन्।
शिविरमा भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. रुद्र मरासिनीसहित २१ जना चिकित्सकले १५ सय बिरामीको स्वास्थ्य जाँच गरेका हुन्। भुमिकास्थान नगरपालिका र अर्घाखाँचीको ढिकुराबाट काठमाडौ, बुटवल बस्नेहरुको आर्थिक सहयोगमा २ दिने वृहत शिविर सम्पन्न भएको हो।
उपचारका लागि अर्घाखाँची जिल्लको ढिकुरासहित धातिबाग , धारपानी, जुकेना, धन्चौर खाचिकोट नुवाकोट, नरपानीलगायतका १५ सय बिरामीले जाँच गराएको ढिकुरा समाज अर्घाखाँची काठमाडौका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिए।
गाउँमा बिरामीलाई रोग पत्ता लगाउन र सामान्य रोग निको पार्नको लागि निशुल्क स्वास्थ्य शिविर प्रभावकारी भएको सेवा लिएका बिरामी सन्तोष भुसालले बताए।
ढिकुरा समाज अर्घाखाँची काठमाडौको आयोजना र लायन्स क्लब अफ काठमाडौ ढिकुरा , ढिकुरा अर्घाखाँची रुपन्देही समाजको सहआयोजना युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। समाजले गत वर्ष पनि ढिकुराको शारदा माविमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो।
स्वास्थ्य शिविरमा लाइन लागेका सर्वसाधारण। तस्बिर : प्रेमनारायण आचार्य