ओलीलाई 'ह्याप्पी बर्थ डे' भन्न बालुवाटार पुगे चीन र भारतका राजदूत
काठमाडौँ: नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफ्नो ६७ औँ जन्मदिन मनाइरहँदा चीन र भारतका नेपालस्थित राजदूतहरु बधाई दिन बिहानै उनको सरकारी निवासमै पुगेका छन् ।
वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई बधाई दिन दुवै देशका राजदूत बुकी बोकेर बालुटारमै पुगेका हुन् ।
बालुवाटारमा नेकपा एमालेको स्थायी समिति बैठक बस्नु अघि बुकीसहित पुगेकी नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङले 'ह्याप्पी बर्थ डे पीएम' भन्दै नेपालसँगको आफ्नो निकटता दर्शाएकी थिइन् ।
ओली दोस्रो पटक प्रधानमन्त्री भएलगत्तै चीनले औपचारिकरुपमा रेलवे सञ्जाल निर्माणको प्रस्ताव राखिसकेको छ । ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि सबैभन्दा पहिले चिनियाँ प्रधानमन्त्री ली खछ्याङले फोन गरेर बधाई दिएका थिए ।
त्यसैगरी ओलीलाई बधाई दिन चिनियाँ राजदूतकै शैलीमा मञ्जीव सिंह पुरी पनि बालुवाटार पुगे । उनले पनि फूलको बुकीसहित बालुवाटार पुगेर ओलीलाई बधाई दिँदै भारत र नेपालबीचको घनिष्ट सम्बन्ध दर्शाउन खोजे ।
ओलीलाई दोस्रो पटक प्रधानमन्त्री भएकै रात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई दिँदै आफू सहकार्य गर्न आतुर रहेको जानकारी दिएका थिए । नेपालमा नाकाबन्दी गरेपछि बिग्रिएको सम्बन्ध सुधार्न भन्दै मोदीले विदेश मन्त्री सुष्मा स्वराजलाई विशेष दूत बनाएरै नेपाल पठाएका थिए ।