बीपी प्रतिष्ठानमा मिर्गौला रोगीले उपचार पाउनै मुस्किल
धरान : मिर्गौला रोगको उपचार नपाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आउने धेरै बिरामी समस्यामा पर्न थालेका छन्।
दुवै मिर्गौला काम नलाग्ने भएपछि नियमित मिर्गौलाको डाइलासिस गर्न आएका बिरामीले नियमितता नपाउँदा उनीहरूको ज्यान जोखिममा पर्ने गरेको छ। सरकारले मिर्गौला रोगका बिरामीका लागि निःशुल्क डाइलासिस सेवा उपलब्ध गराएको छ। बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा पनि त्यस्तो सुविधा दिइएको छ। तर, बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैनन्।
दुवै मिर्गौलामा खराबी आएपछि चार महिनादेखि उपचार गराइरहेका सप्तरीका राजकुमार खत्वेले समयमा डाइलासिस नभएका कारण आफ्नो ज्यानै जोखिममा परेको बताउँदै भने, ‘१५ दिन कुर्दा बल्लबल्ल पालो आउँछ हप्ता दिनमै गर्नुपर्ने भए पनि दुई हप्ता कुर्नुपर्ने अवस्था छ।’
मिर्गौला रोगका बिरामीलाई बीपी प्रतिष्ठानले सहज रूपमा उपचारको व्यवस्था नगरेकाले कतिपय मिर्गौलाका रोगीको प्रतिष्ठानमै निधनसमेत भएको छ। सरकारले मिर्गौलाको डाइलासिस सेवा निःशुल्क गर्ने व्यवस्था मिलाए पनि ठूला अस्पतालहरूले उपकरण खरिदमा कन्जुस्याइँ गर्नाले उनीहरूको उपचारमा समेत लापरवाही हुने गरेको पाइएको छ।
झापाबाट प्रतिष्ठानमा मिर्गौला डाइलासिस गर्न आएका राजेन्द्र मेन्याङबोले पनि अस्पतालमा मेसिन अभावका कारण आफूले १५ दिनको पालो पर्खेर उपचार गर्नुपरेको गुनासो गरे। भने, ‘घरमा साना छोराछोरी छन्, काम गरेर लालनपालन र शिक्षा दिँदै आएको मेरै बाँच्ने ठेगान नभएपछि रातदिन छोरा छोरीको मायाले सताउने गरेको छ।’
सातामा दुई पटक डाइलासिस गर्नुपर्ने भए पनि १५ दिनमा एकचोटि पालो आउँदा बिरामी मर्कामा पर्ने गरेका छन्।
इटहरीका मदनबहादुर विष्टले पनि प्रतिष्ठानले सहजै मिर्गौलाको डाइलासिस नगरेका कारण कस्टकर जीवन बिताउन बाध्य हुनुपरेको दुखेसो गरे। चिकित्सकले हप्तामा दुई पटक डाइलासिस गर्दा रोग निको हुने सुझाव दिए पनि १५ दिनमा एकपटक पालो आउने गरेको उनले बताए। भने, ‘अस्पतालमा पर्याप्त मेसिन नभएकोले पालो नै आउँदैन।’
प्रतिष्ठानलाई बेलायतको रोयल लन्डन हस्पिटलले सन् २००४ मा ११ वटा डाइलासिस मेसिन दिएको थियो। तीमध्ये ५ वटा बिग्रिएकाले हाल ६ वटा मात्र चालु रहेको प्रतिष्ठानका मेडिसन विभाग प्रमुख तथा मिर्गौला रोग विशेषज्ञ प्राडा सञ्जिव शर्माले जानकारी दिए।
प्रतिष्ठान आउने मिर्गौलापीडितको उपचार सहज बनाउन कम्तीमा ३० वटा मेसिन आवश्यक भएकाले प्रतिष्ठान व्यवस्थापनलाई निवेदन दिएको तर, व्यवस्थापनले उपलब्ध नगराएका कारण मिर्गौला रोगको उपचार सहज बनाउन नसकेको डा. शर्माले बताए। हाल प्रतिष्ठानमा एक हजारभन्दा बढी मिर्गौला रोगका बिरामी उपचाररत छन्।
प्रतिष्ठानमा दैनिक उपचारका लागि आउने २ हजार ५ सय बिरामीमध्ये कम्तीमा ४ सय मेडिसन ओपीडीमा आउने गर्छन्। ‘प्रतिदिन कम्तीमा २० देखि २५ जनालाई मिर्गौला रोग लागेको पत्ता लाग्छ’, डा. शर्माले भने,‘समयमा डायलासिस गर्नुपर्नेहरूलाई पनि समस्या हुने गरेको छ।’
मिर्गौला रोगीले हप्तामा तीन पटक डाइलासिस गर्नुपर्ने हुन्छ। बीपी प्रतिष्ठानले उपचारमा आउने मिर्गौलारोगीको १५ दिन र एक महिनामा मात्र पालो आउने गर्छ। इटहरीका नवीन बस्नेत भन्छन्, ‘बिरामीको चाप बढेपछि भएका उपकरण मर्मत गरी नयाँ खरिद गर्न प्रतिष्ठानले चासो दिनुपर्छ।’
प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले दुई महिनाभित्र नयाँ उपकरण खरिद गरी उपचारलाई व्यवस्थित बनाउने जानकारी दिए। उनले भने, ‘तत्काल १० वटा मेसिन खरिद गरेर मिर्गौला रोगका बिरामीलाई सेवा दिने योजना बनाएका छौं।’
सरकारी अनुदान लिएर मिर्गौला रोगका बिरामीको डाइलासिस सेवा दिँदै आएको बीपी प्रतिष्ठानले समयमै बिरामीको डाइलासिस नगर्दा हजारभन्दा बढी मिर्गौला रोगका बिरामीको ज्यान जोखिममा परेको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मिर्गौला रोगीहरूको उपचार सहजै नगरेको भन्दै तत्काल उपचार सहज बनाइदिन सरकारसमक्ष माग गरेका छन्।